नेपालसँग रगतको नाता छ

नेपालसँग रगतको नाता छ

काठमाडौं : नेपालीलाई कसैले छिसिक्क केही भन्ने हुन्न, उनको मन कटकटी खान्छ । चसक्क दुख्छ । सहनै गाह्रो हुन्छ । पलेँटी कार्यक्रमका लागि शान्ति ठटालसँग नेपाल आउँदा दार्जिलिङे गायिका सोनु राईले घरदेखि टाढा पुगेको पटक्कै महसुस गरिनन् । यस्तो कार्यक्रममा सहभागी हुन सोनु पहिलोपटक काठमाडौं आएकी हुन् ।

यहाँका श्रोतासामु प्रस्तुत हुन पाउँदा र उनीहरूबाट पाएको प्रतिक्रियाले उनको मनमा अपनत्वको न्यानो झन् थपिएको छ । 'यहाँ आउँदा सबैले मलाई बुझ्छन्, मैले सबैलाई बुझ्न सकेकी छु', उनले भनिन्, 'अरू ठाउँमा कार्यक्रम गर्दा भाषाको समस्या हुन्थ्यो, खानाको समस्या हुन्थ्यो । यहाँ हुँदा घर बिर्सिएकी छु ।' यो अपनत्व गहिरो सम्बन्धले दिलाउँछ । जुन नाता रगतको हुन्छ भन्छिन्, 'दार्जिलिङ नेपालभन्दा भिन्न होइन, एउटै परिवारको अलग घरमा बसेका मात्र हौं ।' यतिसम्म कि भारत र नेपालको खेलमा पनि उनी नेपालको जितमा रमाउँछिन् ।

यतिबेला दार्जिलिङमा भाषा आन्दोलन चलिरहेको छ । आफ्नो भाषा र माटोको लागि उनीहरू लडिरहेका छन् । जसमा नेपालको बलियो साथ पाएको महसुस उनले गरेकी छन् । भन्छिन्, 'केही खेलाडीले खेल खेलिराछन्, हाम्रो परिवार अलग गराउने षड्यन्त्र भइरहेको छ ।' नेपालभाषी र नेपाली भएकोमा गर्व गर्छिन् उनी । नेपाली नै भएर बाँच्न चाहन्छिन् । नेपाली भाषाप्रति बोलिरहँदा उनको अनुहारमा गहिरो मोह देखिएको थियो । सकेसम्म शुद्ध नेपाली बोल्ने कोसिस गर्छिन् । कसैले यसलाई नबिगारिदिए हुन्थ्यो जस्तो लाग्छ उनलाई । अरूसँग सकेसम्म नेपालीमा मात्रै कुरा गर्छिन् । भारतका अन्य राज्यमा कार्यक्रम गर्न जाँदा आफ्नो भाषा सुन्नका लागि तड्पिरहन्छिन् उनी ।

सोनुले बंगाली, हिन्दी, आसामी, भुटानी, नेपालीलगायतका भाषामा गीत गाएकी छन् । उनको सांगीतिक यात्रा नेपालबाटै सुरु भएको थियो । सन् १९९६ मा चन्द्रमित सक्षमको शब्द र वसन्त क्षेत्रीको संगीतमा 'फिलिङ्स' एल्बमको लागि 'भन्दैमा हुने भए' बोलको गीत गाएकी थिइन् । पहिलो पटक काठमाडौं आएर अम्बर गुरुङको स्टुडियोमा गीत रेकर्ड गरिन् । त्यसपछिको संगीतयात्रामा उनले निरन्तर वसन्त क्षेत्रीको प्रेरणा पाइरहेकी छन्।

सोनु नेपाली संगीतका लागि धेरै योगदान गर्न चाहन्छिन् । नेपालमा नचिनिएसम्म उनलाई पूर्ण भएको महसुस हुँदैन । दार्जिलिङ र नेपाल एकअर्काको समपूरक हुन् । तर यी दुवै भेगका कलाकार एकआपसमा परिचित छैनन् । भन्छिन्, 'सलमान खानलाई दार्जिलिङेले पनि चिन्छ, नेपालीले पनि चिन्छ, तर आफूआफू भने चिन्दैनौं ।' अहिले सामाजिक सञ्जालले गर्दा अलि सजिलो भएको छ । दार्जिलिङबाट बसाइँ सरेर नेपाली संगीत, साहित्यलाई योगदान गर्ने कलाकारहरू थुप्रै छन् । उनलाई पनि बेलाबेलामा साथीहरूले नेपालमा गएरै करियर बनाउने सल्लाह दिन्छन् । एकोहोरो संगीतमा लागेर बाँच्ने अवस्था छैन । उनी दार्जिलिङको संस्कृति विभागमा जागिर खान्छिन् ।

सोनु भन्छिन्, 'संगीतमा योगदान गर्न ठाउँ नै छोडेर आउनु पर्दैन, यहाँका संगीतकारहरूसँग निरन्तर सम्पर्कमा छु ।' फेसबुकमार्फत भेट्ने इच्छा राख्ने थुप्रै नेपाली छन् । प्रेमप्रस्ताव पनि आइरहन्छन् । नेपालबाटै विवाह प्रस्ताव आयो भने ? भन्छिन्, 'त्यो भगवान्ले जुराएको हुन्छ, केही भन्न सक्दिनँ ।' दार्जिलिङ, आसाम, दिल्ली, कलकत्ता, सिक्किमलगायतका स्थानमा कार्यक्रम गरेकी सोनुले 'नर्थ बंगाल सिने अवार्ड बेस्ट प्ले ब्याक सिंगर २०१६' र दिल्ली, गुहाटी, सलुवा, नेपालको हेटौंडालगायतका स्थानबाट सम्मान तथा पुरस्कार पाएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.