कांग्रेसभित्र ‘अन्तर्घात' को कथा
नेपालगन्ज : कुनै बेला कांग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘कांग्रेस हार्दैन, यदि कांग्रेस हार्छ भने त्यो कांग्रेसीकै कारण हार्छ ।' यो भनाइ अहिले कांग्रेसनिकट कार्यकर्ताहरूले सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन् । त्यसमा अनेकथरि टिप्पणी र प्रतिक्रिया पनि आइरहेका छन् ।
कांग्रेसकै गढ मानिने कतिपय ठाउँहरूमा अरू पार्टीले धामाधम स्थानीय चुनाव जितिरहेका छन् । यहाँसम्म कि प्रधानमन्त्री तथा अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवाकै जिल्लामा पहिलोपटक अन्य पार्टीले इतिहास बनाएका छन् । पार्टी सभापतिकै जिल्लामा कांग्रेसले अहिलेसम्मको साख अड्याउन सकेन । दोस्रो चरणको निर्वाचन भएका धेरै ठाउँमा अहिले कांग्रेस धेरै पछाडि छ । केही वडामा जिते पनि गाउँपालिका तथा नगरपालिकाहरूमा कांग्रेस धेरै पछाडि छ । जितेका ठाउँहरूमा पनि मतान्तर धेरै छैन, झिनो मतले कांग्रेसले जितेको छ ।
कांग्रेसी कार्यकर्ताहरूबीच अहिले भाइरल भएको शब्द हो ‘अन्र्तघात' । २०६४ सालको संविधानसभाको निर्वाचनमा पनि कांग्रेस खुम्चियो । त्यो बेला पनि कांग्रेसभित्रै ‘अन्र्तघात' भएको ठान्नेहरू धेरै भए । तर, कांग्रेसले आधिकारिक रूपमा कसैलाई देखेन । दोस्रो संविधानसभाको निर्वाचनमा पनि कतिपय ठाउँहरूमा त्यस्तै देखियो, यद्यपि, त्यो चुनावबाट कांग्रेस पहिलो पार्टी बन्यो तर, यसपटकको स्थानीय निर्वाचनमा कांग्रेसको मतपरिणाम निकै उदेकलाग्दो देखिएको छ ।
२०७० सालमा दाङका पाँचवटै निर्वाचन क्षेत्रमा चुनाव जितेको कांग्रेस अहिले जिल्लाका महत्ववपूर्ण दुवै उपमहानगरपालिकाहरू गुमाउँदैछ । वडाहरूको परिणाम पनि लगभग उस्तै छ । खासगरी दाङका दुई उपमहानगर र लमही नगरपालिकालाई अहिले चासोका साथ हेरिएको छ । लमहीबाहेक दुई उपमहानगरमै कांग्रेस यसरी पछि पर्नुको कारण के हो त ? अहिले जिल्लाका सबैजसो कांग्रेसीहरू एकै जवाफ दिन्छन्, ‘खुमबहादुर खड्का ।' घोराही र तुलसीपुर उपमहानगर र लमही नगरपालिकामा समेत आफ्ना निकटका मान्छेहरूले टिकट नपाएपछि खड्काले केन्द्रीय समितिको निर्णयमा हस्ताक्षरसमेत गर्न मानेका थिएनन् । खड्का चर्काे दबाबमा केन्द्रीय समितिले दुवै नगरपालिका तथा लमही नगरपालिकामा खड्का निकटलाई टिकट दियो । समय ढल्किसकेको थियो । टिकट पाउनेहरू आफ्नो नगर फर्किए । असन्तुष्टहरू मौन भएर घरै बसे ।
अन्ततः सबैजसो ठाउँमा कांगे्रसको गति निकै धिमा देखिँदै गयो । अनि सामाजिक सञ्जाल र आम बहसमा समेत ‘अन्र्तघात' ले व्यापकता पाएको छ । यद्यपि, अन्र्तघातको यो ‘कथा' कांग्रेसभित्र नयाँ भने होइन, हरेक चुनावमा यस्तै हुन्छ । कैयौंपल्ट केन्द्रीयस्तरका नेताहरूले समेत स्वीकार गरिसकेको कुरा हो कि, कांग्रेसलाई हराउने कांग्रेसभित्रै हुन्छन् । जनताले चाहेको भन्दा नेताले चाहेको व्यक्तिलाई चुनावी मैदानको जिम्मेवारी दिँदा हरेक चुनावमा कांग्रेसले यस्तै धोका खाइरहेको छ ।
आम कार्यकर्ताहरूले समेत यो अन्र्तघातको विषयमा खुलेआम बोल्न थालेपछि घोराही उपमहानगरका कांग्रेस पूर्वनगरसभापति किशोरचन्द्र गौतमले फेसबुकमा लेखे, ‘दाङमा देखिएको कांग्रेसको कमजोर प्रदर्शनलाई अन्तर्घातको जिम्मा लाएर सबै ओबानो बन्नुहुँदैन । यो पनि एउटा तत्व होला तर हाम्रो संगठन, जनताका मुद्दामा हाम्रा संवेदनशीलता, समावेशी र सबैलाई अटाउने प्रयाससँगै केन्द्रीय नेतृत्वको राष्ट्रिय नीति र टिकट वितरण सबैमा सकरात्मक आत्मालोचना जरूरी छ । अर्कालाई दोषारोपण गरेर हामी दायित्वबाट मुक्त हुन सक्दैनौं ।'
त्यति मात्रै होइन, प्रदेश नं. ५का अधिकांश जिल्लाहरूमा कांग्रेस अहिले धेरै पछाडि देखिएको छ । त्यस्तै आशा गरिएको ७ नं. प्रदेशमा पनि कांग्रेसको गति निकै कम छ । अहिलेसम्म विभिन्न वडा तथा नगर र गाउँपालिका गरी कांग्रेसले प्रदेश नं. ५ का २७ सिट जितेको छ भने प्रदेश नं. ७ मा ३६ सिट जितेको छ । यी प्रदेशहरूमा कांग्रेसले क्रमशः ९ र ३ स्थानमा अग्रता लिइरहेको छ । कांग्रेसले जितेका मध्ये अधिकांश नगर वा उपमहानगर छैनन् । धेरैजसो वडा र गाउँपालिका छन् ।
सबैजसो ठाउँमा कांगे्रसको गति निकै धिमा देखिँदै गयो । अनि सामाजिक सञ्जाल र आम बहसमा समेत ‘अन्र्तघात' ले व्यापकता पाएको छ । यद्यपि, अन्र्तघातको यो ‘कथा' कांग्रेसभित्र नयाँ भने होइन, हरेक चुनावमा यस्तै हुन्छ ।
२०७० सालमा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको गृहनगरसमेत रहेको नेपालगन्जमा पनि कांग्रेसले स्थानीय तहको निर्वाचनमा राप्रपालाई भेटाउन सकेन । संविधानसभाकै चुनावमा कांग्रेसलाई कडा टक्कर दिएको राप्रपाले यो स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई धेरै पछाडि छोडिदियो । नेपालगन्जको उपमेयरमा भने कांग्रेसकी उम्मेदवार उमा थापा धेरै माथि उक्लिएकी छन् । यसअघि पत्रकारिता क्षेत्रमा सक्रिय रहेकी उमाको उचाइ यो निर्वाचनले एकाएक चुलिएको छ ।
पाँच नम्बर प्रदेशको अर्को महत्ववपूर्ण उपउपमहानगरपालिका बुटवलमा समेत कांग्रेसको गति उस्तै छ । त्यहाँ त अझ माओवादी र कांग्रेसको तालमेलसमेत थियो । पहिलो चरणको चुनावमा तालमेलको ‘हविगत' देखिसकेका कांग्रेसजनले त्यहाँ पनि तालमेल रुचाएनन् । अनि दाङमा रहेका दुई ठूला उपमहानगरपालिमध्ये घोराही उपमहानगरपालिकामा पनि एमालेले फराकिलो अन्तरले चुनाव जितेको छ । तुलसीपुर उपमहानगरको परिणाम आउन बाँकी नै छ।
कांग्रेस यसरीपछि पर्नुको अहिले भने एउटै कारण हो, टिकट वितरणको असन्तुष्टि । नेपालगन्जमै पनि टिकट वितरणमा असन्तुष्टि जनाउँदै जिल्लास्तरका नेता कार्यकर्ता अनसनसमेत बसेका थिए । जिल्लामा स्थापित कैयौं नेताहरूले पार्टीसमेत छोडे । यो विचलनको झड्का स्थानीय निर्वाचनमा प्रष्टै देखिएको छ । दाङ क्षेत्र नं ५ बाट कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य दीपक गिरी पनि चुनाव सकेलगत्तै काठमाडौं फर्किनुभयो । अहिले मतपरिणाममा निरन्तर ‘अपडेट' भइरहेका उहाँले जवाफ दिए, ‘म पनि अचम्म परिराछु, तर यो विषयमा मलाई केही बोल्न नलगाउनोस्, पार्टीभित्र समीक्षा हुन्छ, अहिले बोल्न मिल्दैन ।'
केही समय स्व. सुशील कोइरालासँगै काम गरेका दाङका पुराना पत्रकार विपुल पोख्रेलको प्रतिक्रिया छ, ‘पहिलो त टिकट वितरणको असन्तुष्टि हो, दोस्रो आन्तरिक सांगठनिक व्यवस्थापनको कमजोरी हो ।' तर, आम मतदाता के चाहन्छन्, त्यसको बुझाइलाई कम आंकलन गर्नु पनि कांग्रेसको अर्काे कमजोरी देखिन्छ । ‘सबैभन्दा महत्ववपूर्ण कुरा त मतदाताको भावना हो, निर्वाचनको छोटो समयमै जनअपेक्षा धेरै भइसकेका हुन्छन् तर ती पूरा हुँदैनन् र मतदाता हरेक चुनावमा विकल्प खोजिरहेका हुन्छन्', पोख्रेल भन्नुहुन्छ, ‘मतदाताको यही मनोभावनालाई बुझेर पार्टीले त्यस्तै उम्मेदवार जनतालाई दिनुपर्छ ।'