‘कृषिमा प्रत्यक्ष विदेशी लगानी अमान्य'
काठमाडौं : कृषिमा प्रत्यक्ष विदेशी लगानीको विरोध गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्षस्थ नेताले कृषिको प्राथमिक तहमा प्रत्येक्ष वैदेशिक लगानी (एफडीआई) कुनै पनि बहानामा भित्र्याउन नदिने बताएका छन् । कृषि विज्ञले पनि नेताको अडानमा समर्थन जनाएका छन्।
राष्ट्रिय किसान आयोगले बिहीबार राजधानीमा आयोजना गरेको कृषिमा प्रत्यक्ष वैदेशिक लगानी विषयक गोष्ठीमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला र नेकपा एमालेका नेता केशव बडालले राष्ट्रिय हित, किसानको सम्मान र मौलिक पहिचानमा आँच आउने गरी वैदेशिक लगानी भित्र्याउन नहुने बताउनुभयो ।
कृषिजन्य वस्तुको प्रशोधन, कृषि उद्योग, बजारीकरण, भौतिक पूर्वाधार निर्माण, सिँचाइ परियोजना, कृषि सेवालगायतका क्षेत्रमा एफडीआई भित्र्याउन सुझाव दिए पनि अहिले यस्ता क्षेत्रमा लगानी भित्र्याउने समय पनि आइनसकेको निष्कर्ष निकालिएको छ । कृषिमा वैदेशिक लगानी भित्र्याएको खण्डमा नेपाली साना किसानको पेसा गुम्नुका साथै किसानको जग्गा वैदेशिक कम्पनीको हातमा पर्ने र अन्त्यमा किसान बेरोजगार हुने सुझाव पूर्वप्रधानमन्त्री दाहालले दिनुभयो । यस्ता लगानी भित्रिँदा कम्पनीले उत्पादन क्षेत्रमा एकाधिकार कायम गर्ने र स्वदेशी पुँजी तथा उद्योग धराशायी हुनेछ ।
‘राज्यले निर्दिस्ट गरेका शर्त र नीतिभित्र रहेर मात्रै लगानी भित्र्याउन पाइन्छ,' दाहालले भन्नुभयो,‘कृषि उद्योग र प्रशोधनलगायत क्षेत्रमा लगानी भित्र्याउने व्यवस्था भए पनि नेपालमा अहिले त्यसको आवश्यक छैन ।' दाहालले विनियोजित पुँजीगत बजेट खर्च हुन नसकेको अवस्थामा वैदेशिक लगानीको आवश्यकता नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले विनियोजित बजेट खर्च हुने अवस्था आउनुपर्यो, जग्गाको उपयोगिताका आधारमा भूमिको वर्गीकरण हुनुपर्यो, कृषि सडक, सिँचाइ, बजारीकरणलगायत क्षेत्रको विकास भएको अवस्थामा मात्रै कडा कानुन बनाएर वैदेशिक लगानी भित्र्याउन पाइन्छ ।' ताल्चा, साँचो बुझाएर आँखा चिम्लेर लगानी भित्र्याउने हो भने एक दिन नेपाली उनीहरूको दास बन्न बाध्य हुनुपर्ने उहाँले जानकारी दिनुभयो ।
राजनीतिक द्वन्द्वका कारण नेपालको कृषि क्षेत्रपछि परेको स्वीकार गर्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले वहुराष्ट्रिय कम्पनीको दास बनाउने उद्देश्यले कुनै पनि बहानामा कृषिमा वैदेशिक लगानी भित्र्याउन नपाइने बताउनुभयो । कोइरालाले पछिल्लो समयमा नेपालमा भित्रँदै गरेको वैदेशिक लगानीबारे सूक्ष्मरूपमा अनुगमन गर्नुपर्ने समय आएको बताउनुभयो । ‘कृषिको प्राथमिक उत्पादन तहमा वैदेशिक लगानी भित्र्याउन नदिने विषयमा हामी सबै राजनीतिक दलको एउटै धारणा छ', कोइरालाले भन्नुभयो, ‘प्रशोधन, उद्योग तथा भौतिक पूर्वाधारमा लगानी गर्ने भनिए पनि निकै सचेत भएर बन्देज राखेर मात्रै लगानी भित्र्याउनुपर्छ ।'
नेकपा एमालेका नेता केशव बडालले वैदेशिक लगानी भित्र्याउन मरिहत्ते गर्ने कर्मचारीतन्त्रले स्वदेशी लगानीका उद्योगलाई संरक्षण नगरेको आरोप लगाउनुभयो । ‘नेपालको कृषिको प्राथमिक तहमा लगानी ल्याउन पाइँदैन । कृषिजन्य वस्तुको प्रशोधन, उद्योग र भौतिक पूर्वाधारमा लगानी भित्र्याउने व्यवस्था भए पनि पर्याप्त उत्पादन नहुने अवस्थामा यस्ता क्षेत्रमा लगानी भित्र्याउनुको अर्थ छैन्', बडालले भन्नुभयो । उहाँले कृषि र पशुपन्छी जन्य केही वस्तुमा आत्मनिर्भर भएको मुलुकमा वैदेशिक लगानी भित्र्याएर त्यस्ता क्षेत्रलाई धराशायी बनाउन कर्मचारीतन्त्र लागेको आरोप लगाउनुभयो ।
उद्योग मन्त्रालयका सहसचिव प्रदिपकुमार कोइरालाले वैदेशिक लगानी भित्र्याएका कारण पिछडिएका राष्ट्र विस्तारै विकासोन्मुख राष्ट्रतर्फ उन्मुख भएकाले नेपालमा पनि लगानी भित्र्याउनुपर्ने कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै कृषि विज्ञ डा.पे्रम दंगालले कृषिमा वैदेशिक लगानी भित्र्याउँदा प्राकृतिक स्रोतमा हस्तक्षेप बढ्नुका साथै ग्रामीण भेगबाट कृषि मजदुर विस्थापित भएर बसाइँसराइको खतरा, स्रोतमाथिको पहुँच र नियन्त्रण गुमाउने अवस्था आउने जानकारी दिनुभयो ।
कृषि विकास मन्त्रालयका उपसचिव इन्द्रहरी पौडेल र त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा.चन्द्रप्रसाद पोखरेलले कृषिमा वैदेशिक लगानी विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, कृषि विज्ञ डा.कृष्ण पौडेल, नहेन्द्र खड्कालगायतले कार्यपत्रमाथि टिप्पणी गर्दै कृषिजन्य वस्तुको उत्पादन ठूलो परिमाणमा नहुँदासम्म प्रशोधन र उद्योग क्षेत्रमा पनि वैदेशिक लगानी आवश्यक नरहेको सुझाव दिनुभयो ।
सरकारले आधारभूत कृषि उत्पादन, मौरीपालन, माछापालन, कुखुरापालन र ग्रामीण पर्यटनमा वैदेशिक लगानीलाई निषेध गरेको छ । नेपालमा आर्थिक वर्ष २०६४/६५ देखि हालसम्म वैदेशिक लगानीमा कृषि र वन क्षेत्रमा दुई सय ५८ वटा उद्योग सञ्चालनमा छन् । यस्ता उद्योगमा करिब १० अर्ब ६८ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । यी उद्योगमा नौ हजार तीन सय ८४ जनाले रोजगारी पाएका छन् ।