चरम लापरबाही
सरकारले केही प्रस्तावित या निर्माणाधीन परियोजनालाई राष्ट्रिय गौरव परियोजना घोषणा गरेको छ । मुलुकको विकासमा सघाउने र ती परियोजनामा जनअपनत्व स्थापित गर्ने उद्देश्य अन्तरनिहित देखिन्छ, त्यो घोषणामा । त्यो कार्य सराहनीय हुँदाहुँदै पनि एकांगी हुन सक्तैन । मुलुकमा धेरै यस्ता संस्था र परियोजना छन्, जसलाई राष्ट्रिय गौरव नभनिए पनि वास्तवमा देशभित्र र बाहिर यी संस्था नेपाली गौरव र सम्मानका रूपमा परिचित छन् । त्रिभुवन विश्वविद्यालय एउटा त्यस्तो संस्था हो, यद्यपि दलीय राजनीतिको खेल केन्द्र बनेपछि त्यसको अतीतमा ग्रहण लागेको छ ।
त्रिविअन्तर्गतको पब्लिक युथ क्याम्पसका एमबीएस प्रथम वर्षका विद्यार्थीहरूको 'अकाउन्टिङ' को उत्तरपुस्तिका हराएको छ । त्यो परीक्षामा सामेल १९५ विद्यार्थी आक्रोशित र दुःखी छन् । विद्यार्थीको भविष्यसँग सरोकार राख्ने यति महत्वपूर्ण विषयमा यस्तो लापरबाहीले त्रिविको विश्वसनीयता र जवाफदेहीताबारे कस्तो सन्देश प्रवाह होला ? राष्ट्रिय गौरव कुनै नेता या सरकारले घोषणा गरेको खोलभित्र अटाउने विषय हैन ।
त्यसलाई संस्थाको कुशल व्यवस्थापन, जावफदेहीता, शिक्षाको स्तरीयता र वातावरणले निर्धारण गर्छ । नेपालमा प्रजातन्त्रको आगमन अर्थात् २०४७ को परिवर्तनपछि विस्तारै घुसेको दलीय हस्तक्षेपले त्रिविको विश्वसनीयता र स्तरीयता ध्वस्त पारेको छ भन्दा नेपालमा प्रजातन्त्रका नाममा अभ्यास गरिएको शिक्षा पद्धति राष्ट्र गौरव र संस्थाको नेतृत्वमा रहेकाहरूको चारित्रिक कुशलता धेरै न्यून रहेको पुष्टि हुन्छ ।
६ दशक पूरा गर्दासम्म विदेशमा समेत राम्रो मान्यता हासिल गरेको त्रिविमा इतिहास र संस्कृतिमा विद्यार्थी भर्ना हुन छोडेका छन् । ती विभाग जीवित छन् भने एउटै कारणले छन् । त्यो हो- ती विभागमा केही शिक्षकहरू अभैm जागिरे छन् । तर विद्यार्थी भने नहुनुमा र अन्य विकल्प रोज्नुमा के त्रिवि नेतृत्व जवाफदेही हुनु पर्दैन ?
त्यति मात्र हैन, हालै केही प्रतिष्ठित व्यक्तित्वहरूले पत्रकारितालगायतका विषयमा त्रिवि अन्तर्गत स्थापित 'इनाम' लिनको लागिसमेत योग्य व्यक्तिहरू आउन नचाहनुले त्रिविको हैसियत कतिसम्म झरेको छ, त्यो स्पष्ट पार्छ ।
के त्रिविलगायत नेपालका केही महत्वपूर्ण शिक्षण संस्था, स्वास्थ्य केन्द्र या अस्पतालसँगै राष्ट्रिय अर्थतन्त्र, पर्यटन र 'कनेक्टिभिटी' मा अभूतपूर्व योगदान पुर्याएका सडक या राजमार्गहरूलाई 'राष्ट्रिय गौरव' परियोजनाअन्तर्गत सामेल गरी तिनीहरूको विस्तार, संवद्र्धन र संरक्षण गर्नु आवश्यक छैन ? त्रिविको क्रमिक पतनले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा नेपालको कुनै एक राजनीतिक दल या संविधानको पतन या असफलताभन्दा धेरै ठूलो नकारात्मक अर्थ राख्छ र त्यसको प्रभाव खतरनाक हुन सक्छ । अन्तर्राष्ट्रिय स्तरकै हाराहारीमा उभिन सामथ्र्य उक्त विश्वविद्यालयलाई चलाउन नेपाली राजनीतिज्ञहरू प्रतिबद्ध छैनन् भने अन्तर्राष्ट्रिय विज्ञहरूलाई त्यसको लागि आमन्त्रित गर्नु उपयुक्त हुनेछ ।