गरिबीलाई जितेर ‘माछाका राजा'

 गरिबीलाई जितेर ‘माछाका राजा'

नेपालमै निजी क्षेत्रमा सबैभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गर्ने बौएलाल मुखिया अचेल माछा व्यापारीमाझ ‘फिस किङ' अर्थात् ‘माछाको राजा' नामले चिनिन थालेका छन् । धनुषा जिल्लाको सहिदनगर नगरपालिका-४ नन्नुपट्टी गाउँ निवासी ७० वर्षीय मुखियाकै नाउँले उनको गाउँ चिनिन्छ । नन्नुपट्टीमा करिब १३ बिघा जग्गामा फैलिएको ‘मुखिया मत्स्य प्रजनन फार्म' ले गाउँका बासिन्दाको पहिचान फेरेको हो । शान्त र सरल स्वभावका मुखियाको फार्मसँगै रहेको घरको आँगनमा प्रतिदिन माछा व्यापारी, माछा उत्पादन गर्न चाहने कृषक र जानकारहरूको जमघट हुने गर्छ । आफूसँग उत्पादनका सीप सिकेर प्रयोगमा ल्याउन खोज्नेहरूलाई सहज रूपमा मुखिया आफ्ना अनुभव र ज्ञान बाँड्ने गर्छन् ।

०२९ सालदेखि माछा उत्पादन सुरु गरेका मुखियाले अहिलेसम्म आफ्नो व्यापार निकै फराकिलो बनाउन सफल भएका छन् । उनले निजी स्तरमा करिब ४० वटा माछा उत्पादनका माउ पोखरी र नर्सरी पोखरी निर्माण गरेका छन् । जसबाट वार्षिक ७ करोड माछाका भुरा र करिब सय क्विन्टल हाराहारीमा माउ माछा उत्पादन गरी बिक्री गरिने मुखियाले बताए ।

मुखियाको व्यापारमा उनका छोरा कन्हैया र रमेश पनि सहयोग गर्छन् । बुबाको व्यापारलाई अझ बढी फैलाउने उद्देश्यले आफूहरू अन्य पेसामा नगई यसमै लागिपरेको उनका कान्छा छोरा रमेश बताउँछन् । यस फर्ममा उत्पादन हुने माछाका भुरा काठमाडौं, नुवाकोट, सोलुखुम्बु, मोरङ, बारा, पर्सा, सप्तरी, झापा, महोत्तरीलगायत नेपालका अधिकांश माछापालन रहेको स्थानमा पुग्ने रमेशले बताए ।

कुनै बेला चरम गरिबी व्यहोरेका धनुषा सहिदनगरका बौएलाल मुखिया माछापालनबाट बर्सेनि ३० लाखसम्मको आम्दानी गर्छन् ।

माछा व्यापारबाट वार्षिक २५ देखि ३० लाखसम्म आम्दानी गर्छन् उनी । तर, उनको यो अवस्थासम्म आइपुग्दा परि श्रम, चरम गरिबी र असीम दुःख भोगेको अनुभव छ उनको । विगत सम्झँदा उनलाई कहाली लाग्छ । तराईमा दलित जातिमै पर्ने उनको समुदाय वर्षौंदेखि गरिबीको चपेटामा छ । मुखिया पनि अति विपन्न परिवारमा जन्मिएका हुन् । आफू जन्मिएको दश दिनमै आमा पारो मुखिया बितेको धेरै पछि बुबा दुखरन मुखियाबाट थाहा पाएका थिए उनले ।

त्यतिबेला आफ्ना ठुल्दाइ किसुन मुखियाका सँगै एक धुर जग्गामा रहेको झुपडीमा बस्थे उनीहरू । आफू १० वर्षको हुँदा बुबा निकै बिरामी परेको स्मरण छ मुखियालाई तर उनको औषधोपचार गराउने अवस्था थिएन । घरमा खानाकै धौधौ थियो भने औषधि त ठूलो समस्या भइहाल्यो । उपचार अभावमा बुबा बितेको सम्झँदा उनको आँखा रसाउँछ ।

अति नै खराब अवस्थामा हुँदा आफ्ना नातेदारले समेत खासै सहयोग नगरेकोमा दुःखमनाउ गर्छन् उनी । ‘दाइले जसोतसो खोल्सामा दिनभर माछा मार्नुहुन्थ्यो र त्यो बेचेर जे-जति आउँथ्यो त्यसैबाट गुजारा चलाउँथ्याँै हामी', मुखियाले पुराना दिन सम्झिए । करिब १३ वर्षको उमेरमा उनी आफ्नै गाउँका धनीमानी छिमेकी ज्ञानकुमार तिवारीको घरमा कामकाज गर्न थालेका थिए । त्यहीबेला अमेरिकाबाट एक जना विदेशी गाउँमा माटो र पानी परीक्षणका लागि आएका थिए । ती विदेशीले बढी जग्गा हुने व्यक्तिको माटो परीक्षण गरी कहाँ कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनी सुझाव दिन्थे ।

उनैले माछापालनबाट पनि राम्रो आम्दानी हुने बताए । विदेशीको कुरा मन परे पनि मुखियासँग भने न जग्गा थियो न पैसा नै ! तर, उनले काम गर्ने साहु तिवारीको भने तीन कठ्ठा जग्गामा बेवारिस पोखरी थियो । मुखियाले त्यही पोखरीमा माछा पाल्ने प्रस्ताव राखे । तिवारी आम्दानीको आधा दिने सर्तमा सहमत भए । ‘तिनै विदेशीले औषधि र पोखरी सफा गर्न चुना उपलब्ध गराउनुभयो', मुखिया सम्झन्छन्, ‘सरकारले कृषकलाई सित्तैमा दिने माछाका भुरा ल्याएर खेती सुरु गरेँ ।'

सानो पोखरी उत्पादन राम्रै भयो । त्यही माछा बेचेर जीविकोपार्जन सहज हुन थाल्यो । अँधियामा सुरु गरेको माछापालनमा नयाँ मोड आयो जब तत्कालनी प्रधानपञ्चले आफ्नो घर नजिकको पोखरी ठेक्कामा दिने प्रस्ताव राखे । तिवारीजीको सल्लाहमा मुखियाले त्यो पोखरी ठेक्कामा लिए । लगानी गर्ने पैसा नभएकाले ११ सय रुपैयाँ पैंचो पनि उनै तिवारीले दिएका थिए । त्यो पैसाको भुरा किनेर पोखरीमा हाल्ने तरखर गरिराख्दा रातिपख ती भुरा मरे । झन् ठूलो समस्या आइपर्‍यो । बाध्य भएर ५ प्रतिशतका दरले पाँच सय रुपैयाँ ऋण लिए, चार सय रुपैयाँ साथीको बुबासँग सापट लिए ।

त्यही नौ सय रुपैयाँबाट सुरु भएको माछा व्यवसाय नै आज उनको परिचय भएको छ । ‘अर्को वर्ष जब पोखरीमा माछा मार्यौ त्यसबाट ठूलो उपलब्धि भयो र जिन्दगी नै फेरियो', मुखियाले भने । त्यतिबेला ८ रुपैयाँ किलो बिक्री हुने माछाबाट उनले ११ हजार रुपैयाँ आम्दानी गरेका थिए । त्यही पैसाबाट ११ कठ्ठा खेत किनेर धान खेती गरे, थप तीन कठ्ठा खेत किनेर त्यसमा माछा पालनको काम सुरु गरे ।

त्यसपछि अहिलेसम्म पछाडि फर्केर हेर्नु नपरेको सुनाउँछन् उनी । आफ्नो मिहिनेत र परि श्रममा सदैव साथ दिएकी श्रीमती बुधनीदेवी मुखिया र छोराहरूको हौसलाले नै अहिलेसम्म ऊर्जा दिने गरेको मुखिया बताउँछन् । सानैमा बुबाआमा बितेकाले धेरै पढ्न नपाए पनि गाउँकै विद्यालयमा कक्षा आठसम्म अध्ययन गरेका मुखिया लामो अनुभवका कारण हाल माछासम्बन्धी बिमारी, रोग वा समस्याको निदान गर्नसमेत सक्छन् । ‘म चिकित्सक त होइन तर अनुभवका कारण माछाका समस्या सजिलै बुझेर समाधान गर्न सक्छु', मुखियाको आत्मविश्वास छ ।

निकै दुःखकष्टमा हुर्केका हुन् मुखिया । त्यसको एक मात्र विकल्प थियो आर्थिक उन्नति । त्यसैका लागि कडा मिहिनेत गरे । सम्भावना देखेको ठाउँमा पसिना चुहाए । कुनै बेला एक कठ्ठा घरघडेरीमा सीमित उनले १४ बिघा जग्गा खरिद गरे । उनीभन्दा पहिला त्यस क्षेत्रमा कसैले पनि व्यावसायिक माछा खेती गरेकै थिएन । अहिले उनकै सहयोगमा दर्जनौं किसान व्यावसायिक माछा खेतीमा लागिपरेका छन् ।

मुखियाको मिहिनेतलाई राज्यले पनि बेलाबखत सम्बोधन गरेको उनी बताउँछन् । ०४६ सालमा उनलाई सरकारले माछा उत्पादन तालिमका लागि एक महिना बंगलादेश पठाएको थियो । त्यस्तै उनको परि श्रम र माछा उत्पादन क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै ०५६ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको हातबाट गोरखा दक्षिणबाहु पुरस्कारबाट सम्मानित गरिएको थियो । यसका साथै उनले देश÷विदेशमा सयौं सम्मान र पुरस्कार प्राप्त गरेका छन् ।

चरम गरिबीको अवस्थामा उनलाई सहयोग नगरेका छिमेकी र नातेदार अहिले उनको एकदृष्टिकै लागि पनि लालायित हुन्छन् । मुखिया सबैलाई हँसिलो अनुहारका साथ मीठो बोलीले व्यवहार गर्छन् । भन्छन्, ‘मैले जुन गरिबी र समस्यामा आफ्नो बाल्यकाल बिताए त्यस्तो अवस्था अब आफ्नो परिवारमा कहिल्यै नआओस् त्यसका लागि केही गरेको छु जस्तो लाग्छ ।'

२० वर्ष पूर्व भएको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्षमा निर्वाचित भई सफल कार्यकाल चलाएका मुखिया अबको स्थानीय तहको निर्वाचनमा आफ्नो नगरपालिकाबाट मेयर पदमा उम्मेदवारी दिने तयारीमा छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.