साहित्यमा ‘डच डिजिज'
नेपाली साहित्यलाई लामो समयदेखि ‘डच डिजिज' लागेको छ । किताब त मनग्गे लेखिएका छन् तर तिनले फैलने वा समविकास भोग्ने अवसर पाएका छैनन् । सबैभन्दा ठूलो र डरलाग्दो रोग यसले नेपाली प्रकाशकको मनोविज्ञानमा हुलिदिएको छ । प्रकाशकहरू डच डिजिजको भाइरस बोकेर कुनै पनि लेखकलाई सारिदिन उद्यत छन् । केही राम्रा लेखक आफ्नै खर्चमा पुस्तक निकालेर वा कमजोर (ठानिएको) प्रकाशकमार्फत जसोतसो पाठकका हातमा रचना पारिरहेका छन् । निजी प्रकाशन गृह, त्यो पनि नाम चलेका दुई-चार वटाले नपत्याउन्जेल लेखक ‘नालायक' ठहरिने मनोविज्ञान फैलँदो क्रममा छ । यो मनोवैज्ञानिक रोगबाट अग्रज, युवा, नवोदित कोही पनि अछूतो छैन ।
डच डिजिज प्रकाशकबाट सुरुमा लेखकमा सरेको छ । यौन वा रोदन र उडन्ते कथाबाहेक अरू केही बिक्दैन भन्ने प्रकाशकको मनोविज्ञानलाई लेखक सहर्ष स्वीकार्दै प्रकाशककै प्रेसक्रिप्सन अक्षरशः पालना गर्न थालेका छन् । नेपालको विकृत र विसंगत राजनीति, विभेद, छुवाछूत, द्वन्द्व, थिचोमिचो मात्र होइन; भाषिक, सांस्कृतिक, धार्मिक, रीतिरिवाजजस्ता विविधतायुक्त सामाजिक बनावट पनि उत्तिकै रुचिकर विषय बनेर रहेका छन् । अन्य मुलुकका मान्छेका निम्ति यो कुनै अकल्पनीय घटना मात्र होइन, अत्यन्तै रुचिकर विषय पनि हुनेमा कुनै शंका छैन ।
१० वर्षे माओवादी ‘जनयुद्ध'लाई विषय बनाएर लेखिएका पुस्तक अन्य मुलुकका पाठकका लागि खोजिएको विषयमध्ये एक हुनसक्छ । दृष्टान्तका रूपमा अफ्रिकी साहित्यलाई लिन सकिन्छ । बेन ओकरीलगायत त्यहाँका कतिपय ख्यातिप्राप्त लेखकले मुलुकमा लामो समय चलेको गृहयुद्धलाई सुन्दर ढंगमा साहित्यमा उतारेका छन् । उता, मुलुक विभाजनका कथा लेखेर ख्याति कमाएका सआदत हसन मन्टोको मूल विषय पनि भारत-पाकिस्तान विभाजनको राजनीति नै रहेको छ । मन्टो, ओकरीजस्ता लेखकका रचना संसारका थुप्रै भाषामा अनुवाद भएका छन् ।
तर, अहिलेसम्म नेपालको १० वर्षे माओवादी द्वन्द्वलाई कलात्मक र निरपेक्ष भएर रुचिकर ढंगमा उतार्न नसकिएकै कारण त्यसले उचित पाठक पाउन सकेको छैन । केही लेखकले यो विषय उठाए पनि त्यो सतही हुन पुगेको छ । अन्य मुलुकका पाठकको त कुरै छाडौं, आन्तरिक पाठकमा पनि त्यो विषयले उतिविधि रुचि जगाउन सकेको छैन । कि त त्यो द्वन्द्वलाई महान् भनियो कि त अत्यन्तै तुच्छ देखाउने प्रयास गरियो । महान् वा तुच्छ जे भने पनि त्यो अतिवाद वा डच डिजिजकै परिणति हो । त्यसले समाजमा पारेको असर, मान्छेको मनोविज्ञानमा पारेको प्रभाव, मुलुकको आर्थिक-भौतिक क्षेत्रमा पारेको असर नै पनि एउटा गहन लेखनको विषय बनेर रहेको छ । झन् उत्तरद्वन्द्वको अवस्थाबारे त निकै कम साहित्य लेखिएको छ ।
अर्थशास्त्रमा डच डिजिज भन्नाले कुनै एक क्षेत्रको ह्वात्तै बढोत्तरी हुने र कुनैको नराम्ररी खुम्चने अवस्थालाई बुझिन्छ । कुनै पनि मुलुकको विकास त भयो, तर अत्यन्तै असमान ढंगमा । उत्पादनमुखी उद्योग सुक्दै आयातमुखी अवस्था आउँदा पनि यो रोग लागेको मानिन्छ । यो शब्द सन् १९७७ मा नेदरल्यान्ड्सका एकजना अर्थशास्त्रीले ‘क्वाइन' गरेका थिए । उनले आफ्नो मुलुकमा उत्पादनशील उद्योगमा आएको गिरावटलाई बुझाउन यो शब्दको प्रयोग गरेका थिए । यतिखेर नेपालमा प्रकाशन उद्योग मौलाएको छ । तर, त्यसले नेपाली वाङ्मयमा पुर्याउनुपर्ने वा पुर्याउनसक्ने योगदान कमजोर भएको महसुस भएको छ ।
तिनले विशेषगरी आफ्नो व्यापारलाई केन्द्रमा राखेर काम गर्दै आएका छन् । लगानी गरेपछि आम्दानी किन नहेर्ने ? समाजसेवा गर्न आएको हो र ! भन्ने प्रश्न गर्ने अधिकार प्रकाशकलाई पूरापूर छ । व्यवसायमा आरओआई (रिटर्न अन इन्भेस्टमेन्ट) नहेर्ने असफल हुन्छन् भन्ने मान्यता प्रमुख छ । तर, प्रकाशन उद्योग, त्यो पनि साहित्य छाप्नुको मूल मर्म र धर्म के हो त्यसलाई बेवास्ता गरेर मुनाफामात्र हेर्ने हो भने अन्य व्यवसाय छँदैछन्, दिन दुगुना रात चौगुना नाफा कमाउन सकिने । किन साहित्यका पुस्तक छाप्ने उद्योग गर्नु ? यसो भनिरहँदा कतिपय लेखकको चित्त नबुझ्न सक्ला, तर मेरो आशय लेखकले प्रकाशकलाई डोर्याउनुपर्छ भन्ने हो । प्रकाशकले लेखकको रुचिलाई सम्मान गर्नुपर्छ भन्ने हो । प्रकाशकले केवल आफूलाई चाहिएको वा बजारले मागेको वस्तु लेखकबाट उत्पादन गराउनु हुन्न भन्ने धारणा मात्र हो मेरो । पाठककै तहमा ओर्लने कि पाठकको स्तरलाई पनि विस्तारै उचाल्ने भन्ने कुराको घनिभूत बहस अब आवश्यक छ ।
प्रज्ञामा जुन विभाग जुन दलको भागमा परेको छ, त्यसमै लागेका लेखकको मात्र रचना चयन हुने अवस्था छ । सम्बद्ध दलका लेखकले मात्रै लेखनवृत्ति, विभिन्न खालका संकलनहरूमा रचना समावेश वा पुरस्कार हात पार्ने अवस्था जोकोहीलाई महसुस भएको विषय हो । यो प्रवृत्तिका कारण नेपाली साहित्य डच डिजिजबाट ग्रस्त हुन पुग्यो ।
यसको अर्थ नेपाली लेखकचाहिँ डच डिजिजबाट मुक्त छन् भन्न खोजेको बिलकुलै होइन । कुनै एउटा पुस्तकले हल्का नाम चलाइदिँदा साथ आफ्नो मूल्य बढाउने र प्रकाशकसँग अनेक थरी माग गर्ने लेखक पनि कम छैनन् । तिनले अध्ययन, अनुसन्धान तथा भ्रमण गरेर आफ्नो लेखनीको विकास गर्ने होइन, ‘म एउटा स्थापित लेखक हुँ, मैले जे लेखे पनि चल्छ' भन्ने भ्रमबाट निर्देशित भएर हिँडको देखिन्छ । लेखकबाट प्रताडित प्रकाशक पनि नभएका चाहिँ होइनन् । यी पनि डच डिजिजबाट ग्रस्त लेखक हुन् ।
डच डिजिजको असर
वाङ्मय वा साहित्यमा यो रोग लागेपछि एउटा विचार निकै फस्टाउने र अर्कोलाई सुकेनास लाग्दै जाने अवस्था आउँछ । उदाहरण हाम्रासामु छरपस्ट छन् । कविता, कथा, निबन्ध, नाटकजस्ता साहित्यका बलिया विधा अहिले प्रकाशकका नजरमा पर्दैनन् । त्यही कारण यी विधाका पुस्तक बजारमा पाउन कठिन छ । उल्लिखित विधाका राम्रा लेखक प्रकाशक नपाएर छटपटिएका छन् । बजारमुखी सोचका कारण उपन्यास र कुनै अर्कै पेसा-व्यवसायमा चर्चा कमाएका अधिकारीका आत्मकथा छाप्न तँछाडमछाड गर्दै प्रकाशन संस्थाबीच ठूलै होड चल्दै आएको छ ।
आत्मकथाका नाममा आएका किताब अधिकांश झूठका पुलिन्दा बन्न पुगेका छन् वा आत्मरतिका फेहरिस्त । आत्मप्रशंसा छापेर साहित्यको सेवा कसरी होला ! ती साहित्यिक कृतिमै पनि कसरी दरिएलान् ! अनि उपन्यासका नाममा रोदन, कलाहिन यौन वा कुण्ठा लेखेर यो देशको साहित्यले कहिले अन्य मुलुकका पाठकको मन जित्न सक्ला ?
गत फागुन महिनामा भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न सार्क लिटरेचर फेस्टिभलका एकजना प्रमुख वक्ता लेखक तथा कूटनीतिज्ञ अमरेन्द्र खटुवाको भनाइ यतिखेर निकै सान्दर्भिक लागेको छ । ‘सार्कका अधिकांश लेखक बढी मात्रामा निजी कुण्ठा लेख्नमै व्यस्त छन् । यिनको देशभक्तिजस्तो अति भावुकताले ओतप्रोत साहित्यको कुनै अर्थ छैन । यही कारण यस क्षेत्रका लेखकले नोबेल पुरस्कार वा बुकर प्राइजजस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्मान पाउन सकेनन्', उनले भनेका थिए ।
निजी कुण्ठा उसै पनि रोग हो । कुनै लेखकको निजी कुण्ठा, असफलता-असफलतालाई आाधार बनाएर तयार पारिएको उपन्यास वा अन्य विधा पाठकले पढ्नुपर्छ भन्ने छैन । मैले साहित्य लेखेँ भन्नेले कलाहीन ढंगमा लेखोट तयार गर्दैमा त्यो कुनै साहित्यिक मूल्ययुक्त कृति बन्न सक्दैन । अर्कोतिर बाठाहरूले यतिखेर देशप्रेम वा राष्ट्रवादको नारा उचालेर पनि साहित्य लेख्न थालेका छन् । तिनको राष्ट्रवादले गरिबलाई थप गरिब बनाएको छ । यसकै बलमा यही नेपाल नामको मुलुकमा बस्ने अर्को क्षेत्रका मान्छेमाथि गैरनेपालीको जस्तो व्यवहार हुन थालेको देखिन्छ । तिनले म नेपाली हुँ भनेर बारम्बार प्रमाणित गर्नुपर्ने अवस्था निम्तिएको छ । यही समस्या महिला तथा किनारीकृत वर्गले पनि भोग्दै आएका छन् । यस्तो प्रकारको राष्ट्रवाद, विभेद र त्यसमा टेकेर उत्पादित साहित्य सबैका निम्ति रुचिकर हुँदैन र त्यसले नेपाली साहित्यलाई कुनै गति पनि दिँदैन ।
महिला लेखकलाई प्रकाशक पाउन गाह्रो परेको छ । या महिला लेखकले सस्तो यौन लेखिदिनुपर्छ या त तिनको निजी जीवन अक्षरमा छताछुल्ल पोखिदिनुपर्छ । कोही महिला त्यस्तो किताब लेख्न तयार हुन्छन् भने यहाँ प्रकाशकहरूको ताँती लाग्छ । अग्रिम वा बढी पारि श्रमिक दिन प्रकाशकको ओइरो नै लाग्न सक्छ, विज्ञापनमा ठूलो खर्च पनि गरिन्छ । महिलाले मेहनत गरेर लेखेको गम्भीर साहित्य छाप्न हत्तपत्त कुनै प्रकाशक तयार हुँदैनन् । पुस्तक छापिदिएबापत यौनशोषणको सिकार बन्नुपर्ने स्थिति छ ।
आज कतिपय प्रकाशकलाई तराई-मधेसका विषयमा लेखिएको रचना साहित्य लाग्दैन ! पहाडी, हिमाली भेग, अनौठो र भिन्न संस्कृति, रहनसहनका विषय रुचिकर लाग्दैन ! किनकि, तिनका मगजमा यस्ता विषयमा लेखिएका पुस्तक बिक्री नै हुँदैन भन्ने भ्रमले जरा गाडेर बसेको छ । निजी प्रकाशन गृहले बिक्री नहुने देखेर यस्ता पुस्तक छापेनन्-ठीकै छ, तर सरकारी ढुकुटीबाट सञ्चालित प्रज्ञाप्रतिष्ठान, लेखकहरूकै सेयरबाट चलेको साझा प्रकाशन सहकारी संस्थाजस्ता निकायले किन अग्रसरता लिन सकेनन् ? नेपालको बहुसंस्कृति, बहुभाषा, धर्म, तराई-मधेस तथा पहाडमा चलेका मिथ (रूढिवादी परम्परासमेत)लाई प्रयोग गरेर लेखिएका पुस्तक संसारका पाठकका निम्ति अवश्य पनि रुचिकर हुनेछ भन्ने तथ्य अझसम्म बुझ्न नसक्नु दुर्भाग्यपूर्ण छ । यस्ता विषयमाथि अध्ययन-अनुसन्धान गर्दै पुस्तक लेखाउन लेखनवृत्तिजस्ता कार्यक्रम लागू गर्न सक्नुपर्छ । सरकारीको कुरै छाडौं, के निजी प्रकाशन गृह यस्तो काममा लगानी गर्न तयार छन् ?
डच डिजिज लागेपछि समग्र साहित्यको मूल्य घट्छ । यसले समविकासलाई रोक्छ । जसरी अहिले कथा, कविता, निबन्ध, नाटकजस्ता विधा ओझेल परेका छन् । साहित्य कुनै एउटा वर्गको मात्र पेवा बन्ने खतरा बढ्दै गएको छ । त्यो वर्ग निकै बाठो छ, त्यसले कसरी प्रकाशकको लगानी कसरी उठाइदिने, नाफा दिलाउने र आफ्नो चर्चा चुलाउने भन्ने व्यापार गर्न जानेको छ । त्यसको बठ्याइँ पुरस्कार प्रदान गर्ने संस्थाहरूसम्म फैलिएको छ । समाजले विद्वान् भनेका तथा बढी नै विश्वास गरेका व्यक्ति (समीक्षक, समालोचक वा प्राध्यापक)लाई त झन् यो रोगले ग्रस्तै पारिसकेको छ । आफूले निर्माण गरेका कोटरी वा गुटइतरका लेखकलाई अघि बढ्न नदिने तिनको प्रमुख उद्देश्य रहँदै आएको छ । अलिकति आशा पब्लिक इन्टेलेक्चुअलमाथि गर्न सकिन्छ । तर, त्यो वर्ग पनि मौन रहनुमा आफ्नो भलो देख्छ !
एउटा मानिस तन्दुरुस्त हुन उसका सबै अंगको समविकास हुनुपर्छ । त्यसैगरी, समग्र साहित्यको उन्नति हुन विभिन्न विधाको समान विकास आवश्यक पर्छ । मान्छेका दुई आँखामा एउटा अचाक्ली ठूलो र अर्को निकै सानो भयो भने के हुन्छ ? दुवै आँखा बराबरी भए पो सुहाउँछ । अझ कान नै त्यस्तो भयो भने ? कान ठूलो हुँदैमा बढी वा धेरै टाढाको कुरो सुन्ने हुँदैन । डच डिजिज लागेको मुलुकमा जसरी सबै क्षेत्रमा बराबरी उन्नति हुँदैन त्यसैगरी यसको प्रभाव परेको साहित्यमा पनि एकांगी उन्नति अधिक हुन्छ ।
सरकार संरक्षित संस्थाहरूमा त यो रोग धेरै अघिदेखि लागिसकेको छ । २०४६ सालको राजनीतिक परिवर्तनले कतिपय विषयमा नागरिकलाई स्वतन्त्र बनाए पनि नेपाल प्रज्ञाप्रतिष्ठान, साझा प्रकाशन लगायतका भाषा, संस्कृति तथा वाङ्मयको उत्थानका निम्ति स्थापित संस्थाहरूमा चरम राजनीति हावी हुन पुग्यो । परिणाम हामी सबैसामु छर्लंगै छ- ती संस्थाले आफ्नै गुट वा विचारका मान्छेका मात्रै किताब छाप्न थाले । रचना खोज्न थाले । तिनले ‘राम्रो' होइन ‘हाम्रो' मान्छे हेर्न थाले । एउटा स्वाभिमानी र प्रतिभाशाली लेखक ‘मेरो रचना वा पुस्तक छापिदेऊ' भनेर पदेन प्राज्ञ वा दलको झोले महाप्रबन्धकका ढोका ढक्ढकाउन जाँदैन भन्ने कटु यथार्थको ज्ञान तिनलाई हुन सकेन ।
प्रज्ञामा जुन विभाग जुन दलको भागमा परेको छ त्यसमै लागेका लेखकको मात्र रचना चयन हुने अवस्था छ । सम्बद्ध दलका लेखकले मात्रै लेखनवृत्ति, विभिन्न खालका संकलनहरूमा रचना समावेश वा पुरस्कार हात पार्ने अवस्था जोकोहीलाई महसुस भएको विषय हो । यो प्रवृत्तिका कारण नेपाली साहित्य डच डिजिजबाट ग्रस्त हुन पुग्यो । लामो समयदेखि प्रज्ञा तथा साझामा भागबन्डामा नियुक्ति हुन थालेको छ । परिवर्तनको सुरुताका यसले साहित्यको समविकास गराउला कि भन्ने भ्रम छोटो समय रह्यो । तर, भागबन्डामा निर्मित प्रज्ञाले साहित्य प्रवद्र्धन गर्न सकेन । पदमा पुगेकाहरू नै साहित्य होइन, राजनीतिक दलका झोला बोक्न सिपालु भएपछि साहित्य प्रवद्र्धन नहुनु स्वाभाविक भइगयो । यिनबाट जसरी हुन्छ पदमा बसिरहने, तलबभत्ता पचाइरहने, आसेपासेलाई खुसी पार्ने अनि यस्सो दुईचार मुलुक घुम्ने कामभन्दा अर्थोक केही भएको देखिँदैन ।
डच डिजिजको उपचार छैन ? अवश्य छ । पहिलो काम, अनावश्यक ढंगमा प्रकाशकले च्यापेका विधा वा लेखकको प्रशंसा नगर्ने । अर्को जिम्मेवारी, प्रकाशक वा यस्तो रोग लागेका लेखकलाई सम्झाउने-बुझाउने, उसलाई लागेको रोगबारे जानकारी गराइदिने । यो रोग लागेको कुरो सतहमा देखिँदैन । भित्रभित्रै यसले असर गर्छ । यही नै हो डच डिजिज भनेर किटिहाल्न गाह्रो पर्छ । तर, यसले आफ्नो हाँगा फैलाउँदै झाँगिन थालेपछि नियन्त्रण कठिन हुन्छ ।