साना दललाई धौधौ

साना दललाई धौधौ

काठमाडौं : कांग्रेस, एमाले र माओवादी केन्द्रबाहेक अन्य दल स्थानीय तह निर्वाचन परिणाममा निकै खुम्चिएका छन् ।संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले झन्डै तीन सय स्थानीय तहको मतगणना सकिँदा जम्मा दुई गाउँपालिकाको प्रमुख जित्न सफल भएको छ । संसद्मा ३७ सांसदसहित सानदार चौथो दल भए पनि राप्रपा स्थानीय तहको पहिलो र दोस्रो चरण चुनावमा निकै खुम्चिएको छ ।

यसअघि वैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरण चुनावमा राप्रपाले एउटा मात्रै प्रमुख जितेको थियो । संसद्मा झन्डै ७ प्रतिशत हिस्सा ओगटेको राप्रपाको स्थानीय तहमा भने एक प्रतिशतभन्दा कम उपस्थिति हुने देखिएको छ । राप्रपाले अहिलेसम्म दुवै चरण गरी तीन स्थानीय तह जितेको छ भने मतगणना जारी रहेकोमा एक तहमा मात्रै अग्रता कायम गरेको छ ।

त्यस्तै, ०६४ सालमा मधेसलाई केन्द्र बनाएर खुलेका उपेन्द्र यादव र विजयकुमार गच्छदारका दुई पार्टीले पनि सोचेभन्दा निकै कम स्थानीय तहमा जित हासिल गरेका छन् । प्रदेश नम्बर १ को पश्चिम बेल्ट र प्रदेश नम्बर ५ र ७ को तराई क्षेत्रमा पकड भए पनि संघीय समाजवादी फोरम र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको पनि मतगणनामा राम्रो परिणाम आउने लक्षण देखिएको छैन । अहिलेसम्म संघीय समाजवादी फोरमले नयाँ शक्तिसँगको गठबन्धनमा ६ स्थानीय तह जित्न सफल भएको छ भने फोरम लोकतान्त्रिक ४ तहमा मात्रै सीमित भएको छ ।

राष्ट्रिय जनता पार्टीले एक सिटमा स्वतन्त्र उम्मेदवारबाट जित हासिल गरेको छ, कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा जितेर । राष्ट्रिय जनमोर्चाले आफ्नो पुरानो किल्ला प्युठानमा दुई गाउँपालिकाको प्रमुख जित्न सफल भएको छ । प्युठानको मल्लरानी र झिमरुक गाउँपालिकामा जनमोर्चाले जित हासिल गरेको छ । पहिलो चरणमा धादिङमा एक सिट जितेको राप्रपाले झापाको हल्दीबारी गाउँपालिका र अञ्जार आलम गाउँपालिकाको प्रमुख जितेको छ ।

संघीय समाजवादी फोरमले मर्चवारी गाउँपालिका रुपन्देही, मायादेवी गाउँपालिका कपिलवस्तु, रोहिणी गाउँपालिका रुपन्देही, भोक्राहा गाउँपालिका सुनसरी, गैडहवा गाउँपालिका रुपन्देही र नरैनापुर गाउँपालिका बाँकेको प्रमुखमा जित हासिल गरेको छ । त्यस्तै, गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले जानकी गाउँपालिका कैलाली, बर्जु गाउँपालिका सुनसरी र सरावल गाउँपालिका नवलपरासीको प्रमुख जितेको छ भने दुहवी नगरपालिका सुनसरीको मेयर जित्न सफल भएको छ ।

राप्रपाले मतगणना जारी रहेकोमध्ये नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा अग्रता कायम गरेको छ । त्यस्तै, फोरम लोकतान्त्रिकले बूढीगंगा गाउँपालिका मोरङ, देवानगञ्ज गाउँपालिका सुनसरी र भजनी नगरपालिका कैलालीमा अग्रता कामय गरेको छ । राजपाले स्वतन्त्र उम्मेदवारी दिएर कोसी गाउँपालिका सुनसरी, लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देही, महाराजगन्ज नगरपालिका कपिलवस्तु, कृष्णनगर नगरपालिका कपिलवस्तु र कोटहीमाई गाउँपालिका रुपन्देहीमा सोमबार साँझसम्म अग्रता जारी राखेको छ ।

एमालेको पछिपछि कांग्रेस

सोमबार साँझसम्मको मतगणना परिणामअनुसार एमाले र कांग्रेसबीच ९ तहको फरक देखिएको छ । एमालेले कांग्रेसभन्दा ९ स्थानीय तह बढी जितेको छ । सोमबार साँझसम्मको परिणामअनुसार एमालेले १ सय ११ स्थानीय तहमा जित हासिल गरेको छ भने कांग्रेसले १ सय २ स्थानीय तह जितेको छ । माओवादी केन्द्रले भने कांग्रेस र एमालेभन्दा निकै कम ३३ वटा स्थानीय तहमा मात्रै जित्न सफल भएको छ ।

संघीय समाजवादी फोरमले ६, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ४, राप्रपाले २, जनमोर्चाले २ र एक तह स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

कसको कति जित

एमाले १११ जित, अग्रता ३३
कांग्रेस १०२ जित, अग्रता ३०
माओवादी ३३, अग्रता ७
समाजवादी फोरम ६ जित, अग्रता ०
फोरम लोकतान्त्रिक ४ जित, अग्रता ३
राप्रपा २ जित, अग्रता १
जनमोर्चा २ जित, अग्रता ०
स्वतन्त्र १ जित, अग्रता ५


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.