अदूरदर्शी राजनीतिको आर्थिक प्रभाव

अदूरदर्शी राजनीतिको आर्थिक प्रभाव

नेपालको परिवर्तित परिवेशले राजनीतिक क्षेत्रमा उत्साह र उमंग जगाएको भए पनि आर्थिक, सामाजिक र आदर्शकेन्द्रित मनोवैज्ञानिक क्षेत्रलाई भने विचलित र कमजोर बनाउँदै लगेको छ । किनकि परिवर्तनसँगै स्थायित्वमा विघ्नवाधा निरन्तर देखिरहनु, जनताको मनोविज्ञानमा निरन्तर प्रहार भइरहनु, देशको आर्थिक अवस्था डामाडोल हुँदै जानु र सामाजिक सोचमा दूरदर्शिताको अभाव प्रशस्त देखिनु नै मूल कारण हो ।

लोकतान्त्रिक संविधान आयो । संविधान कार्यान्वयन पक्षको महत्वपूर्ण भाग स्थानीय तहको चुनाव करिब-करिब सम्पन्न भए पनि स्थायित्वको आशाभित्र केही घाउ भने निको भइराखेको अवस्था छैन । जनतामा चुनावी वातावरणको उत्साह देखिए पनि मनोवैज्ञानिक निराशार वितृष्णा भने यथावत् नै छ । दुई नम्बर प्रदेशको चुनाव हुन बाँकी नै छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको अत्तोपत्तो छैन । यसरी राजनीतिले नेपाललाई विभिन्न समयमा झुक्याउँदै, फड्को मार्दै र ठग्दै आएको छ ।

नेपालको अर्थतन्त्रको विकास र विस्तार कछुवाको गतिमा अगाडि बढिरहेको छ । जनचाहना भने वायुपंखी घोडा झैं हिँडोस् भन्ने छ । राजनीतिक उतारचढावले नै देशको अर्थतन्त्रलाई ह्रासोन्मुख बनाउँदै लगेको कारण विकासको गति पनि मन्द भएको हो । देशको योजना गत विकासको क्रम हेर्दा माकुराको जालोजस्तो छ । माकुरोले जालो आफंै बनाउँछ र आखिरमा त्यही जालोलाई कि त उसले आफैं खान्छ कि त त्यही जालोको भुमरीमा परी मर्छ । देशको आर्थिक वृद्धिदर पँधेर्नीहरूले गर्ने गरेको क्षणिक मीठो गफजस्तो छ । आर्थिक वृद्धिदरको सन्दर्भमा अर्थशास्त्रीहरूको मननयोग्य चिन्तनलाई राज्यले बेवास्ता गरिरहेको देखिन्छ । नेताहरू आर्थिक वृद्धिदर बढेको होहल्ला गर्दै हिँड्छन् ।

विकासको गति अगाडि बढेजस्तो देखाउन गाउँगाउँमा जथाभावी ताइ न तुइका बाटा खनेर दुर्घटनाको थलो बनाइदिएको छ । यही कारणले प्रत्येक वर्ष कैयन् मानिसहरू दुर्घटनामा परि मर्ने गर्छन् । विकासले फड्को मारेको सूचनाले पत्रिकाका पन्ना भरिने गरिन्छ । केही आधिकारिक वर्गहरू सरकारको ढुकुटी खेलाउनेहरूको गुणगान गाउन व्यस्त छन् । जनता सोझा भनूँ या बाँगा भनूँ सुधार र परिवर्तनको सपना बुनेर लुटतन्त्र, छुटतन्त्र र फुटतन्त्रलाई सघाउने काम गरिराखेका छन् ।

परिवर्तन चाहने, तर त्यही परिवर्तनले ल्याएको उपलब्धिमा झमेला खडा गर्नु कुनै व्यक्ति, संस्था वा पार्टीहरूको बुद्धिमानी कार्य होइन । परिवर्तनलाई आत्मसात् गरी मेलमिलाप र सहकार्यबाट अगाडि बढ्नुको अर्को विकल्प छँदा पनि छैन ।

सरकारी तवरमा जनताले काम गर्नुपर्दा कति दुःख, अप्ठ्यारो र वाधाहरूलाई खेप्नु परिराख्या हुन्छ, त्यसमा कसैको चासो छैन । चुनावको समयमा नेताहरू जीवन नै दिन लाग्या जस्तो त्यागका कुरा गरेर भाषणबाजी गरिराखेका हुन्छन् । सहर पसेपछि कुन दुलामा छन्, जनताले खोज्दा पनि पाउन सक्दैनन् । के यही हो त लोकतन्त्रको आवाज ? अर्थतन्त्रको विकास, विस्तार र अभिवृद्धिको लागि जनताले परिवर्तन खोजेको हो । मूल कुरा परिवर्तनले खोजेको विषय अर्थतन्त्रको विकास नै हो । तर त्यस दिशातर्फ उन्मुख हुने खालको दूरदर्शी बृहत्तर चिन्तनको अभावै देखिन्छ । यसको अर्थ जसले जतिसुकै खोके पनि नेपालको अर्थतन्त्र मुस्किलले चलिरहेको छ ।

अर्थतन्त्र बलियो भएको भए महाभूकम्पले विध्वंस पारेको धर्म र संस्कृतिका महत्वपूर्ण सम्पदाहरूमा घाँस उम्रिएर बिजोग देख्नुपर्ने अवस्था आउने थिएन होला । अर्थतन्त्रले फड्को मारेको भए भूकम्पमा ध्वस्त भएका जनताका घरहरू बनिसक्थे होलान् । नेपालको अर्थतन्त्रले फड्को मार्न नसक्नुको धेरै कारणमध्ये पहिलो कारण त राजनीतिक अस्थिरता हो भने दोस्रो भौगोलिक विविधता, गरिबी र अशिक्षा हो ।

देशमा विभिन्नखाले राजनीतिक परिर्वतन आयो, तर राजनीतिक दल वा नेताहरूमा दूरदर्शिताको अभाव र राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्तिको बाटो तय गर्न नसक्नु नै मुख्य समस्याको रूपमा देखिएको छ । देशमा योजनागत विकासको अवधारणा भए पनि कार्यान्वयन पक्षमा ज्यादै फितलोपन भएको कारणले पनि अर्थतन्त्रको विकासमा विभिन्न तगाराहरू देखिन पुगे । देशको सबलता राजनीतिक स्थिरता र तीव्र आर्थिक उन्नतिको बाटोले देखाउने भएकाले नेपालको सन्दर्भमा यी दुवै पक्ष सदियौंदेखि कमजोर बन्दै आएको छ ।

हाम्रा अगाडि अनेकौं चुनौतीहरू भए पनि राजनीतिक परिवर्तनको साथै आर्थिक विकासको एजेन्डा तीव्र गतिमा अगाडि बढ्नुपर्ने थियो । आर्थिक उन्नतिले नै राजनीतिलाई स्थायित्व दिन्छ । नेपालको राजनीतिक नेतृत्वले दिगो आर्थिक क्रान्तिको मार्ग पहिल्याउन नसक्नाले पनि अस्थिरता कायम रहन मद्दत पुग्यो । राजनीतिक स्थिरता र आर्थिक विकास एकअर्काका पूरक भएकाले परस्पर तालमेल हुनैपर्छ ।

नेपालले अब राजनीतिक चिन्तनको विषयलाई धेरै महत्व दिनुपर्ने जरुरी छैन । किनकि परिवर्तनको बाटो देखाउने संविधान बनिसक्यो । त्यही संविधानले राजनीतिको सही मार्ग देखाउँदै जानेछ । फेरि पनि नेपाली जनता राजनीतिकै भुमरीमा घुमिरहने हो भने नेपाल भन्ने देश हजारौं वर्ष पछि पर्दै जानेछ । यसलाई राजनीतिक पार्टी तथा जनताले गम्भीर भएर सोचौं, विचार गरौं र दृढताका साथ अघि बढौं । यसैमा सबैको भलो छ ।
कमजोर मनस्थिति र विचार बोकेर महान् विषय पाउन सकिन्न । कर्तव्यलाई भुलेर खालि अधिकारको मात्र रटान रट्ने राजनीतिले संसारलाई अशान्तिको मार्गतर्फ मात्र धकेल्छ । हाम्रो हिमालयले हामीलाई शान्तिको पथ देखाइरहेछ, धर्म र संस्कृतिले विश्वबान्धत्व र सहिष्णुताको भावना जगाइरहेछ, हाम्रा युवाहरूले विश्वलाई कर्मको आधारलाई मजबुत गराइराखेका छन्, नदीनालाले प्राणी मात्रको प्यास बुझाउने र अन्धकारलाई उज्यालोतिर परिणत हुने संकेत गरिराखेका छन् । यस्तो महान् सम्पदा र आदर्श भरिएको देशमा निरन्तर राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा उतार-चढाव भइरहनु लाजमर्दो विषय हुन जान्छ ।

त्यसैले वैचारिक कमीकमजोरी त्यागेर उच्चतम् चेतनालाई पक्डिनु नै नेपाल र नेपालीहरूको कल्याणको मार्ग हो । संविधानलाई समयअनुरूप परिवर्तन गर्दै लग्ने हो । परिवर्तन चाहने, तर त्यही परिवर्तनले ल्याएको उपलब्धिमा झमेला खडा गर्नु कुनै व्यक्ति, संस्था वा पार्टीहरूको बुद्धिमानी कार्य होइन । परिवर्तनलाई आत्मसात् गरी मेलमिलाप र सहकार्यबाट अगाडि बढ्नुको अर्को विकल्प छँदा पनि छैन । बाहिर त परिवर्तन आयो । अब हामीले भित्री रूपबाट आफ्नो संस्कार, भावना र विचार पनि परिवर्तन गर्नुपर्ने अपरिहार्यता देखिन्छ।

पुरानो सोच, पूर्वाग्रही विचार, पुरानो व्यावसायिकता एवं पुरानै ढंगको कार्य प्रणाली त्यागेर नवीन अवस्था स्विकार्नुपछ । कर्तव्य बिर्सेर अधिकारको मात्र खोज गर्नु बुद्धिमानी हुँदैन । विकासको सन्दर्भमा हामी अरू देशहरूको तुलना गर्छौं । तर विचारको सन्दर्भमा हामीले अरूको देशका मनुष्यसँग किन तुलना नगर्ने । विचारमा किन हामी अरू देशका मानिसभन्दा कमजोर सम्झने ? हामीले संयमता, समझदारी र इमानदारी पक्डने हो भने संसारले हाम्रो विचारको अनुसरण गर्नेछन् । त्यसैले न्यून विचारलाई एकातिर पन्छाएर महान् विचारको पछि हिँडौं, यसबाटै नेपाल संसारको सबैभन्दा धनी मुलुक बन्नेछ । अतिवाद, मिथ्यावाद र हीनतावादलाई अँगालो हालेर हामी विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने छैनौं । त्यसैले यस्ता न्यून विचारदेखि माथि उठौं र अघि बढौं । यसैमा राजनीतिक चेतनाको विकास, आर्थिक उन्नति, मानवता र मनुष्यताको कल्याण छिपेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.