मुग्लिन–नारायणगढ सडक विस्तार ५० प्रतिशत पूरा
काठमाडौं: मुग्लिन-नारायगढ सडकखण्डको सडक विस्तार ५० प्रतिशत पूरा भएको छ । निर्धारित समयभन्दा केही ढिलो भए पनि छिट्टै प्रगति गर्न सकिने ठाउँमा कामको गति बढेकाले निर्धारित सयम यही सन् २०१७ को डिसेम्बरसम्म सकिने जानकारी सडक विभागले दिएको छ ।
हाल तीनखण्डमा तीनवटा ठेकेदार कम्पनीले काम गरिरहेका छन् । विश्व बैंकको ऋण सहयोगमा विस्तार भइरहेका यो सडकखण्ड छिटो र समयमा सक्न तीनवटा ठेकेदार कम्पनीमार्फत काम भएको छ ।
यो सडक विस्तारमा एउटाले १२ किमिको जिम्मा पाएको छ भने दुईवटा कम्पनीले साढे १० किमिका दरले २१ किमि सडक विस्तारको जिम्मा पाएका छन् । यो सडक विस्तारका लागि बीएलए एससीसी नामक कम्पनीले हालसम्म २१ करोड ८१ लाख रुपैयाँ खर्चिएर ५० प्रतिशत काम सम्पन्न गरेको छ । उडहिल लामा कम्पनीले ४२ करोड ७५ लाख खर्च गरेर ५६ प्रतिशतकै काम गरको छ भने सुप्रिम राउताहाले नामक कम्पनीले ३६ करोड एक लाख खर्चेर ४७ प्रतिशत काम सम्पन्न गरेको विभागले जानकारी दिएको छ ।
अब दिउँसो सडक बन्द नहुने
यो सडकमा राति सवारी चलाउन रोक लाग्ने भएको छ । संसद्को विकास समितिले वर्षात्को समयावधिभर अर्थात् आगामी डेढ महिनासम्म रातको समयमा सवारी आवागमनमा निषेध गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागसहितको सम्बन्धित निकायलाई निर्देशन दिएको छ । राति ७ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने र त्यो समयमा निर्माणको काम हुने भएकाले सम्भवत अब दिउँसो सडक बन्द नहुने जानकारी सडक विभागका महानिर्देशक गोपाल सिग्देलले दिनुभयो । उहाँका अनुसार पहिरो आएको अवस्थामा मात्रै अब दिउँसो सडक बन्द हुन्छ ।
दिउँसोका तुलनामा बढी जोखिम हुने, जनधनको क्षति पनि रातकै समयमा बढी हुनसक्ने भन्दै विकास समितिले यस्तो निर्देशन दिएको हो । समितिका सभापति रवीन्द्र अधिकारीले उक्त सड खण्डमा थप सडक सुरक्षाको प्रवद्र्धन गर्न, रातिको समयमा सवारी आवागमनलाई निषेध गर्न, वैकल्पिक मार्गको प्रयोग गर्न निर्देशन दिएको बताउनुभयो । उहाँका अनुसार सम्भव भएसम्म रातकै समयमा यो सडक विस्तारको कार्य गर्न पनि निर्देशन दिइएको छ । यो स्थानमा रहेका जोखिमयुक्त वस्तिलाई स्थानान्तरण गर्न तत्काल वैकल्पिक व्यवस्थापन गर्न समितिले निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।
मुग्लिन–नारायणगढ सडकखण्डमा सम्झौताअनुसार सन् २०१७ को अप्रिल महिनाभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण भैसक्नुपर्ने थियो । यो सडक निर्माणगर्दा पहिलो दुई महिना प्रक्रियामै अल्झिएको र नौ महिनासम्म निर्माण सामग्रीको अभावले सडक विस्तारको काम ढिलो भएको उल्लेख छ । यो सडकले हालसम्म ६७ प्रतिशत प्रगति गर्नुपर्ने भए पनि ५० प्रतिशत मात्रै रहेको सडक विभागका महानिर्देशक सिग्देलले जानकारी दिनुभयो । सरकारले ठेकेदार कम्पनीलाई समय थप गरेर यही सन् २०१७ भित्रै सडक विस्तार सक्न निर्देशन दिएको पनि छ ।
यो सडकको स्तरोन्नतिको क्रममा बन्ने पुलको टेन्डरलगायत प्रक्रिय तत्काल अगाडि बढाउन पनि समितिले निर्देशन दिएको छ । यस सडकखण्डमा सडक विस्तार गर्ने कार्यका लागि आवश्यक पर्ने डाइभर्सनलाई चाहिने बेलिब्रिजको समयमा नै व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको छ ।
उपत्यकाको सडक तीन महिनाभित्रै कालोपत्रे गर्न पनि समितिले निर्देशन दिएको छ । समितिले आगामी तीन महिनाभित्रैकै सयम दिएर उपत्यका भित्रका मेलमम्ची खानेपानी आयोजनाको लागि खानेपानीको पाइप विछ्याउँदा भत्काएका सडक सबै कालोपत्रे गर्न निर्देशन दिएको हो । उपत्यकाकाका अधिकांश सडक दुरावस्थामा पुगेकाले पनि यस्तो निर्देशन दिएको समितिको भनाइ छ ।
उपत्यका भित्र १५ सय ९४ किमि सडक छ । यी सडकमध्ये ६० प्रतिशत महानगरपालिका र उपत्यका विकास प्राधिकरण तथा सहरी मन्त्रालय अन्तर्गतका निकायबाट सञ्चालित भने भने सडक विभागको जिम्मेवारी भने ४० प्रतिशत मात्रै रहेको उल्लेख छ । यी सडकमा दैनिक नौ लाख ६३ हजार पाँच सय सवारीसाधन दौडने गरेको पनि उल्लेख छ । मेलम्ची खानेपानी आयोजनाले यो सडक मर्मत तथा कालोपत्रे गर्न यसअघि नै डेढ अर्ब रुपैयाँको लागतअनुमान तयार पारेर आवश्यक रकम विनियोजन गरेको उल्लेख छ ।
सडक पूर्वअवस्थाकै बनाउन र अव्यवस्थित तारलाई पनि तीन महिनाभित्रै अन्डरग्राउन्ड गर्न समितिले निर्देशन दिएको छ । हाल सडक विभागले देशभर २२ अर्ब रुपैयाँ खर्चिएर सडक विस्तार र मर्मतको काम गरिरहेको छ । यसमध्ये १० अर्ब निकासा भैसकेको र बाँकी १२ अर्ब काम सकिएसँगैको भुक्तानीमा निकासा हुने विभागको भनाइ छ । सडकका लागि नै सरकारले आगामी आवका लागि ८९ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ ।
३९ वटा मुद्दामै अल्झियो त्रिपुरेश्वर नागढुंगा विस्तार
१२ किमिको दूरीमा रहको त्रिपुरेश्वर नागढुंगा सडक विस्तारका क्रममा यो सडकमा ३९ वटा अदालती मुद्दामा अल्झिएको छ । यो सडकखण्ड विस्तारका लागि घर जग्गाको मुआब्जामा समस्या, मापदण्डअनुसार नगर विकासमा समस्या, विभिन्न समयमा भएका ३९ वटा अदालतको आदेशले पनि काम गर्न ढिलाइ भएको उल्लेख छ ।
अदालतको आदेशले अवरुद्ध भएका सडकलाई अदालतको आदेशको उच्च सम्मान गर्दै पीडितलाई कानुन बमोजिम उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि निर्देशन दिएको छ । पीडित भएका स्थानीयलाई उचित क्षतिपूर्ति दिन समितिले निर्देशन दिएको छ । त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकखण्डमा सवारीचाप दैनिक बढिरहेको छ ।