अन्तरघातको आरोपपछि कांग्रेस सभापतिको राजीनामा
नवलपरासी : पार्टीका उम्मेदवारले हारेको भन्दै नेपाली कांग्रेस बर्दघाट नगरपालिका ९ का वडा सभापतिले राजीनामा दिनु भएको छ।
विगतदेखि पकड क्षेत्रको रुपमा रहेको उक्त वडामा वडा सभापति र नगर सभापतिले अन्तरघात गरेको आरोप लगाउदै कार्यकर्ताले विरोध जनाएका थिए।
अन्तरघातका कारण उम्मेदवारले हारेको र त्यसको जिम्मेवार वडा र नगर सभापतिले लिनुपर्ने भन्दै कार्यकर्ताले भूताहामा नाराबाजी गरेर राजीनामा दिनुपर्ने दबाब दिएका थिए।
कार्यकर्ताको चर्को दबाब आएपछि वडा सभापति पूर्णमान श्रेष्ठले राजीनामा दिनु भएको हो। उक्त वडामा दुई सदस्य कांग्रेस बाहेक एमालेले जितेको छ।
आधिकारिक उम्मेदवारले हारेपछि वडा सभापति श्रेष्ठले राजीनामा दिएको नगर सभापति शम्भु श्रेष्ठले बताउनुभयो। उहाँले हारको कारण खोज्न समीक्षा गर्नुपर्ने भन्दै राजनीनामा दिएको बताउनुभयो।
आक्रोशमा केही कार्यकर्ताले लगाएको अन्तरघात निराधार रहेको र त्यसबारे समीक्षा हुने नगरसभापति श्रेष्ठको भनाइ छ।