फस्टाउँदै ब्युटिपार्लर व्यवसाय
कस्मेटिक उत्पादनको मार्केटिङमा १३ वर्ष पूरा गर्दा सौन्दर्य व्यवसाय (ब्युटिपार्लर)मा क्रान्ति नै देखियो । देशैभरिका जोड्दा २५ हजार हाराहारीमा ब्युटिपार्लर चलेको हुनपर्छ । उपत्यकामै पाँच हजारभन्दा बढी ब्युटिपार्लर सञ्चालनमा छन् । कर्णालीबाहेक तेह्रै अञ्चलका साना÷ठूला सबैजसो बजार एरियामा पुगेको छु, तीनचौथाइ जति ब्युटिपार्लर त भिजिट गरे हुँला ।
कस्मेटिक उत्पादन (न्युलुक) को मार्केटिङ गर्ने भएकिले बजार एरिया घुमिरहन्छु । बजार क्षेत्र पुग्ने कारण, कुनै पनि वस्ती बजारमा परिणत भएपछि त्यहाँ ब्युटिपार्लर खुलिहाल्छ । मार्केटिङ गर्न ब्युटिपार्लर पुग्नै पर्छ । मेचीदेखि महाकालीसम्मै भ्रमण गरिरहन्छु ।
मेची-महाकाली सबैतिर ब्युटिपार्लर खुलिरहेका छन् । पहाडियाबहुल बजारमा ब्युटिपार्लर व्यवसाय फस्टाएको हुन्छ । आयआर्जन भएका जनजाती बसोवास भएको बजारमा त ब्युटिपार्लरको व्यवसाय अचम्मै लाग्ने हुन्छ । काठमाडौंपछि धरानमा यो व्यवसाय फस्टाएकाले यसलाई पुष्टि गर्छ । जबकी धरानभन्दा बढी जनसंख्या भएका सहर थुप्रै छन् । पोखरा तेस्रो ठूलो बजार हो, यहाँ पनि जनजातिको बाक्लो उपस्थितिले बजारलाई अझ तताएको छ । दमक समग्रमा सानै बजार हो, हाम्रो लागि ठूलो बजार । दमकमा तीन सयजति ब्युटिपार्लर छन्।
बेनी कस्मेटिक उत्पादनका लागि गज्जबको बजार मानिन्छ । बजार सानो भए पनि यहाँ रेमिटेन्स आप्रवाह राम्रो छ, सामाजिकस्तर उकासिएको छ, फेसनमा मानिस बडा सचेत छन् । ब्युटिपार्लर पनि ४० जति पुगिसके । मध्यपहाडमा विकास÷विस्तार भइरहेका बजार बढी भाइब्रेन्ट छन् । स्याङ्जा, बागलुङमा डिमान्ड छ, रोल्पामा पनि धमाधम ब्युटिपार्लर खुल्न थालेका छन् । कस्मेटिकको डिमान्ड बढिरहेको छ । तराईमा राजमार्ग क्षेत्रमा तीव्र गतिमा विकास÷विस्तार भइरहेका बजारमा गज्जबको डिमान्ड छ । पूर्वका बेलवारी, खोर्सानेमा पनि कस्मेटिकको राम्रा बजार भइसके ।
२०६० सालमा न्युलुक ब्रान्डको मार्केटिङमा जोडिएँ । मार्केटिङका लागि ब्युटिपार्लरलाई फोकस गरियो । ब्युटिपार्लरलाई उत्पादनप्रति विश्वास दिलाउन सकियो भने त तिनले आफूकहाँ आउने सयौं÷हजारौं ग्राहकलाई हाम्रो ब्रान्डको मार्केटिङ गरिदिन्छन् । ब्युटिपार्लर भिजिट गर्ने त छँदैछ, हामीले ब्युटी सेमिनार गर्न थाल्यौं । कुनै क्षेत्रमा ब्युटी सेमिनार आयोजना गर्यौं भने त्यसमा आफ्ना उत्पादनबारे जानकारी गराउने काम थोरै हुन्थ्यो, बढीजसो ब्युटिसियनलाई आवश्यक पर्ने टिप्सहरू दिन थालियो । सौन्दर्य बजारमा विकास भइरहेका नयाँ प्रविधि, उत्पादनको जानकारी गरायौं । ब्युटिसियनका लागि रिफ्रेसमेन्ट टाइपको भएकाले सेमिनार चाँडै रुचाइयो ।
वस्ती बजारमा परिणत भएपछि नयाँ ब्युटिपार्लर खुलिहाल्छ ।
उच्च वर्गको रोजाइमा बहुराष्ट्रिय कम्पनीका उत्पादन छन् ।
न्युलुक प्राइभेट लिमिटेडकी महाप्रबन्धकसँगको कुराकानीमा आधारित
ब्युटिसियनले हाम्रो क्षेत्रमा पनि गर्दिनपर्यो भनेर डिमान्ड गर्न थाले । उपत्यकाका ब्युटिसियनका लागि होटेल हिमालयमा पहिलो सेमिनार गरिएको थियो । यति रुचाइएयो कि, ठूला सहरमा क्रमशः यस्ता सेमिनार गर्न थालियो । सेमिनारमा ब्युटिसियन भेला हुन्थे, व्यवसायमा आएका नयाँ नयाँ कुरा उत्पादनमा जानकारी पाउँथे । यही क्रममा हामी न्युलुकका लागि त्यो ठाउँको डिस्ट्रिब्युटर पनि फाइनल गथ्र्यौं । सेमिनारले यस्तो काम गर्यो । ब्युटिसियन नयाँ प्रविधिमा अपडेट भए भने तिनको क्षमता पनि बढ्यो । साथै आयोजकको ब्रान्डप्रति लोयल्टी पनि हुने भयो । अहिले डिमान्ड यस्तो छ कि, भरतपुरमा सेमिनार गर्यो भने कावासोतीबाट सेमिनार गरिदिन डिमान्ड आउँछ । २०६४ सालमा धनगढीमा सेमिनार गर्दा डडेल्धुराबाट ११ जना ब्युटिसिएन जिप रिजर्भ गरेर सहभागी भएका थिए । अहिले डडेल्धुरामै पनि सेमिनार हुन्छ । ठूला बजारमा वर्षमा एकचोटी सेमिनार गरेकै हुन्छौं ।
मार्केटिङ सुरु गर्दा न्युलुक नेलपोलिस रिमुभरमार्फत बजारमा छिरेका थियौं । अहिले एक सयभन्दा बढी थरिका यसका उत्पादन छन् । बजारमा फाटफुट नेपाली ब्रान्डका उत्पादन त थिए, विदेशी उत्पादनको एकाधिकारजस्तै थियो । अहिले न्युलुक लिडिङ ब्रान्ड छ । अहिले पनि उच्च वर्गको पहिलो रोजाइ बहुराष्ट्रिय कम्पनीका उत्पादन नै हुन् । तैपनि कतिपय उत्पादन न्युलुकको पनि प्रयोग गर्छन् । मध्यम र निम्नमध्यमवर्गीय उपभोक्ताको पहिलो रोजाइमा पर्छ । तैपनि मँहगो भएका कारण बिक्री मूल्यमा बहुराष्ट्रिय कम्पनीका उत्पादन अघि छन्, परिमाणमा हामी । स्वदेशी ब्रान्डमा एक नम्बर हाम्रो दाबी छ ।
ब्युटिपार्लर व्यवसाय यसरी फस्टाउनुको कारण यसको तालिम छ्याप्छ्याप्ती चलिरहेका हुन्छन् । निःशुल्क तालिम पनि सञ्चालन हुन्छन् । सरकारी निकायदेखि यूएनडीपीसम्मले तालिम सञ्चालन गर्छन् । विधवा, दलित आदि समूदायका लागिमात्र पनि तालिम छन् । तालिम लिएपछि व्यवसाय सुरु गर्न उतिसारो लगानी नभए पनि हुन्छ । ५० हजारकै लगानीमा पनि कामचलाउ ब्युटिपार्लर खोल्न सकिन्छ । अर्को कुरा अहिलेको जेनरेसन पर्सनालिटीमा गम्भीर छ । आकर्षक देखिन पैसा खर्च गर्न हिच्किचाउँदैन । पुरुषका लागि छुट्टै क्रिम उपलब्ध छन् । महिला÷पुरुष दुवैका लागि ‘युनिसेक्स’ सैलुनपनि विस्तारै खुल्दैछन् । उपत्यकामा ७० वटाजति युनिसेक्स सैलुन खुलिसकेका छन् । उपत्यकाबाहिर विस्तार हुने क्रममा छ ।
पहिलेका पार्लर एउटा कोठामा सीमित हुन्थे । अहिले २०÷३० लाख लगानी गरिएका सुविधासम्पन्न पार्लर पनि खुलेका छन् । यस्ता सैलुनमा कुनैमा सर्भिस, कुनै तालिम चलिरहेका हुन्छन् । कुनै ग्राहकका लागि टेलिभिजन, पत्रपत्रिकासहित छुट्टै कोठा हुन्छन् । देशमा तीव्र गतिमा विस्तार भइरहेको व्यवसायमा पर्छ, सौन्दर्य व्यवसाय । सौन्दर्यका लागि आवश्यक कस्मेटिक्सको बजार ठूलो छ, स्वदेशी ब्रान्डले अझ धेरै गर्नसक्ने ठाउँ छ ।