राजतन्त्रबारे जनमतसंग्रह गर्न चुनौती
काठमाडौं : नेपाल ल क्यापसमा एलएलबीमा अध्यनरत कीर्तिपुरकी संविधा वाग्लेले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र केन्द्रीय संसद्को निर्वाचन नभई नेपालमा राजतन्त्र चाहिने/नचाहिनेबारे जनमतसंग्रह गर्न चुनौती दिनुभएको छ ।
‘राजतन्त्रबारे जनमतसंग्रह भए कुल मतदाताको दुई तिहाइ मत राजाको पक्षमा जान्छ । यस्तो जनमत सिर्जना हुनुका पछाडि मुलुकको आर्थिक, प्राकृतिक स्रोत–साधनमा राजनीतिक दलका अनगिन्ती राजा र उनका भाइभारदारका रूपमा देखिएका कार्यकर्ताबीच भागबन्डा हुनु नै हो ।'
महान् राजनीतिक दार्शनिक रुसोको डेमोक्रेसीको सिद्धान्त ‘फर दि पिपुल, बाई दि पिपुल र टु दि पिपुल' को सट्टा नेपालका प्रमुख दलले ‘फर दि नेता, टु दि कार्यकर्ता र टु दि पार्टी' गरेकै कारण आज गणतन्त्रप्रति आमजनतामा वितृष्णा फैलिएको उदाहरण उहाँले दिनुभयो । रत्नराज्य लक्ष्मी क्याम्पसमा अंग्रेजी विषयमा स्नातकोत्तरमा अध्यनरत कीर्तिपुरकै सुमन आचार्यले पनि राजतन्त्र चाहिन्छ कि चाहिँदैन भन्दै जनमतसंग्रह गर्न दललाई चुनौती दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मुलुकको आर्थिक, सामाजिक, शैक्षिक, रोजगारी, सर्वसाधारणको दैनिकीलगायत क्षेत्रमा गणतन्त्रका ठेकेदारहरूले गरेको लुट नै आजको असन्तुष्टि हो । महेन्द्रले जग बसालेको आर्थिक पूर्वाधारसमेत प्रजातन्त्र र गणतन्त्रका नाममा सिध्याउने कार्य प्रमुख दलबाटै भएको छ । त्यसैले मुलुकको इतिहास र भूगोल बचाउन पनि राजतन्त्र अपरिहार्य छ ।'
गोरखनाथ मृगस्थली पुस्तकालयमा कार्यरत बालानाथले मुलुक अत्यन्त जटिल र गम्भीर अवस्थाबाट गुज्रिरहेकाले यो देशको संस्कार, संस्कृति र सभ्यता जोगाउन पनि राजतन्त्र आपरिहार्य रहेकोमा जोड दिनुभयो ।
देवताविनाको मन्दिरजस्तै राजाविनाको देशको अस्तित्व नरहने जिकिर गर्दै उहाँले भन्नुभयो, ‘राष्ट्र अस्थिरता र अशान्तबाट गुज्रँदै गएकोतर्फ आमनागरिक सचेत र सजग हुनु जरुरी छ ।' हिन्दु र हिन्दुत्व नेपालको पहिचान रहेकोमा उहाँले जोड दिनुभयो ।
सिन्धुपाल्चोकका ६३ वर्षीय केशर खड्काले महाभूकम्पबाट पिल्सिएका सिन्धुपाल्चोकलगायत जिल्लाका पीडितको जप ‘राजा आऊ छाना देऊ' भन्ने रहेको बताउनुभयो ।
तत्कालीन राजसभाका सदस्य गुल्मीका ८४ वर्षीय वैकुण्ठबहादुर चन्दले गणतन्त्र नचल्ने भन्दै राजा चाहिनेमा जोड दिनुभयो । स्थानीय चुनाव भए पनि मुलुकमा शान्ति र स्थायित्व हुन नसक्ने दाबी गर्दै उहाँले भन्नुभयो, ‘जनताको कर लुट्दै चुनावमा जाने सत्ता र प्रतिपक्षी दलले २१ औं शताब्दीका युवाको मागलाई सम्बोधन गर्न सक्दैनन् ।'
देश जोगाउन सुदृढ भूमिका खेलौं : पूर्वराजा
पूर्वराजा ज्ञानेन्द्र शाहले निर्वाचित जनप्रतिनिधिलगायत आमनेपालीसँग देश जोगाउन र जोड्नमा सुदृढ भूमिका खेल्न आग्रह गर्नुभएको छ । आफ्नो ७१ औं शुभजन्मोत्सवका अवसरमा हिमाल, पहाड र तराईबाट ठूलो संख्यामा शुभकामना दिन आएका युवाको आह्वान र पत्रकारको साक्षात्कारमा पूर्वराजा शाहले भन्नुभयो, ‘देश जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सुदृढ राष्ट्रिय एकता होस् । यस्तो भावना आमनेपाली र खासगरी जनप्रतिनिधिसँग मेरो विशेष आग्रह छ ।'
शुभकामना दिन उपस्थितहरूले राजा आऊ, देश बचाऊ भन्दै राजसंस्थाबारे जनमत संग्रहको माग राखेकै बेला पूर्वराजा शाहले भन्नुभयो, ‘पद, प्रतिष्ठा र प्रशंसाभन्दा मेरो निरन्तरको चाहना देशभक्ति नै हो । हाम्रा पुर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस्, सदा समृद्धिको बाटोमा अघि बढोस्, मेरो मूल चाहना र कामना यही नै हो ।'
यही विचारका साथ मुलुकलाई अघि बढाउन र देशलाई एकताबद्ध रूपमा लैजान नेतृत्व अघि बढ्नुपर्छ भन्ने आफ्नो चाहना रहेको पूर्वराजाले बताउनुभयो । ‘राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न हामी सबै एकजुट हुनै पर्छ । हेरकपल्ट देश संकटमा पर्दा देशवासीले देखाउने गरेको अभूतपूर्व एकताका लागि हामी सधैँ तयार रहनुपर्छ । देश विखण्डन नहोस् भन्नाका लागि एकताको खाँचो छ । एकता भएरै लाग्नुपर्छ भन्ने मेरो सधैँ सबैमा कामना छ', उहाँले भन्नुभयो ।
पूर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेका बेला हामी भने कस्तुरी हराएको मृगझैँ शून्यतामा हराइरहेका छौं, अब क्रियाशील ऊर्जा बोकेर ब्युँतन ढिला गर्न नहुनेमा पूर्वराजाले जोड दिनुभएको छ । निराशा बोकेर बिदेसिएको ऊर्जाशील युवाशक्तिलाई स्वदेशमै गरी खाने बाटो बनाइदिने उपाय खोज्न पनि हामी नै जागरुक हुनुपर्ने उहाँले बताउनुभयो । पूर्वराजाले मन्तव्यको अन्त्यमा ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे' भन्ने सारभूत सूत्रको स्मरण गर्न पनि आग्रह गर्नुभएको थियो ।
निर्मल निवासमा भएको जन्मोत्सव कार्यक्रममा पूर्वराजालाई शुभकामना दिन विभिन्न दलका नेता तथा कार्यकर्ता, विभिन्न विद्यालय र विश्वविद्यालयका विद्यार्थी स्वस्फूर्त रूपमा सहभागी भएका थिए । यसैगरी, नागरिक अभिनन्दन मूल समारोह समिति, विश्व हिन्दु महासंघ, विभिन्न धार्मिक संघसंस्था, क्लब, टोललगायतले आआफ्नो धर्म र संस्कृतिअनुसार बाजागाजा, झाँकी प्रस्तुत गरेका थिए ।