जो झिनो मतान्तरले हारे
काठमाडौं : स्थानीय तह निर्वाचनमा पहाडी जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । दोस्रो चरणको निर्वाचन परिणाम सार्वजनिक भइरहँदा १८ स्थानमा ५० भन्दा कम मतान्तरले जित-हार भएको छ भने ३० भन्दा बढी स्थानमा सय मतान्तरले निर्वाचन परिणाम सार्वजनिक भएको छ ।
पूर्वको ताप्लेजुङ, सोलखुम्बु, भोजपुरदेखि सुदूरपश्चिमको बैतडी, बाजुरालगायत जिल्लामा झिनो मतान्तरले उम्मेदवारले जित-हार व्यहोरेका छन् । मंगलबार सार्वजनिक भएको एउटा गाउँपालिकामा त अध्यक्षका प्रत्याशीकै बराबरी मत आएपछि गोलाप्रथाबाट निर्णय लिनुपरेको छ ।
झापाको कमल गाउँपालिकामा कांग्रेस-एमाले अध्यक्षका उम्मेदवारले बराबरी मत प्राप्त गरेपछि भएको गोलाप्रथामा एमाले उम्मेदवार विजयी हुनुभयो । अहिलेसम्म गाउँ÷नगरकै प्रमुख पदमा बराबरी भएको यो नै पहिलो परिणाम हो ।
कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र एमाले उम्मेदवार मेनुका काफ्लेले बराबरी ८२७५ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन आयोगले गोलाप्रथाबाट निर्णय लिँदा एमाले उम्मेदवार काफ्ले विजयी हुनुभएको हो ।अछामको चौरपानीमा एक मतले निर्वाचन परिणाम जित-हारमा बदलिएको छ । २० भन्दा कम मतान्तरले परिणाम घोषणा भएकामध्ये एमालेले ५ स्थान, कांग्रेस र माओवादी केन्द्रले दुई-दुई स्थानको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् ।
२० भन्दा कम मतान्तरले कांग्रेस, एमाले र माओवादी तीन-तीन तहमा पराजित भएका छन् । एमालेले अछामको चौरपाटी गाउँपालिकामा एक मत, भोजपुरको रामप्रसाद राई गाउँपालिकामा ८ मत, प्युठानको मान्डवी गाउँपालिकामा १२ मत, ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा १५ मत र रोल्पाको त्रिवेणी गाउँपालिकामा २० मतले मात्र निर्वाचन जितेको छ ।
त्यस्तै, उसले चिशंखुगढी गाउँपालिका ओखलढुंगामा ३ मत, अठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङमा १३ मत र ऐरावती गाउँपालिका, प्युठानमा १६ मतले निर्वाचन हारेको छ ।कांग्रेसले ताप्लेजुङको अठराई त्रिवेणी गाउँपालिकामा १३ मत र प्युठानको ऐरावती गाउँपालिकामा १६ मतले निर्वाचन जितेको हो । कांग्रेसले अछामको चौरपार्टीमा एमालेसँग १ मत, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका एमालेसँग १५ मत र सोलुको महाकुलुङ गाउँपालिकामा माओवादीसँग २० मतले निर्वाचन हारेको छ ।
त्यसैगरी, माओवादीले ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा ३ मत र सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २० मतले निर्वाचन जितेको छ । उसले रामप्रसाद राई गाउँपालिका, भोजपुरमा ८ मत, मान्डवी गाउँपालिका, प्युठानमा १२ मत र त्रिवेणी गाउँपालिका, रोल्पामा २० मतले निर्वाचन हारेको छ ।
५० मतान्तरले जित-हार भएका स्थानीय तह
प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्रले अन्य कतिपय स्थानमा पनि ५० भन्दा कम अतान्तरले निर्वाचनमा जित-हार व्यहोरेका छन् । सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा एमाले उम्मेदवार २२ मतले विजयी भए । एमाले उम्मेदवार निमीदोर्जी शेर्पाले १४ सय २४ मत र कांग्रेसका चुङवा शेर्पाले १४ सय २ मत प्राप्त गर्नुभएको थियो ।
वैतडीको दशरथचन्द्र नगरपालिकामा ३१ मतान्तरले कांग्रेसका उम्मेदवार नरेन्द्रसिंह थापाले निर्वाचन जित्नुभयो । उहाँले ३७ सय ६२ र राप्रपा उम्मेदवार पुष्करराज जोशीले ३७ सय ३१ मत प्राप्त गर्नुभएको थियो । खोटाङको साकेला गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार अर्जुनकुमार खड्का ३५ मतले विजयी हुनुभयो । उहाँले एक हजार २० र कांग्रेसका उम्मेदवार इन्छुराम रानाले ९ सय ८५ मत प्राप्त गर्नुभएको थियो ।
भोजपुरको भोजपुर नगरपालिकामा कांग्रेस उम्मेदवार कैलाशकुमार आले ३६ मतले विजयी हुनुभयो । उहाँले ४ हजार ७० मत ल्याउनुभयो भने एमाले उम्मेदवार गणेशकुमार श्रेष्ठले ४ हजार ३४ मत ल्याउनुभएको थियो । वैतडीकै शिवनाथ गाउँपालिकामा पनि कडा टक्करबीच चुनावी नतिजा सार्वजनिक भयो । कांग्रेस उम्मेदवार करुण साउदले २३ सय ५१ मत ल्याउनुभयो भने एमाले उम्मेदवार भरत मदै २३ सय १४ मत ल्याउँदै ३७ मतले पराजित हुनुभयो ।
बाजुराको बडिमालिका नगरपालिकामा कांग्रेसले ३८ मतले निर्वाचन जित्यो । कांग्रेस उम्मेदवार पदम बडुवालले २९४० मत ल्याएर एमालेका गगन रावललाई पराजित गर्नुभयो । रावलले २९०२ मत ल्याउनुभएको थियो ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा एमाले उम्मेदवार डुफुकुमार बास्तोलाले कांग्रेस उम्मेदवार धनराज राईलाई ४२ मतले पराजित गर्नुभयो । बास्तोलाले १६९८ र राईले १६५६ मत प्राप्त गर्नुभएको थियो । इलामको माई नगरपालिकामा एमालेले ५२ मतले निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न सफल भयो ।एमाले उम्मेदवार दीपककुमार थेवेले ६ हजार ४८ र कांग्रेस उम्मेदवार विष्णुमाया आचार्यले ५९ सय ९६ मत प्राप्त गर्नुभएको थियो ।
यसअघि ३१ वैशाखमा भएको प्रदेश नम्बर ३, ४ र ६ को निर्वाचनमा पनि कतिपय स्थानमा झिनो मतान्तरले जित-हार भएको थियो । त्यसवेला डोल्पाको मुडेचुला गाउँपालिकामा माओवादीले एमालेलाई दुई मतान्तरले पराजित गर्दै जितेको थियो ।माओवादी उम्मेदवार दत्तबहादुर शाही ९३३ मत ल्याएर विजयी बन्नुभएको थियो भने एमालेका उम्मेदवारले ९३१ मत प्राप्त गरेका थिए ।
त्यस्तै, पहिलो चरणकै निर्वाचनमा जुम्लाको हिमा गाउँपालिकामा पनि माओवादीले झिनो मतान्तरले जित हासिल गरेको थियो । माओवादीका उम्मेदवार रजबहादुर शाहीले तीन मतले मात्र जित्नुभयो । उहाँले १३१७ मत प्राप्त गर्नुभएको थियो । शाहीले एमाले उम्मेदवार भैरवबहादुर रोकायलाई पराजित गर्नुभएको हो ।
नवलपरासीको वुङडीकालिकामा कांग्रेस उम्मेदवार दुर्गाबहादुर रानाले ९२ मतले जित्नुभएको थियो । उहाँले एमाले उम्मेदवार श्याम श्रेष्ठलाई हराउनुभएको हो । त्यस्तै, नवलपरासीकै देवचुली नगरपालिकामा कांग्रेसले ६९ मतले जितेको थियो । कांग्रेस उम्मेदवार पूर्णकुमार श्रेष्ठले एमालेका हरि न्यौपानेलाई पराजित गर्नुभएको हो ।स्याङ्जाको अर्जुनपौचारीमा कांग्रेसका दीर्घनारायण अर्यालले एमाले उम्मेदवार मोहन केसीलाई ७८ मतले पराजित गर्नुभएको थियो ।