विराटनगरमा कांग्रेसको विद्रोही प्यानल विजयी
विराटनगर : विराटनगर महानगरपालिकाको वडा नं. १९ मा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको छ । पार्टीले टिकट नदिएपछि प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएको नेपाली काँग्रेसको बागी टीमले विजयी हात पारेको हो ।
वडा अध्यक्षदेखि सबै पदमा बागी प्यानल विजयी भएको हो । वडाअध्यक्षमा बद्रीनारायण सरदार, महिला सदस्यमा सम्झना भूजेल, दलित महिला सदस्यमा बिना सरदार, दुई खुल्ला सदस्यमा जितेन्द्र खवास र नागेश्वर राजवंशी विजयी हुनुभएको छ ।
वडाअध्यक्षमा विजयी सरदारले ६४२ मत पाउनुभएको छ भने उहाँका प्रतिष्पर्धी एमालेका श्याम घिमिरेले ६२१ मत प्राप्त गर्नुभयो ।
स्वतन्त्र प्यालनबाट विजयी महिला सदस्य भूजेलले भन्नुभयो, ‘हामीले समाजमा गरेको योगदानको परिणाम हो, प्यानल नै विजयी भएको ।’ उहाँले चुनाव प्रचारदेखि अन्य कार्यक्रममा समेत आफुहरुले समूहमै काम गरेको जानकारी दिनुभयो ।
काँग्रेसबाट वडाअध्यक्षमा उदय राजवंशीले उम्मेदवारी दिनुभएको थियो । राजवंशीले ४४२ मत प्राप्त गर्नुभयो । उहाँ एकसय मतले पराजित हुनुभयो ।