सेञ्चुरी बैंक र सेती फाइनान्स गाभिँदै
काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेती फाइनान्स प्राप्तिका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ । बैंकले यसअघि इनोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गरिसकेको छ भने मिति २०७४ असार १८ गते बसेको विशेष साधारणसभाले सगरमाथा फाइनान्स लिमिटेडलाई प्राप्तिका लागि स्वीकृतिसमेत प्रदान गरेको बैंकले जनाएको छ ।
यस बैंकले यसअघि नै अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न सैद्धान्तिक सहमति प्राप्त गरिसकेको छ । यो प्राप्तिपश्चात सेञ्चुरी बैंकले आठ अर्बको पुँजीमा नपुग रकम चालू आवको मुनाफाबाट पूरा गर्ने जनाएको छ । यसैगरी सबै संस्था समाहित भएपश्चात बैंकको कुल शाखा कार्यालय करिब ९० वटा हुनेछन् ।
२०६७ फागुन २६ गते काठमाडौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१औं वाणिज्य बैंकको रूपमा बैंकिङ कारोबार सुरु गरेको यस बैंकले हालसम्म ५३ वटा शाखा, ३३ वटा एटीएम, १५ वटा शाखारहित बैंकिङ र पाँचवटा एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।