अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टनको भव्य समापन
त्रिभुवन आर्मी क्लबकी नङ्सलदेवी तामाङलाई पुरस्कार प्रदान गर्दै अन्नपूर्ण मिडिया ग्रुपका निर्देशक सचन थापा ।
काठमाडौं : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण बुधबार भव्य समारोहबीच सम्पन्न भएको छ। हल्चोकस्थित एपीएफ क्लबको कभर्डहलमा बुधबार विभिन्न ६ स्पर्धाको फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न भएको हो।
असार १७ देखि सुरु भएको प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका र भुटानका स्तरीय खेलाडीले भाग लिएका थिए। प्रतियोगितामा छिमेकी देश भुटानबाट सात पुरुष र तीन महिला गरी १० खेलाडीले सहभागिता जनाएका थिए। यसैगरी पाकिस्तानबाट तीनजना राष्ट्रिय खेलाडीले भाग लिएका थिए। श्रीलंकाबाट एक पुरुष र एक महिला तथा भारतबाट दुई जना पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
स्वदेशी र विदेशी गरी कुल तीन सय २४ खेलाडीले पुरुष एकल खुला, महिला एकल खुला, पुरुष डबल्स खुला, कर्पोरेट डबल्स, पुरुष एक्जुकेटिभ एकल र एक्जुकेटिभ डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। पुरुष एकल खुला, महिला एकल खुला, पुरुष डबल्स खुला स्पर्धामा स्वदेशी र विदेशका उच्च स्तरका खेलाडीले भाग लिएका थिए।
अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा चौथोपटक अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो। यसअघि तीन संस्करण राष्ट्रिय स्तरको स्वरूपमा आयोजना गरिएको थियो। यस प्रतियोगितामा देशभरबाट छनोट भई आएका खेलाडीले समेत सहभागिता जनाएका थिए।
अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा यसअघि धनगढीमा वैशाख ९ देखि ११ सम्म, नेपालगन्ज र बुटवलमा वैशाख १७ देखि १९ सम्म, पोखरामा वैशाख २१ देखि २३ सम्म तथा इटहरीमा वैशाख २६ देखि २८ सम्म खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको थियो। क्षेत्रबाट छनोट भएका विजेता र उपविजेता खेलाडीले फाइनल चरणको यस प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला र पुरुष डबल्स खुला स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताअन्तर्गत कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडी र एक्जुकेटिभ डबल्समा म्यानेजरभन्दा मुनिका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रत्येक विधाका विजेताले दुई तोला, उपविजेताले एक तोला र तेस्रो हुने खेलाडीले आधा तोला सुन बराबरको नगद पुरस्कार हात पारे।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, नेपाली सेनाका उपरथी देवकुमार सुवेदी, सशस्त्र प्रहरीका एआईजी शैलेन्द्र खनाल, अन्नपूर्ण मिडिया नेटवर्कका निर्देशक सचन थापा, अन्नपूर्ण पोस्ट्का प्रमुख कार्यकारी अधिकृत सञ्जयचन्द्र बस्नेत, अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका प्रधान सम्पादक युवराज घिमिरे, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, शिखर इन्सुरेन्सका दीप पाण्डे लगायतले पुरस्कार प्रदान गरेका थिए।
पुरस्कार वितरण तथा समापन समारोहमा नेपाल ब्याडमिन्टन संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, अफिसियल तथा विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको समेत उल्लेख्य सहभागिता थियो। प्रतियोगिताको फाइनल खेलको प्रत्यक्ष प्रसारण एपी वान एचडी टेलिभिजनबाट गरिएको थियो।