जापान सरकारबाट चार एम्बुलेन्स सहयोग
काठमाडौं : जापान सरकारबाट सहयोग स्वरुप प्राप्त चारवटा एम्बुलेन्स काठमाडौंमा एक समारोहका बीच नेपाल रेडक्रस सोसाइटीलाई बुधबार हस्तान्तरण गरिएको छ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका महामहिम राजदूत मासासी ओगाआले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाको समुपस्थितिमा ती एम्बुलेन्सको साँचो नेपाल रेडक्रसका चारवटा जिल्ला शाखाका सभापतिलाई हस्तान्तरण गर्नुभएको हो।
एम्बुलेन्स प्राप्त गर्नेहरूमा रौतहट, धनकुटा, जाजरकोट र खोटाङ रेडक्रस रहेका छन्। ती हरेक एम्बुलेन्सको लागत नौ लाख ५६ हजार चार सय ३२ रहेको छ। यसअघि एम्बुलेन्स हस्तान्तरण कार्यक्रमको महामहिम राजदुत र अध्यक्षथापाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो।