स्मृतिमा दुई दुम्सी
मेरो बाल्यकालका सजीव स्मृति छन् मसँग ।म घडीको कुरा गर्ने विचारमा छु पहिले । प्रसंग २०१६÷१७ सालको । दहचोक, म जन्मेको ठाउँ ।त्यहाँका घडी सबै प्राकृत थिए, घडीको चलनै थिएन । घाम, छाया, चरा, गाईबस्तु फुकाउने र बाँध्ने काल, खाजा र खाना खाने काल आदिबाट दिउँसोको समय मापन गरिन्थ्यो । रातका प्रहर- तारा, आकाशगंगा, जून आदि थिए । तारामा पनि खास गरी तीनतारा, सप्तर्षि, दखिनातारो, धु्रवतारो आदि निकै प्रचलित थिए ।
बिहानको प्रहर भएमा पूर्वको लालिमाबाट पनि अन्दाज निकाल्थे । बादल र कुहिरो लागेको रात भयो भने निद्राबाट अनुमान गर्थे— एकनिद्रा, भातेनिद्रा, दुईनिद्रा आदि । कति अचम्म हगि ? आधा शताब्दी अघिको, त्यो पनि राजधानी नजिकै पर्ने समाजको हालत ! अझ दुर्गम ठाउँका त कुरै नगरौं, के हुँदो हो !अब चराको प्रसंग निकालूँ । ती चरा भ्याकुरा थिए । तिनले समय बताइरहन्थे । खास गरी साँझ र बिहान त सबैले भ्याकुराको नाम लिन्थे । भ्याकुरा बिहान पनि तीनपटक कराउँथे र साँझ पनि तीनपटक नै ।
बिहान सूर्य उदाउनुभन्दा ठीक एक घन्टाअघि भ्याकुरा कराउँथे जसलाई पहिलो भ्याकुरा कराएको समय भनिन्थ्यो । दोस्रोपटक ठीक आधा घन्टापछाडि कराउँथे जसको नामै दोस्रो भ्याकुराको समय भन्ने थियो । तेस्रोपटक कराउँदा त फूलचोकीबाट सूर्यले चिहाइसकेका हुन्थे । बेलुका पनि त्यस्तै हो । तेस्रो भ्याकुराको समय भनेको झमक्कै साँझ हुन्थ्यो । अहिले म सोच्छु, 'कहाँ होला यसरी भ्याकुराले समय बताउने समाज ? ' अहिले त छैन होला । लोप भयो त्यो युग, नफर्किने गरी । तर, ती भ्याकुरा भने दहचोकमै छन् । स्मृति मसँग नगर पस्यो तर भ्याकुरा सहरमा आउन डराए । उतै बसे । कसैले सुनोस् वा नसुनोस् तर समय बताउने आफ्नो नैसर्गिक संकेत भने दिइरहेका छन् भ्याकुराले- दहचोकमा ।
घडीका पनि मसँग रोचक सम्झना छन् । तिनलाई छुट्टै उल्लेख गरूँला । आज दुम्सीका कुरा गरौँ ।हाम्रो घरमा मटान हालेको थियो । पश्चिमपट्टिको कुनामा बाको सुत्ने खाट थियो । हामी दुई भाइ पूर्वपट्टिको खाटमा सुत्थ्यौँ । घरको छानु र मटानको पाली पनि छ्वालीले छाइएको थियो । गाउँभरि सबैका घर उस्तै थिए, मटान भने प्रायः सबैका घरमा हुन्थे । खुलामा सुत्न पनि पाइने र सुरक्षाका हिसाबले पनि सबैले मटान राख्न मन पराउँथे ।
त्यो रात साउनको थियो । चारैतिर मकैबारीले ढाकेको बेला । त्यसमाथि बाक्लो कुहिरो डम्मै । रातको समय थियो, कुन बेला होला त्यो भन्न सक्तिनँ । एक्कासि म बिउँझेँ । कुनै आवाज कानमा ठोक्किइरहेको थियो । आँखाले केही नदेखिने निस्तब्ध अन्धकार थियो सबैतिर । डर लागेर मैले बालाई बोलाएँ । बाले भन्नुभो, 'सुत् सुत् ! केही होइन, मैले टिन ठटाएको । दुम्सी डाँकाले ठूलो पाटोको मकै काटेजस्तो छ ।'
मैले डराइडराई सोधेँ, 'के हो बा दुम्सी भनेको ? ' उहाँले रित्तो टिन ठटाउँदै भन्नुभो, 'हुन्छ एउटा क्षेद । रात परेपछि आउँछ, पाटाभरिको मकै काटेर ढलाइदिन्छ । ठूलो पाटैमा पसेजस्तो छ ।'ठूलो पाटो वास्तवमै ठूलो छ । पछि भाइ भाग लागे पनि पाटो त उही नै छ । अहिले स्थानीय स्कुल, क्लबका केटाहरू त्यही पाटोमा फुटबल खेल्न जान्छन् । त्यो बखत पच्चीस मुरी मकै फल्थ्यो त्यो पाटोमा । त्यहाँ दुम्सी पल्केपछि टिनमात्रै होइन, थाप्लै ठटाउनुपर्ने अवस्था हो नि ।
भोलिपल्ट बिहानै बाले मटानबाटै बारीतिर हेरेर भन्नुभो, 'राक्षसले झन्डै आधा पाटो मकै ता ढालिहाले छ नि !' आमा र आमोई दुवैजना आँगनमा निस्केर भन्नु भो, 'जंगलको बास, कुलकै सत्यानाश !'त्यो दिनभरि आमा र आमोई मिलेर दुम्सीले ढालेको मकैका बोट आँगनमा जम्मा गर्दा आधा आँगन ढाकेको थियो । त्यो घाँस र सोतर भयो गाईभैंसीको । मकैका बोटमा सुत्ला पसेका पनि थिएनन् । केवल धानचमर निस्किँदै थिए । त्यो दृश्य देखेपछि बालाई भने क्रोध उत्पन्न भए छ दुम्सीउपर । बिहान एक चिलिम तमाखुसम्म नखाई उहाँ लुङ्वाको घरमा जानुभएछ ।
लुङ्वादाइ दुवै हातले एकएकवटा मरेका दुम्सी झुन्ड्याएर घरतिर लागे । मैले आँखाले देखेसम्म लुङ्वादाइले झुन्ड्याएर लगेका दुम्सी हेरिरहेँ ।
हाम्रोभन्दा अल्लिमाथि थियो लुङ्वाको घर । गरिब थियो । धेरै केटाकेटी थिए उसका । ती मेरा साथी पनि हुन्, गोरे, संग्रामे, वीरमाने, आइते र सुकू । सुकू मसँग धेरै रौसिन्थिन् । हामीसँगै लुकामारी खेल्थ्यौं । बिचरी आठ-नौ वर्ष नपुग्दै मरिन् ज्वरोले । उनै सुकूको बाबु लुङवालाई खेतालो डाक्नु भएछ बाले । किनभने त्यो दुम्सीको सत्यानाश गर्र्नैपर्थो । होइन भने ठूलो पाटोको कलिलो मकै एउटा पनि साबुद बस्तैनथ्यो । भैंसीको घाँसमात्रै हुन्थ्यो ।
गाई फकाउने बेलामा लुङ्वा आए । उनलाई बाले भन्नुभो, 'हेर लुङ्वा ! आज एकै रातमा आधा पाटो मकै काट्यो । उपाय नगरे मकैको एउटै बोट बाँकी हुन्न । तँलाई दुम्सीको बाटो पनि थाहा छ, कसरी धराप राख्ने ? त्यो पनि थाहा छ । आज राति ती दुम्सीलाई खाडलमा हाल्नै प¥यो । तँ कोदालो, खन्ती लिएर जा ! म भात खाएर आउँछु ।'
दिनभरि लुङ्वाले के गरे, मलाई थाहा भएन । तर, साँझको भात पनि लुङ्वाले हाम्रै घरमा खाए । आमाले ओछ्यान मिलाइदिनुभो । उनी हाम्रै फलैंचामा सुते । भोलिपल्ट बिहान सायद पहिलो भ्याकुरो पनि कराएको थिएन, लुङ्वा कराए आँगनबाट, 'कतिवटा छन् म भन्न सक्तिनँ तर खाडलभित्र दुम्सीचाहिँ जाकिए !' सबैभन्दा पहिले बा नै कराउनु भो, 'के रे के रे ? ल भै गो, दुम्सी तँ नै लैजा ! भुँडी मलाई दिनू !'
'मासु खाए हुन्छ नि ! बाहुनले पनि खान हुन्छ । ओखती हुन्छ त्यसको मासु', लुङ्वाले भने ।
'भो भो ! तँ खा सबै ओखती ! मलाई दम भएकाले त्यसको भुँडी ओखती हुन्छ, मासुचाहिँ तँ खा ! कतिवटा होलान् र ? '
'बच्चासमेत भए धेरै होलान् ! बच्चा नभए भाले र पोथी मात्रै छन्', लुङ्वाले घोषणा गरे ।
'छन् कि तेरो अन्दाजमात्रै हो ? '
'म धरापमा पुगेर आइसकेँ । दुईवटा पक्कै छन् । त्योभन्दा बढी भन्न सक्तिनँ', लुङ्वाले सगर्व भने ।
उज्यालो भयो । बा र लुङ्वा लाठा बोकेर बारीतिर जानुभो । म पनि पछिपछि लागेको थिएँ । बाले, 'न आइज ! दुम्सीले टोक्छ' भन्नुभएपछि म डराएँ । तर, दुम्सी हेर्ने इच्छा भने ज्यादै थियो । म घरमा आएँ र आमालाई पिरोल्न थालेँ दुम्सी हेर्ने भनेर । आमाले भन्नुभो, 'लुङ्वा दाइले यहीँ ल्याउँछ । आँगनमा बसेर हेर्नू ! त्यहाँ जानु हुन्न बाबै ! झाडीमा हरेउ हुन्छ, टोक्छ ।'
'आमा ! कस्तो हुन्छ त्यो दुम्सी ? '
'जीउभरि काँडा भएको हुन्छ, गनाउने ।'
'कस्तो काँढडा ? ऐँसेलुको जस्तो हो आमा !'
'कहाँ ऐँसेलुको जस्तो हुनु ? सोइला हुन्छ, एक बित्ता लामो ।'
आमाको उत्तरले म सन्तुष्ट हुनै सकिनँ । एक बित्ता लामो काँडा पनि मैले कतै नदेखेकोले होला । मेरो दिमागमा त्यो काँडाको विम्ब बन्नै सकेन । मेरो मन झनै तुलबुलियो । त्यो दुम्सीबारे सबै कुरा एकैपटक जानूँ भन्ने जिज्ञासामात्रै उम्लिरह्यो । त्यसैले सोधेँ, 'आमा, आमा ! त्यो दुम्सी कहाँ बस्छ ? '
'वनमा बस्छ । दुलो वा ओढार हुन्छ त्यसको घर ।'
'हाम्रो मकै किन काटेको त्यसले ? '
'त्यसले मकै खान्छ । मकैको बोट देख्नेबित्तिकै काटिहाल्छ त्यसले ।'
'घोगा भाँचेर खाए हुन्थ्यो नि ? '
'त्यो सानो हुन्छ नि । बाख्राको पाठो जत्रो । घोगा भेट्नै सक्तैन । फेरि अहिले ता मकैमा घोगै लागेको छैन, धानचमरमात्रै हो ।'
'घोगै नलागेको मकै किन काटेको त ? बोट पनि खान्छ र ? '
'बोट खाँदैन त्यसले । माथि घोगा होला भनेर एउटा बोट काट्छ अनि घोगा खोज्छ । घोगा पाउँदैन फेरि अर्काे काट्छ । यसरी काट्तै जान्छ पाटाभरिको मकै ।'
'घोगा लागेपछि काटेको भए ता खान पाउँथ्यो नि !'
'पशु हो, त्यस्तो बुद्धि कहाँ पाउनु ? मानिस हो र ? '
'मकै काट्ने हँसिया पनि हुन्छ त्योसँग ? '
'आ, यसलाई कति खसखस लागेको ! दाँतैले काट्छ । तीखा र धारिला हुन्छन् त्यसका दाँत ।'
'अनि, अनि धरापमा पार्ने भनेको के हो ? '
'यसले एउटा कुरा पायो भने त्यसको बेलीबिस्तार लगाउँदै हैरान पार्छ । ल सुन् ! दुम्सी जंगलको ओढारतिर बस्छ दिनभरि । दिउँसो निस्किँदैन । जब रात पर्छ त्यो बारीतिर पस्छ खाने कुरा खोज्न । हिउँदमा भए बदाम, सखरखण्ड, पिँडालु, मुला, पाकेको फर्सी खोजेर खान्छ । अहिले ता बर्खामास छ, मकै, सिमी, बोडी, भटमास खान्छ ।
यसरी वनबाट बारीतिर पस्ने एउटा बाटो बनाएको हुन्छ त्यसले । त्यो त्यही बाटोबाट मात्रै आउँछ, अर्काे बाटो हिँड्दैन । फर्किंदा पनि त्यही बाटो जान्छ । बारीवरिपरि घुमेर विस्तारै खोज्यो भने त्यसको बाटो पत्ता लाग्छ । हो त्यही बाटो पत्ता लगाएर गहिरो खाडल खन्छन् । हिजो लुङ्वादाइले पनि त्यही बाटोमा खाडल खनेका थिए । फेरि यसरी बाटोमा खनेको चाल पायो भने अथवा उसको बाटोमा नयाँ माटोमात्रै पनि देख्यो भने त्यो बाटो हिँड्दै हिँड्दैन । खाडल खनेको नयाँ माटोलाई अन्तै लगेर फ्याँक्नुपर्छ । उसको बाटो भने जस्ताको तस्तै हुनुपर्छ ।
त्यो खाडलमाथि मसिना छेस्का, स्याउलाले छोप्छन् र घाँस पत्करले बाटोलाई दुरुस्त पार्छन् । रात परेपछि आफ्नै बाटो त हो नि भनेर दुम्सी आउँछ, गहिरो खाडलमा पर्छ । त्यही हो धराप भनेको' आमाले विस्तारपूर्वक सुनाउनुभयो ।
'निस्केर भागेको भए भइहाल्थ्यो नि । किन खाडलमा बसिरहेको होला ? '
'त्यसका अगाडिपट्टिका दुवै खुट्टा छोटा हुन्छन्, उफ्रिन सक्तैन । दुलो खनेर भागोस् भने रातभरिमा भ्याउँदैन । अनि के गरोस् त !'
'बाहिर आँगनमा कोही आएजस्तो छ !'
'जा त हेर् ! लुङ्वादाइ आयो होला दुम्सी लिएर !'
म एकै फड्कोमा बाहिर पुगेँ । नभन्दै दुईवटा दुम्सीलाई आँगनमा लडाएको रहेछ । बा भुतभुताइरहनु भएको सुनेँ, 'ल खा सत्यानाशी वैरी !' मैले बालाई कोट्याएर सोधँे, 'बा बा ! यसको काँडाले घोच्छ ? '
'त्यसै त के घोच्थ्यो ? त्यसमाथि मरिसके ।'
म भने घुमी घुमी ती मरेका दुम्सीलाई हेर्न थालेँ । वाक्क आउलाजस्तो गन्ध थियो । जीउभरि कालो र सेतो मिसिएका काँडा थिए । कुनै लामा, कुनै छोटा । आमा बाहिर निस्किनुभयो, 'आब्बुई ! कत्रा रहेछन् नि ! अनि के नकाटुन् त मकै । ए लुङ्वादाइ ! त्रिसल्ली काँडा पनि छन् कि ! खोज त !'
'म खोजेर दिऊँला रहेछ भने । सबै दुम्सीमा हुँदैन त्यो ।' लुङ्वाले भने ।
'आमा आमा ! त्रिसल्ली भनेको के हो ? '
'त्रिसल्ली भनेको तीन ठाउँमा सेतो अनि तीनै ठाउँमा कालो भएको काँडो हो । तेरो वर्तमन गर्ने बेला भो, वर्तमनलाई चाहिन्छ क्या त्यो ।'
'हो हो, अब वर्तमनमा सानुबाजेको कान छेडिदिन्छन् त्यो काँडाले ।' लुङ्वादाइले यसो भन्दा मैले आमाको मुखतिर हेरेँ, साँच्चै हो कि होइन भनेर । आमाले भन्नुभो, 'यो लुङ्वा त्यसै तर्साउँछ बच्चालाई । होइन क्यारे !'
'किन होइन ? अहिले डराउँछ भनेर त्यसो भनेको । वर्तमन त आओस्, दुवै कान काँडाले छेडिदिँदा चाल पाउँछ सानुबाजेले ।'
लुङ्वादाइ मलाई सानुबाजे भन्थे । मलाई भने डर लाग्यो क्यारे, आमाको हात समाउन पुगेँ ।
'ए लुङ्वा लैजा तेरै घरमा ! भुँडी सफा गरेर ल्याइदिनू है !' बाले भन्नुभो ।
'मासु नखाने तपाईंहरू !'
'आ, कता पो गनाउनु ? सुकुटी मीठो हुन्छ ए बाजे !'
'भो भो पर्दैन ! लैजा !'
लुङ्वादाइ दुवै हातले एक एकवटा मरेका दुम्सी झुन्ड्याएर घरतिर लागे । मैले आँखाले देखेसम्म लुङ्वादाइले झुन्ड्याएर लगेका दुम्सी हेरिरहेँ ।