धरानमा भरतपुर घटना दोहोरयाउन खोजेको एमालेको आरोप
धरान : संघीय समाजवादी फोरमको मत नेकपा मालेका उम्मेदवारको पक्षमा गणना गरिएपछि उत्पन्न विवादपछि स्थगित धरान उपमहानगरपालिकाको मतगणना तत्काल शुरु गर्न नेकपा एमालेले माग गरेको छ ।
एमालेका सुनसरीका सचिवालय सदस्य प्रकाश राई र उपमेयरकी उम्मेदवार मञ्जु भण्डारीले मतगणना शुरु नगरेर सत्ता पक्षले भरतपुर महानगरपालिकाको घटना दोहोरयाउन खोजेको आरोप लगाउनुभयो । राई र भण्डारीले पत्रकार सम्मेलनमा सत्ता पक्षले धाँधली गर्न खोजेको आरोप पनि लगाउनुभयो । पहिलो चरणमा निर्वाचन भएको भरतपुरमा ९० मत च्यातिएपछि पुन मतदान गर्ने कि मतगणना गर्ने भन्ने विवाद अदालतमा बिचाराधिन छ ।
संघीय समाजवादीको भोट मालेका उम्मेदवारको पक्षमा गणना भएपछि सोमबार राती ११ बजेदेखि धरान उपमहानगरपालिकामा मतणना स्थगित गरिएको छ । धरानको १ देखि १० वडाको मत गणना गरिसकिएको छ ।
पुन मतगणना सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली,मुख्य निर्वाचन अधिकृत अर्जुन कोइराला र एसपी कोषराज पोखरेलले मंगलवार प्रयास गरेपनि काँग्रेस,माओवादी र संघीय समाजवादी फोरम तयार भएका छैनन । माओवादी केन्द्रका कार्यकर्ताले मंगलवार दिउसो एउटा दलको मत अर्को दलमा जोडने कर्मचारी माथि कार्वाही गर्न माग गर्दै नारावाजी गरेका थिए ।