डिस होमले सेयर जारी गर्ने
काठमाडौं: डिस मिडिया नेटवर्कअन्तर्गतको डिस होम टीभीले प्राथमिक सेयर जारी गर्ने भएको छ । डिसहोम प्राइभेट लिमिटेबाट सोमबारदेखि लिमिटेड कम्पनीमा परिणत भएको यो कम्पनीले आगामी एक वर्षभित्रै सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको हो । यो कम्पनीले आगामी पुसदेखि नै सर्वसाधारणका लागि सेयर जारी गर्ने गरी तयारी गरिरहेको छ । यो समयमा नभ्याइए एक वर्षभन्दा पर नजाने डिस होमको बुझाइ छ ।
प्राविधिक रूपमा डिस होम तयार रहेकाले आवश्यक प्रक्रियामा लाग्ने समय जति छिटो हुन्छ उति नै चाँडो सर्वसाधारणले डिसहोमको सेयर पाउने उल्लेख छ । यसले ६ महिनादेखि बढीमा एक वर्षभित्रै सेयर जारी गरिसक्ने गरी आन्तरिक गृहकार्य भइरहेको डिस होमका महाप्रबन्धक कल्याण अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कति प्रतिशत सेयर जारी गर्ने र कहिलेसम्मको योजना ल्याउने भन्ने विषयमा एक साताभित्रै सञ्चालक समितिको बैठक बसेर मात्रै तय गर्नेछ । दुई अर्ब चुक्ता पुँजी रहेको यो कम्पनीले कम्तीमा १० प्रतिशतको सेयर जारी गर्ने उल्लेख छ । यो कम्पनीले वार्षिक चार अर्बको कारोबार गरिरहेको छ । गत वर्ष करिब २२ करोड रुपैयाँ नाफा गरेको यो कम्पनीले चालू आवमा भने उक्त नाफालाई बढाएर ८० देखि ८५ करोड पु¥याउने अनुमान गरेको छ ।
यो कम्पनीमा आईएमई समूह, प्रभु समूह, ताइवानी कम्पनी स्यान मार्टिन होल्डिङ, कामना विकास बैंको सीईओ सुदीप आचार्यसहतिको लगानी रहेको पनि उल्लेख छ । नेपालमा सञ्चालित होब्रोडकास्टिङ मिडियामै डिस होम सेयर जारी गर्ने पहिलो कम्पनी हुने पनि उल्लेख छ । यसले ग्राहकको विश्वास अझ बढाउन र आमसर्वसाधारणले तिरेको पैसाबाट चल्ने भएकाले पनि सर्वसाधारणलाई आफ्नै अनुभूति गराउन पनि सेयर जारी गर्न लागेको हो ।
यो कम्पनीको हालको चुक्ता पुँजी दुई अर्बको छ । यसले यो पुँजीको कम्तीमा १० प्रतिशत र बढीमा ३० प्रतिशत सेयर जारी गर्ने तयारी गरेको भए पनि औपचारिक रूपमा कति प्रतिशतको भन्ने निर्णय भने यसको सञ्चालक समितिले गर्नेछ । यसले कम्तीमा १० प्रतिशतको सेयर जारी गरेको अवस्थामा पनि बजारमा कम्तीमा २० करोड रुपैयाँको सेयर आउने उल्लेख छ । नेपालको हरेक कुनामा यसको सेवा दिन पुगेको छ भने बजार हिस्सा नै करिब ३५ प्रतिशत रहेको दाबी डिस होमको छ ।
सन् २००९ मा सरकारबाट लाइसेन्स पाएको यो कम्पनीले औपचारिक सुरुवात भने सन् २०१० बाट मात्रै गरेको हो । ६ वर्षमै ग्राहकको विश्वास जित्न सकेकोले पनि अब साधारण सेयर जारी गर्न लागिएको डिस होमले जानकारी दिएको छ । स्याटेलाइटका माध्यमबाट आफ्नै आधा दर्जन च्यानलसहित करिब दुई सय च्यानलको सेवा यसले दिएको छ । डाइरेक्ट टु होम (डीटीएच) प्रणाालीमार्फत यसका सेवा नेपालभर पुगेको छ ।
डिस होमका आफ्नै मनोरञ्जनात्मक च्यानल छन् भने आमग्राहकको विश्वास जित्न यसले थप च्यानलको पनि तयारी गरिरहेको छ । यसले मल्टिपल टीभी नेटवर्कमार्फत मुभी, स्पोर्ट, इन्टरटेनमेन्ट, म्युजिकसहितका च्यानल दिने भएको छ । मुलुकभरको अनुमानित ७० लाखको टीभी बजारमध्ये डिस होम आफ्नो बजार हिस्सा अग्रणी स्थानमा राख्न सफल भएको छ । यो कम्पनीले सरकारलाई तिर्ने वार्षिक राजस्व नै करिब २५ करोड रुपैयाँ रहेको दाबी डिस होमको छ ।
प्राविधिक रूपमा आफ्नै इक्युपमेन्ट राखेर पनि विभिन्न च्यानल सञ्चालन गरिरहेको यो कम्पनीले च्यानल थप गरेसँगै रोजगारी पनि बढाउने भएको छ । प्रसारण मिडियामा आफ्नै पूर्वाधार बनाएर अगाडि बढेको यो कम्पनीको दीर्घकालीन योजना नाफामुखीभन्दा पनि सेवामुखी भएर निरन्तर व्यापार नै भएको उल्लेख छ ।