राष्ट्रसंघका लागि समर्थन खोज्दै नेपाल
नयाँदिल्ली : तीनदिने भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आइतबार साँझ दिल्लीमा रहेका नेपाल हेर्ने गैरआवासीय राजदूतहरूसँग अन्तरक्रिया गर्नुभएको छ । राजदूतहरूलाई सम्बोधन गर्दै मन्त्री महराले नेपालको पछिल्लो राजनीतिक अवस्था, नयाँ संविधान कार्यान्वयन प्रक्रिया, सरकारका प्राथमिकता, स्थानीय निर्वाचन, विदेशी नीति सञ्चालनलगायतबारे बताउनुभएको थियो ।
सातवटा मध्ये ६ प्रदेशमा दुई चरणमा स्थानीय निर्वाचन भइसकेको र एक प्रदेशमा असोज २ गते निर्वाचन हुन लागेको बताउँदै महराले भन्नुभयो, ‘यो निर्वाचनले स्थानीय तहलाई सशक्त पार्ने काम गरेको छ । सरकारले पर्याप्त बजेट पनि स्थानीय निकायलाई उपलब्ध गराइसकेको छ ।' जनवरी २०१८ भित्र प्रान्तीय र संसदीय निर्वाचन सम्पन्न गर्ने दिशामा नेपाल अघि बढेको उहाँले उल्लेख गर्नुभयो ।
दोस्रो, राष्ट्रसंघीय मानवअधिकार परिषद्को अस्थायी सदस्यमा नेपालको उम्मेदवारीबारे जानकारी गराउँदै महराले नेपाललाई समर्थन गर्न आग्रह गर्नुभएको दिल्लीस्थित नेपाली दूतावासले प्रेस विज्ञप्तिमा जनाएको छ । नेपालले सन् २०१८ देखि २०२० का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा यहाँ आउनुभएका परराष्ट्रमन्त्री महराले दिल्लीस्थित नेपाल हेर्ने गैरआवासीय राजदूतहरूसँग अन्तरक्रिया गरी राष्ट्रसंघीय मानवअधिकार परिषद् सदस्यमा नेपाललाई जिताउन समर्थन खोज्नुभएको हो ।
नेपालको ऐतिहासिक रूपान्तरण प्रक्रियालाई नजिक र टाढा रहेका मित्रले चासोसाथ नियालिरहेको आफूले पाएको उहाँले बताउनुभयो । सन् २०१५ सेप्टेम्बरमा जननिर्वाचित संविधानसभाबाट जारी भएको नयाँ संविधानले नेपालमा शान्ति र लोकतन्त्रको मार्गमा नयाँ युग सुरु भएको उहाँले बताउनुभयो ।
‘संविधान प्रगतिशील र अग्रगामी छ । यसले नेपालका सबै तह र तप्काको भावना र चाहनाको रक्षा गरेको छ', उहाँले भन्नुभयो । नेपालको शान्तिप्रक्रिया अन्तिम चरणको रहेको बताउँदै सामाजिक राजनीतिक रूपान्तरणको सफलतम उदाहरण पेस गर्न अग्रसर भएको बताउनुभयो । दिल्लीस्थित दूतावासमा आयोजित कार्यक्रममा राजदूतहरूले नेपालले शान्ति र लोकतन्त्रका लागि हासिल गरेको उपलब्धिका लागि बधाई दिँदै नेपालसँग सम्बन्ध बढाउन इच्छुक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख सहसचिव भरतराज पौड्यालले नेपालमा मानवअधिकारको अवस्थाबारे प्रतिवेदन पेस गर्नुभएको थियो । कार्यक्रममा कतिपय दूतावास प्रमुखहरूले भने खुलेरै नेपालको समर्थन गर्ने आश्वासन दिएको भेटमा सहभागी अधिकारीले बताए । दिल्लीस्थित नेपाल हेर्ने कूटनीतिक नियोगका प्रमुखसँग सोमबार दिउँसो दोस्रो चरणमा अन्तरक्रिया हुँदै छ ।
दिल्लीबाट हाल ८९ मुलुकले नेपाल मामिला हेर्ने गर्छन् । तीनदिने बसाइका क्रममा परराष्ट्रमन्त्री महराले सोमबार साँझ समकक्षी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेट गर्ने कार्यक्रम छ । द्विपक्षीय हितका साथै प्रधानमन्त्री शेरबहादुर देउवाको जुलाई अन्तिम साता हुने भारत भ्रमणको विषयमा छलफल हुने नेपाली दूतावासले जानकारी दिएको छ । आइतबार दिल्ली आएका महरालाई भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, दूतावास उपप्रमुख भरत रेग्मी तथा भारतीय विदेश मन्त्रालयका पदाधिकारीलगायतले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
मन्त्री महरासहितको टोली होटलमा नबसी दूतावासभित्रै बसेको छ । महरा नेतृत्वको टोलीमा परराष्ट्र मन्त्रालयको प्रमुख स्वकीय सचिव युवराज चौलागाईं तथा संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख सहसचिव भरतराज पौड्याल तथा भारत महाशाखा प्रमुख सहसचिव भृगु ढुंगाना सहभागी हुनुहुन्छ । मन्त्री महरा मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।