दिल्लीमा ८९ मुलुकका राजदूतलाई परराष्ट्रमन्त्रीको ब्रिफिङ
काठमाडौ : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले ८९ मुलुकका राजदूतलाई आइतवार र सोमबार ब्रिफिङ गर्नु हुने भएको छ। सो ब्रिफिङका लागि महरा आइतवार नयाँ दिल्ली पुगिसक्नु भएको छ।
मन्त्री महराका स्वकीय सचिव युवराज चौलागाईका अनुसार नेपालसँग कुटनीतिक सम्बन्ध भएका बिश्वका एक सय ४६ मुलुक मध्ये ८९ मुलुकले नेपाललाई नयादिल्लीस्थित राजदूतावासबाट समन्वय गर्छन। ती सबै राजदूतहरुलाई एकै ठाउँमा (दिल्लीस्थित नेपाली दूतावासमा) जम्मा गराएर परराष्ट्रमन्त्री महराले नेपालको परराष्ट्र नीति बारे जानकारी गराउँदै आपसी हितका क्षेत्रहरुबारे छलफल गर्नु हुनेछ’ चौलागाईले भन्नुभयो ‘यस्ता कुटनीतिक भेलाहरु एकदमै कम हुने गर्छन् । यस बृहद कुटनीतिक जमघटले नेपालको हित गर्ने निश्चित छ।’
महरा नेतृत्वमा चार सदस्यीय नेपाली टोली तीन दिने भ्रमणका सिलसिलामा आइतवार नयाँ दिल्ली पुगेको हो। टोलीमा मन्त्री महरा,स्वकीय सचिव चौलागाई, परराष्ट्रमन्त्रालयका सहसचिव तथा संयुक्त राष्ट्रसंघ डिभिजन प्रमुख एवं मन्त्रालयका प्रवक्ता भरतराज पौडेल,मन्त्रालयका सहसचिव तथा भारतसहित दक्षिण एशिया डिभिजन प्रमुख भृगु ढुंगाना हुनुहुन्छ।
टोली नेपाली राजदूतावासको पाहुना कोठामा बसेको छ। ‘टोलीको आकार र बसाईबाट देशलाई भार पर्दैन’चौलागाईले भन्नुभयो। टोलीले भारतीय समकक्षी विदेशमन्त्री सुष्मा स्वराज लगायतका भारतीय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ। चौलागाईले भन्नुभयो ‘यो भ्रमणमा कुनै सहमति वा हस्ताक्षर हुने छैन।’