छिमेकीसँग मतभेद समाधान गर्न कतार तयार
कतारका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुल्लाह रहिम थानीले छिमेकी मुलुकहरुसँगको मतभेद समाधानका लागि चालिने कुनै पनि कदमको स्वागत गर्न आफू तयार रहेको बताउनु भएको छ ।
कतारले वार्ताका लागि निरन्तर आब्हान गर्दै आएको स्मरण गराउँदै उहाँले आफनो सार्वभौमिकतामा आत्मसमर्पण भने नगर्ने प्रष्ट पार्नु भएको छ ।
‘हाम्रा छिमेकीहरुसँगको मतभेद समाधानका लागि चालिने कुनै पनि कदमलाई हामी स्वागत गर्छौ’ उहाँले भन्नुभयो ‘हामी हाम्रो मामिलामा हस्तक्षेप स्वीकार गर्दैनौ । हामी हाम्रो सार्वभौमिकतामा आत्मसमर्पण गर्न चाहदैनौ ।’
कतारले कुवेत मार्फत पठाएको जवाफको प्रतिउत्तर दिने तयारीमा रहेका साउदी नेतृत्वको खाडी मुलुकका विदेशमन्त्रीहरुको बैठक कायरोमा बसिरहेको वेला कतारमा विदेशमन्त्रीको त्यस्तो भनाई आएको हो ।
मुस्लिम ब्रदरहुडलाई सहयोग बन्द गर्नु पर्ने,अलजजिरा मिडिया नेटवर्क बन्द गर्नु पर्ने,इरानसँग कुटनीतिक सम्बन्ध राख्न नहुने र टर्किस सैन्य क्याम्प बन्द गर्नु पर्ने जस्ता शर्त साउदी नेतृत्वको समूहले कतार माथि राख्दै आएको छ । साउदी नेतृत्वको समूह राष्ट्रले करीव एक महिनादेखि नाकावन्दी लगाएपछि इरानले कतारलाई खाद्यान्न आपुर्ति गराउँदै आएको छ ।
इजिप्टले आयोजना गरेको साउदी अरव,यूएइ,बहराइन र इजिप्टका विदेशमन्त्रीहरुको बैठकले कतारले पठाएको जवाफको प्रतिउत्तर दिने रणनीति बनाइरहेको छ ।