प्रमुख अतिथि विवादले सपथ ग्रहण सर्यो
नवलपरासी : प्रमुख अतिथिको विषयमा विवाद हुँदा नवलपरासीको सरावल गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण कार्यक्रम स्थगित भएको छ।
निर्वाचन अधिकृत टीकाराम ज्ञवाली र निर्वाचित अध्यक्ष राधेश्याम चौधरीबीच प्रमुख अतिथि बनाउने विषयमा विवाद हुँदा शुक्रबारका लागि आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम स्थगीत गरिएको हो।
निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र नम्बर ५ का सांसद विक्रम खनाललाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको थियो भने निर्वाचित अध्यक्ष चौधरीले फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रामबच्चन यादवलाई आमन्त्रण गर्नुभएको थियो।
कार्यक्रम सुरु हुनु पूर्व दुवै जना आएपछि प्रमुख अतिथिमा विवाद भएको हो।
निर्वाचन अधिकृतले सपथ ग्रहण कार्यक्रमबारे मात्र जानकारी दिएको र प्रमुख अतिथिबारे सल्लाह नगरेकाले आफूले यादवलाई आमन्त्रण गरेको निर्वाचित अध्यक्ष चौधरीले बताउनुभयो। ‘निर्वाचन अधिकृत ज्ञवालीले सल्लाह नै नगरी कांग्रेसका सांसदलाई प्रमुख अतिथिमा आमन्त्रण गरेका रहेछन्, त्यसैले हामीले हाम्रै पार्टीका केन्द्रीय सदस्यलाई बोलाएका हौं।’ अध्यक्ष चौधरीले भन्नुभयो, ‘निर्वाचन अधिकृतले हामीसँग सल्लाह गरेपछि मात्र कार्यक्रमको मिति तय गरिने छ।’
विवाद भएपछि प्रमुख अतिथिका लागि पुग्नु भएको दुवै जना फर्कनु भएको थियो। सपथ ग्रहण गराउने जिम्मेवारी निर्वाचन अधिकृतको भएकाले जनप्रतिनिधिसँग सल्लाह गर्नु आवश्यक नभएको निर्वाचन अधिकृत ज्ञवालीले बताउनुभयो। स्थगीत भएको सपथ ग्रहण कार्यक्रम छलफल गरेर एक दुई दिनमै गरिने ज्ञवालीले बताउनुभयो।
७ वडा रहेको गाउँपालिकामा फोरम लोकतान्त्रिकले अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष जितेको छ। त्यसैगरी ४ वडाअध्यक्ष फोरम लोकतान्त्रिक, २ नेपाली कांग्रेस र १ वडाअध्यक्ष माओवादी केन्द्रले जितेको छ।