राजपामा अढाई महिनामै विभाजनको रेखा

राजपामा अढाई महिनामै विभाजनको रेखा

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल गठनको अढाई महिनामै विभाजनको रेखा कोरिएको छ । निर्वाचन आयोगमा दल दर्ता र विधानमा हस्ताक्षरका विषयमा अध्यक्षमण्डलका नेताहरूबीच तीव्र मतभेद देखिएको छ ।राजपाले प्रदेश नम्बर २ मा असोज २ गतेका लागि तय भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुन विधानमा संयुक्त हस्ताक्षर गरी आयोगमा दल दर्ताका लागि जाने तयारी गरेको थियो । तर, अध्यक्षमण्डलका नेता अनिलकुमार झाले विधानमा हस्ताक्षर नगरेपछि विधान निर्माण प्रक्रिया नै अवरुद्ध भएको छ ।

बुधबारको बैठकमा अध्यक्ष महन्थ ठाकुरले ५-७ दिनबीच पनि अध्यक्षमण्डलका सबै सदस्यले विधानमा हस्ताक्षर नगरे पनि जतिको हस्ताक्षर हुन्छ, त्यसलाई नै लिएर आयोगमा दल दर्ता हुने बताउनुभएको थियो । अध्यक्ष ठाकुरको भनाइको सोझो अर्थ हो- दल दर्तासँगै पार्टी विभाजन । मंगलबार सुरु बैठक दल दर्ता प्रक्रिया अघि बढ्न नसकेपछि केही दिनका लागि भन्दै बुधबार स्थगित भएको छ । बुधबारको बैठकमा ठाकुरले विधानमा हस्ताक्षरका लागि केही दिनको समय दिनुभएको थियो ।

नेता झाले विधानमा रामजनम तिवारी र गजेन्द्रनारायण सिंहको नाम उल्लेख गर्नुपर्ने अडान लिएका कारण दल दर्ता प्रक्रिया तथा पार्टी बैठकसमेत स्थगित हुन पुगेको स्रोतको दाबी छ । ठाकुरले भने राजपामा मधेसी मात्र होइन, बीपी, पुष्पलालदेखि माक्र्सवादीसम्मको विचार, आस्था राख्ने नेता रहेको उल्लेख गर्र्दै विधानको प्रस्तावनामा कुनै नेताको नाम उल्लेख नहुने धारणा बैठकमा राख्नुभएको थियो । झाले आफूले विदेशी शक्तिको दबाबमा नेपाल सद्भावना पार्टीलाई राजपामा विलय गरेको बताउनुभएको थियो ।

अध्यक्षमण्डलका सदस्य अनिल झाले प्रस्तावनामा गजेन्द्रनारायण सिंहको नाम राख्न दबाब दिँदै विधानमा हस्ताक्षर नगरेपछि विवाद बढेको हो ।

पहिलोपटक राजपालाई राष्ट्रिय पार्टीका रूपमा अघि बढाउन लागिएको धारणा राख्दै ठाकुरले झापादेखि कञ्चनपुरसम्मका १२ प्रतिशत थारू, ११ प्रतिशत मुस्लिम, ३९ प्रतिशत मधेसी र ३८ प्रतिशत पहाडी समुदायको एकता रहेकाले कुनै एक नेताको नाम विधानमा उल्लेख गर्न नहुने बताउनुभएको थियो ।

मंगलबार मात्र भारतीय राजदूत मञ्जीवसिंह पुरीले राजपाका ६ नेतालाई पार्टी एकताभन्दा बाहिर नजान, आगामी निर्वाचनमा भाग लिन र वर्तमान सरकारलाई दिएको समर्थन कायम राख्न सुझाव दिनुभएको थियो । यसविपरीत झाले बुधबारको बैठकमा विधानमा तिवारी र सिंहको नाम उल्लेख गर्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ । अर्का नेता महेन्द्रप्रसाद यादवले अढाई महिनामै पार्टी विभाजनको संघारमा पुर्याउने कार्य कहीं, कतैबाट नहुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, 'पार्टीलाई एकीकृत रूपमा लग्ने र २ नम्बर प्रदेशमा राजपाको जित सुनिश्चित गर्ने कार्यमा हामी दृढ छौं ।'

उहाँले राजपा आयोगमा चाँडै दर्ता हुने बताउनुभयो । पार्टी महामन्त्री केशव झाले नेताहरूले मधेसी नेताको नाम विधानको प्रस्तावनामा राख्न अडान राखेकै भरमा पार्टी विभाजनको संघारमा नपुगेको बताउनुभयो । आयोगमा दल दर्ताका लागि धेरै दिन अनिर्णयको बन्दी बन्न नहुने धारणा उहाँको छ ।

विभिन्न आस्थाका राजपा नेता

महन्थ ठाकुर बीपी कोइराला
शरतसिंह भण्डारी बीपी कोइराला
महेन्द्रप्रसाद यादव पुष्पलाल श्रेष्ठ
राजेन्द्र महतो गजेन्द्रनारायण सिंह
राजकिशोर यादव बीपी कोइराला
अनिलकुमार झा गजेन्द्रनारायण सिंह
हृदयेश त्रिपाठी मार्क्सवादी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.