पूर्वीपहाडमा पछारियो संघीय समाजवादी फोरम

पूर्वीपहाडमा पछारियो संघीय समाजवादी फोरम

विराटनगर : संघीय समाजवादी फोरम, नेपालका वरिष्ठ नेता अशोक राईको गृहनगर चौदण्डीगढी नगरपालिका हो। स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा राईको गृहनगरमा मेयर र उपमेयरमा पार्टीले उम्मेदवार खडा गर्‍यो। तर, निर्वाचन परिणाम आउँदा उनीहरू पराजयमात्र भएनन्, चौथो स्थानमा चित्त बुझाउनुपर्‍यो। कांग्रेसले मेयर र उमेयर जित्यो। समाजवादी फोरम, एमाले र माओवादी केन्द्रभन्दा पनि पछि पर्‍यो।

समाजवादीका मेयरका उम्मेदवार कुमारचन्द्र राईले १ हजार २ सय १५ र उपमेयरमा अञ्जना राईले ९ सय ९७ मत मात्र प्राप्त गर्नुभयो। कांग्रेसबाट मेयरका उम्मेदवार खगेन्द्र राईले ६ हजार ८ सय ७० मत प्राप्त गर्नुभयो। उपमेयरमा रीताकुमार चौधरीले ७ हजार ६ सय ६६ मतल ल्याएर जित्नुभयो। राईको गृहनगरमा मात्रै नभएर उदयपुरका आठ स्थानीय तहमध्ये धेरैमा समाजवादीका उम्मेदवार नराम्रोसँग पराजित भए। समाजवादीका उम्मेदवार वडाको नेतृत्वमा समेत आउन सकेनन्।

धनकुटामा संघीय समाजवादीले उम्मेदवार बनाएका ७० जना उम्मेदवारमध्ये ९ मात्र विजयी भए। वडाध्यक्षमाथिका कुनै पनि पदमा पार्टीका उम्मेदवारले जितेनन्। दुई वडाध्यक्ष, तीन सदस्य र चार दलित महिला सदस्यमै चित्त बुझाएको पार्टीले जिल्ला अध्यक्ष बलबहादुर राईलाई कांग्रेससँग तालमेल गरेर साँगुरीगढी गाउँपालिकाबाट उपाध्यक्षमा उठाएको थियो। तर उहाँ पनि पराजित हुनुभयो। ‘चौबीसे गाउँपालिकामा भएको गठबन्धन पनि काम लागेन, असफलता नै हात लाग्यो’, पार्टी अध्यक्ष राईले भन्नुभयो, ‘म उठेको क्षेत्रकै कुरा गर्ने हो भने एक हजार ४ सय मत बदर भयो।’ प्रचार र मतदाता शिक्षाको अभावले जितको नजिक पुगेर पनि पराजित हुनुपरेको उहाँको दाबी छ।

धनकुटामा संघीय समाजवादीले उम्मेदवार बनाएका ७० जना उम्मेदवारमध्ये ९ मात्र विजयी भए। वडाध्यक्षमाथिका कुनै पनि पदमा पार्टीका उम्मेदवारले जितेनन्।

पार्टीले इलामका १० मध्ये आठ स्थानीय तहमा प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी दिएको थियो। कांग्रेससँग समीकरण गरेर माङ्सेबुङ गाउँपालिका उपप्रमुखमा उठेका विनोदकुमार नेम्वाङ एमालेकी सुनिता योङहाङसँग पराजित हुनुभयो। सनिताले २ हजार ९ सय ८१ र विनोदले २ हजार ७ सय ७१ मत प्राप्त गर्नुभयो। इलामका सात तहमा एमाले र तीनमा कांग्रेसले जितेको छ। इलाममा वडाभन्दा माथिको तहमा उठ्न समाजवादी असफल भयो।

पाँचथर र ताप्लेजुङका स्थानीय तहमा पनि पार्टीले अपेक्षित मत बटुल्न सकेन। पाँचथरमा समाजवादीका उम्मेदवारले प्राप्त गरेको मत विश्लेषण गर्दा मेचीका पहाडी जिल्लामा उसको अवस्था निकै दयनीय देखिन्छ। स्थानीय तहको निर्वाचनबाट मुलुकको तेस्रो नभए बलियो चौथो शक्तिका रूपमा उदाउने उद्देश्यका साथ चुनावी मैदानमा उत्रिएको समाजवादीले मेची र कोसी पहाडका जिल्लामा पराजयको नराम्रो धक्का खाएको छ।

पहिलो स्थानीय तहको निर्वाचनको पेरिफेरिमा पहाडी क्षेत्रमा पार्टीको हारलाई पाठका रूपमा हेरिएको र आफूहरूले चुनावी रणनीति तथा प्रतिस्पर्धाबारे राम्रो ज्ञान लिएको संघीय समाजवादीका केन्द्रीय सदस्य जयराम यादवले बताउनुभयो। ‘हाम्रो जित भनेको पहाड र तराई÷मधेसको भावनालाई एकै सूत्रमा जोड्नु भन्ने थियो, त्यसमा हामी सफल छौं’, यादवले भन्नुभयो, ‘तराई र मधेसका जनजातिको एकता तथा पार्टीको मेचीदेखि महाकालीसम्मको संगठन र चुनावमा भएको सहभागिता नै हाम्रो जित हो।’ यादवले तराईमा पार्टीले दोस्रो चरणको निर्वाचनमा अपेक्षित राम्रै परिणाम हात पारेकाले निरास हुनुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिनुभयो।

चुनावको परिणाम हेर्दा ताप्लेजुङमा समाजवादीको नतिजा शून्य छ। पाँचथरमा अधिकांश पदमा उम्मेदवारी दिए पनि जम्मा चारवटा वडा सदस्यमा मात्र पार्टीले जितेको छ। पार्टीले पाँचथरको एक नगरपालिका र सात गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षसहितका अधिकांश पदमा उम्मेदवारी दिएको थियो। याङवरक गाउँपालिका ३ र मिक्लाजुङ गाउँपालिका १ मा मात्र पार्टीले जितेको छ।

फोरम पाँचथरका पूर्वजिल्ला सचिव बुद्ध इङ्वाले आन्तरिक अभ्यास कम भएकाले पराजय भोग्नुपरेको बताउनुभयो। ‘सोचेजस्तो मत पाउन नसकेको सत्य हो’, उहाँले भन्नुभयो, ‘अब जनताको मन जित्न झन् मेहनत गर्नेछौं’, पार्टीका ताप्लेजुङ संयोजक मोती पालुङवाले भन्नुभयो, ‘जिल्लामा हाम्रो उपस्थिति जनाउन मात्र उम्मेदवारी दिएका थियौं तर जित्न भने सकिएन।’

भोजपुरमा साल्पासिलिछो गाउँपालिका उपाध्यक्षमा १ हजार २ सय ८३ मत प्राप्त गरेर दोस्रो स्थान लिएको पार्टीले जिल्लामा जम्मा एक महिला र एक दलित सदस्य मात्र जितेको छ। सोलुखुम्बुमा खुम्बुपासाङल्हमु गाउँपालिका उपाध्यक्षमा पार्टीका उम्मेदवारले ८ मत मात्र प्राप्त गरे।
खोटाङ, ओखलढुंगा र तेह्रथुममा पनि जित्न नसकेको पार्टीले बुधबारसम्म दोस्रो चरणमा ६ स्थानीय तहमा विजयी भएको छ। दुई स्थानमा अग्रता लिएको छ। (कुमार लुइँटेल, हरिबहादुर लम्जेल, भीम बाँस्कोटा, भरत खड्का र तोयानाथ भट्टराईको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.