एमाले किल्ला भत्काउदै मोरङका दुई नगरपालिकामा कांग्रेस विजयी
विराटनगर : एमाले किल्ला भत्काउँदै मोरङका दुई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले विजयको झण्डा फहराएको छ । उपप्रमुखमा भने एमालेले आफ्नो स्थान सुरक्षित गरेको छ । मोरङको रतुवामाई र लेटाङ नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार विजयी हुनु भएको हो । दुबै नगरपालिका एमालेको किल्ला र एमालेका लागि अनुकुल मानिन्थे ।
रतुवामाई नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार रविन राई फराकिलो मतअन्तरले विजयी हुनु भएको छ । राईले नौ हजार आठ सय ९५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका टिकेन्द्रबहादुर पोमुले आठ हजार एक सय मत मात्रै ल्याउनु भयो । उपमेयरमा एमालेकी दमयन्ता चूँडाल विजयी हुनु भएको छ । चूँडालले आठ हजार तीन सय ७२ मत प्राप्त गर्नु भयो । उहाँकी निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी फूलवतीदेवी गोडीले आठ हजार तीन सय १३ मत प्राप्त गर्नु भयो।
निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने रतुवामाई नगरपालिका मोरङका इटहरा, सिजुवा, झुर्किया, महादेवा गाविस एवं बरडंगाको आधा र गोविन्दपुर गाविसको आधा भाग समेटेर बनाइएको हो । कांग्रेस नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्र भएकाले पनि यसलाई पहिल्यैदेखि कांग्रसको गढका रुपमा चिनिन्थ्यो । प्रायः संसदीय निर्वाचनमा कांग्रेसले जित्दै आए पनि स्थानीय निर्वाचनमा भने एमाले विजयी हुँदै आएको थियो।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसको गढ भत्काउँदै एमालेका ऋषिकेश पोखरेल यही क्षेत्रबाट सभासद्मा निर्वाचित हुनु भएको थियो । कांग्रेसले यो क्षेत्रबाट २०७० सालमा भोगेको पराजयको पिडालाई अहिलेको स्थानीय निर्वाचन जितेर पूर्ति गरेको छ । कांग्रेस वर्षौदेखिको आफ्नो गुमेको साख फर्काउन सफल भयो भने एमालेले यस अघिको विजयलाई कायम गर्न सकेन ।
‘पहिले कांग्रेसका लागि आधार क्षेत्र मानिने रतुवामाई अहिले आएर एमालेका लागि अनुकुल बनेको थियो,' यही क्षेत्रका सांसद एवं एमाले मोरङका सचिव ऋषिकेश पोख्रेलले भन्नु भयो, ‘स्थानीय निर्वाचनमा पार्टी नेतृत्वको ध्यान जान नसक्नु र पार्टी भित्रैबाट व्यापक अन्तर्घात हुनु पराजयको मुख्य कारण बन्न पुग्यो ।' उहाँका अनुसार प्राय जसो चुनावमा रतुवामाई नगरपालिका कांग्रेस र एमालेको तिव्र प्रतिष्प्रधा हुने ठाउँ हो ।
रतुवामाईमा कांग्रेसले सोमबार विजय र्याली समेत निकालेको छ । र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै मेयरमा विजयी बन्नु भएका राईले संधै आफू जनताको सेवामै समर्पित हुने प्रतिवद्धता जनाउनु भयो ।
त्यस्तै एमालेको आधार क्षेत्र भनेर चिनिने मोरङको लेटाङ नगरपालिकामा कांग्रेस उम्मेदवार शंकर राई मेयरमा निर्वाचित हुनु भएको छ । लेटाङ कांग्रेसका तर्फबाट सांसदमा विजयी हुनु भएका डिकबहादुर लिम्बूको गृहनगर पनि हो । मेयरमा विजयी बन्नु भएका राईले छ हजार नौ सय ६१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भूपेन्द्रकुमार लावतीले छ हजार छ सय ५६ मत मात्रै ल्याउन सक्नु भयो ।
उपमेयरमा एमालेकी कृष्णकुमारी निरौला छ हजार आठ सय नौ मत ल्याएर विजयी हुनु भएको छ । उहाँकी निकटतम प्रतिद्धन्द्धी काँग्रेसकी सुभद्रादेवी भट्राईले पाँच हजार सात सय ४० मत ल्याउनु भयो ।
निर्वाचन क्षेत्र नम्बर ९ मा पर्ने लेटाङलाई मोरङका लेटाङ, वारङ्गी, भोगटेनी गाविस र जाँते गाविसका १, २, ८ र ९ नम्बर वडा मिसाएर नगरपालिका बनाइएको हो । लेटाङ पहिल्यैदेखि एमाले किल्लाका रुपमा चिनिन्थ्यो । स्थानीय एमाले नेतृ शान्ति पाख्रीनका अनुसार लेटाङमा २०६४ सालको पहिलो र २०७० सालको दोस्रो संविधानसभा निर्वाचन बाहेकका चुनावमा एमालेले जित्दै आएको थियो । २०६४ मा माओवादीका नगेन्द्र धिमालले जित्नु भएको थियो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू विजयी बन्नु भएको थियो । तत्कालीन लेटाङ गाविसमा २०५४ सालको स्थानीय निर्वाचनमा एमालेका घनश्याम खतिवडासंगको हारको बद्ला लिंदै लिम्बूले २०७० सालको संविधानसभा निर्वाचनमा भने खतिवडालाई नै हराउनु भएको थियो ।
पाख्रीनले पटक पटक जित्दै आएको क्षेत्र गुमाउनुमा पार्टी र केही नेताकै कमजोरी रहेको बताउनु भयो । ‘२०७० सालमा कांग्रेसले जित्दा एमालेलाई धक्का लागे पनि अहिले अवस्था निक्कै सुधार भएर एमालेका लागि अनुकुल बनेको थियो,' पाख्रीनले भन्नु भयो, ‘स्थानीय स्तरमा रुचाइएका उम्मेदवारलाई टिकट नदिनु र निर्वाचनलाई लिएर पार्टी नेतृत्वले ध्यान दिन नसक्नुले जित निश्चित भएको नगरपालिका गुमाउनु पर्यो ।' एमाले पार्टी भित्र मौलाउँदै गएको गुटको असर पनि निर्वाचनमा परेको उहाँको भनाइ छ ।
कांग्रेसका तर्फबाट मेयरमा विजयी बन्नु भएका राई पूर्वाञ्चल खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष हुनु हुन्छ । मेयरको टिकट पाएपछि भने उहाँले खेलकुद विकास समितिबाट राजिनामा दिनु भएको हो । उहाँ मोरङ फुटबल संघका बरिष्ठ उपाध्यक्ष र पूर्व फुटबल खेलाडी पनि हो । जितपछि काँग्रेसले लेटाङमा विजय र्याली निकालेको छ । र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै राईले स्थानीय स्तरको समृद्धि र विकासका लागि आफू सक्रिय रहने र जनताको मत खेर जान नदिने प्रतिबद्धता जनाउनु भयो ।