समाचार वाचकदेखि मेयरसम्म
घोराही : घोराही उपमहानगरपालिकाका नवनिर्वाचित मेयर चौधरी सुरुमा रामपुर माविमा शिक्षक हुनुहुन्थ्यो । व्यवस्थापन संकायमा स्नातक चौधरी २ वर्ष रामपुरको गंगा माध्यमिक विद्यालयमा पढाउनुभएको थियो । शिक्षकबाट राजीनामा दिएर राजनीतिमा लाग्नुभएका चौधरीले २०५१ देखि केही समय रेडियो नेपालमा थारू भाषाको समाचार वाचनसमेत गर्नुभयो ।
२०५४ मा स्थानीय निर्वाचन हुने भएपछि पार्टीले उहाँलाई रेडियो नेपालको जागिर छुटाएर तत्कालीन रामपुर गाविस अध्यक्षका लागि टिकट दियो । उहाँ गाउँ विकास समितिको अध्यक्षको उम्मेदवार बन्नुभयो । कृषिसँगै पार्टीका विभिन्न तहमा जिम्मेवारी वहन गर्दै आउनुभएका चौधरी २०७१ सालमा एमाले जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
२०६४ सालको संविधान सभाको निर्वाचनमा दाङ क्षेत्र नं २ मा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका चौधरी पराजित हुनुभयो । १० वर्षपछि त्यही क्षेत्रलाई समेटेर बनेको घोराही उपमहानगरपालिकाको निर्वाचनमा नगरबासीले चौधरीलाई नेता चुनेर मेयर बनाएका छन् । प्रदेश नं ५ को प्रादेशिक राजधानीको चर्चा गरिएको प्रदेशकै ठूलो घोराही उपमहानगरपालिका दाङमा एमालेले इतिहास दोहोर्याउँदै स्थानीय निर्वाचनमा दोस्रो इनिङ गरेको छ ।
२०५४ सालको स्थानीय निर्वाचनमा एमालेले घोराहीमा आफ्नो पहिलो जित दर्ता गराएको थियो । त्यही इतिहासलाई स्थापित गर्दै एमालेले घोराही उपमहानगरपालिकामा फराकिलो मतान्तरले आफ्नो किल्ला सुरक्षित गरेको छ । यो उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरी विजयी हुनुभएको छ । एमालेका तर्फबाट मेयर र उपमेयरसहित बहुमत वडा जितेर घोराही एमालेले इतिहास जोगाएको हो ।
दोस्रो चरणअन्तर्गतका सात उपमहानगरमा पहिलो नतिजा लिएर घोराहीको मेयरमा नरुलाल चौधरी र उपमेयरमा सीता न्यौपाने निर्वाचित हुनुभएको छ । ०५४ सालमा एमालेले पहिलोपटक स्थानीय तहको निर्वाचनमा जित स्थापित गरेको थियो । तत्कालीन मेयर अमरबहादुर डाँगीले घोराही नगर एमालेका तर्फबाट पहिलो झन्डा फहराउनुभएको थियो । त्यसलाई स्थापित गर्न २० वर्षपछि त्यही ठाउँमा एमालेकै नरुलाल चौधरी विजयी हुनुभएको छ । ७८ हजार ७ सय मतदाता रहेको घोराहीमा ५८ हजार ५ सय ३९ मत खसेको थियो । त्यसमा एमालेका मेयर पदका उम्मेदवार चौधरीले २२ हजार ३ सय ३० मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४ सय ८४ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा एमालेकै न्यौपाने निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेसका पुष्पा श्रेष्ठलाई पछि पार्नुभएको हो । न्यौपानेले २० हजार ७ सय ९२ र श्रेष्ठले १७ हजार ६ सय ३ मत पाउनुभयो । १९ वडा रहेको घोराही उपमहानगरमा १० वडासहित एमालेले मेयर-उपमेयर जितेको हो । कांग्रेसले ६ र माओवादी केन्द्रले ३ वडामा विजय हासिल गरेको दाङका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिनुभयो ।
अहिलेसम्म कांग्रेसको गढ मानिने दाङको मुख्य केन्द्रमा एमालेले आफ्नो झन्डा फहराएको छ । घोराही क्षेत्रमा स्थानीय निर्वाचन २०५४ बाहेक अन्य कुनै निर्वाचनमा एमालेले जितेको छैन । २०४८, ५१, ५६, ६४ र ७० को निर्वाचनमा ०६४ बाहेकमा सबै निर्वाचनमा कांग्रेसले जितेर आफ्नो गढका रूपमा स्थापित गर्दै आएको थियो । यद्यपि घोराही क्षेत्रबाट २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने माओवादीका कृष्णबहादुर महराले चुनाव जित्नुभएको थियो । मेयरमा निर्वाचित चौधरीले चुनावअघि आफूले मतदातासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ ।