बुटवल उपमहानगरपालिकाको मोबाइल एप्स सार्वजनिक
बुटवल : मेयर निर्वाचित भएको एक दिन बित्न नपाउँदै बुटवलका मेयर शिवराज सुवेदीले नगरको मोवाइल एप्स शुभारम्भ गर्नुभएको छ । आफ्नो पद्भार ग्रहण गर्दै नगरका हरेक सूचनाहरु नगरबासीले घरबाटै पाउने सुविधासहितको एप्सको शुभारम्भ गर्नुभएको हो ।
त्यस्तै बुटवलका हरेक घरलाई म्याट्रिक सिस्टमबाट नम्बर प्रदान गर्ने निर्णय समेत भएको छ । एक वर्षभित्र बुटवलकै सबै घरले म्याट्रिक नम्बर पाउनेछन् ।
उपमेयर गोमादेवी आचार्यले पदभार ग्रहण गर्दै एक वर्षभित्र बुटवललाई लैगिंकमैत्री नगर घोषणा गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो ।
बुटवल उपमहानगरपालिकमा नवनिर्वाचित जनप्रतिधिको सपथ तथा पदस्थापन भएको हो । आज विहान एक कार्यक्रमकाबीच निर्वाचन अधिकृत भरतमणि पाण्डेले मेयर शिवराज सुवेदी, उपमेयर गोमादेवी आचार्य वडाध्यक्षलाई शपथ गराउनुभयो । वडा सदस्यलाई नवनिर्वाचित मेयर शिवराज सुवेदीले शपथ खुवाउनुभयो ।
पदस्थापन कार्यक्रममा नवनिर्वाचित मेयर सुवेदीले समृद्ध बुटवलको सपना साकार पार्न सबैको सहयोग र सहकार्यमा अघि बढ्ने बताउनुभयो । चुनावी मैदानमा हारजित भए पनि बुटवलको विकासका लागि एकै कित्तामा उभिन जरुरी रहेको भन्दै उहाँले सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा सांसद विष्णु पौडेल, प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, मेयरमा पराजित नेपाली कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा पराजित माओवादी केन्द्रका उपमेयर उम्मेदवार जगतबहादुर पोख्रेलले नवनिर्वाचित मेयर उपमेयर तथा जनप्रतिनिधिलाई बधाई दिँदै नेतृत्व लिएर अगाडि बढे आफूहरुको सदैव सहयोग रहने बताउनुभयो ।
सपथसंगै आजै कार्यभार सम्हाल्नुभयो । हिजो सकिएको मतगणनामा एमालेका उम्मेदवार मेयर उपमेयरमा विजयी हुनुभएको थियो । एमालेले १६ वडाध्यक्ष र कांग्रेसले तीन वडाध्यक्षमा जित हासिल गरेको छ ।