गाउँमा हराउँदै सहरमा मौलाउँदै

  गाउँमा हराउँदै सहरमा मौलाउँदै

काठमाडौं : कुनै समय यस्तो थियो, पहाडी र हिमाली भेगका सर्वसाधारण खाना होस् वा खाजा सबैमा मकै नै उपभोग गर्थे । त्यतिबेला धानखेत नहुँदा स्थानीय स्तरमा अत्यधिक परिमाणमा उत्पादन हुने मकै हिमाल र पहाडका मानिसको प्रमुख खाद्यान्न थियो । चामल कि त पहुँचवाला कि राम्रै आम्दानी हुनेले चाडबाडमा उपभोग गर्न पाउँथे ।

तर पछिल्लो समय परिवेश बिल्कुलै फेरिएको छ । सडकको पहुँच, क्रयशक्ति र जीवनस्तरमा वृद्धिका कारण पहाडी र हिमाली भेगका बासिन्दाको खाद्यान्नको मुख्य स्रोत मकैको साटो चामल बन्दै गएको छ । पोषण र खाद्य सुरक्षाका दृष्टिकोणले सबैभन्दा बढी पौष्टिक खाद्य पदार्थ मकैलाई पहाडी र हिमाली क्षेत्रका बासिन्दाले विस्तारै गाईभैंसी, खसीबोका र कुखुरालाई खुवाउन प्रयोग गर्न थालेका छन् । उता सहरमा चामलको उपभोग दर अहिले विस्तारै घट्दै गएको छ ।


हिमाली र पहाडी भेगका बासिन्दाले मकै खाने संस्कृतिलाई विस्तारै छाड्दै गएको अवस्थामा सहरबासीले भने मकै खाने संस्कृतिलाई पछ्याउँदै लगेका छन् । यसकै प्रतिफल हो, सहरमा अहिले सर्वसाधारणको भान्सा कोठादेखि ठुल्ठूला होटेलमा मकैको स्वादिस्ट परिकार पाक्न थालेको छ । सहरमा मकै खाने संस्कृति निकै बढेको छ । त्यो पनि सबैभन्दा बढी दिउँसो र बेलुकाको समयमा चोक, गल्ली र रमणीय पार्कमा पोलेर राखेका मकै खाने संस्कृति मौलाउँदै गएको हो । पार्कमा युवा जोडीले अंगालो मारेर पोलेका मकै खाँदै रमाउँदै गरेको दृश्य अहिले सामान्य भइसकेको छ ।

अहिले सहरी क्षेत्रमा मकैको अचार, च्याख्ला, रोटी, ढिँडो, सुप, भुटेको मकै र पपकर्नको रूपमा यसको उपभोग बढ्दै गएको छ । यसबाहेक पशुपन्छीलाई दानाको रूपमा पनि मकैको उपभोग हुन्छ । यसमध्ये सहरी क्षेत्रमा अत्यधिक रुचाइएको पोलेर खाने मकै संस्कृति फैलिँदो छ । विज्ञका अनुसार सहरी क्षेत्रमा मकै पोलेर खाने संस्कृति भित्रिएको धेरै भएको छैन । पछिल्लो २० वर्ष यता पोलेका मकै खाने संस्कृति सहरी क्षेत्रमा देख्न थालिएको छ । यो संस्कृतिलार्ई मूर्तरुप दिन वर्षे मकैबालीभन्दा १२ महिना उत्पादन हुने मकैको भूमिका महत्ववपूर्ण छ ।

‘न १२ महिना फल्ने मकैको जात विकास हुन्थ्यो, न सहरी क्षेत्रमा पोलेर मकै खाने संस्कृति', चितवनको रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ मकै वैज्ञानिक डा.केशवबाबु कोइराला भन्नुहुन्छ, ‘दिनहुँ रूपमा चामलकै परिकार खाएर दिक्क मानेका सहरिया जिब्रोको स्वाद फेर्न पछिल्लो समय मकैको परिकार खान पल्के । त्यसमध्ये सबैभन्दा बढी रुचाइएको पोलेको मकै हो ।' नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय मकैबाली कार्यक्रम हो । सहरबासीको जिब्रोको स्वाद फेर्न वर्षे मकैबालीको योगदान कम छैन । अहिले सहरका चोक चोकमा १२ महिना तात्तातो पोलेको मकै नुन खुर्सानीसँग चोपेर खान पाइन्छ । कुनै ठाउँमा २० रुपैयाँ, कुनैमा २५ रुपैयाँमा पोलेको मकै सडक किनार र ठेलामा किन्न पाइन्छ ।


पहेलो रंगको मकै मात्रै पोलेर खाने चलन छ । नार्कले हालसम्म २७ वटा मकैका जात विकास गरेर सिफारिस गरिसकेको छ ।

यसरी १२ महिना फल्ने मकैको बिउका कारण गरिबीको रेखामुनि रहेका ठूलो संख्याका सर्वसाधारणले रोजगारी पाएका छन् । यसरी पोलेर मकै बेच्नेले दैनिक रूपमा ठाउँअनुसार एक हजारदेखि अढाई हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । कोटेश्वरमा ठेलामा हरियो मकै पोलेर बिक्री गर्दै आउनुभएकी गुल्मीकी सुनिता घलेले दैनिक प्रतिगोटा २५ रुपैयाँका दरले दुई हजार रुपैयाँको मकै पोलेर बिक्री गर्दै आएको बताउनुभयो ।

यसरी घलेले महिनामा ६० हजार रुपैयाँको मकैको कारोबार गर्नुहुन्छ । घलेले प्रतिगोटा हरियो मकैको घोगा सातदेखि १० रुपैयाँमा किसानबाट खरिद गर्नुहुन्छ । घलेले सबै खर्च कटाएर मासिक ३५ हजार रुपैयाँसम्म नाफा हुने बताउनुभयो । ‘पोलेको मकै बेचेर नै घर व्यवहार चलाएकी छु,' घलेले भन्नुभयो, ‘गर्न खोज्नेलाई स्वदेशमै प्रशस्तै रोजगारी छ । मासिक ५०÷६० हजार कमाउन अरुको देशमा गएर ज्यान गुमाउनुभन्दा स्वदेशमै त्यहीअनुसारको आम्दानी गर्न सकिन्छ ।' अहिले सहरमा पोलेर मकै खाने संस्कृति बढ्दै गए पनि दैनिक कति मूल्यको कारोबार हुन्छ भन्ने एकिन आँकडा भने कतै उपलब्ध छैन ।

वैज्ञानिक कोइरालाकाअनुसार आजभोली मंसिर १५ देखि पुससम्म नगदेबालीका रूपमा मकैको उत्पादन हुँदैन । बाँकी १० महिना मकैखेती हुन्छ । अहिले पहाडी र उच्चपहाडी क्षेत्रमा एक पटक र तराई, भित्रिमधेश, फाँट, टार र बेसीमा १२ महिना मकैखेती हुन थालेको छ ।

‘पहिले फागुनदेखि असारसम्म मात्रै वर्षेबालीका रूपमा मकै फलाइन्थ्यो, हिजोआज खास गरी तराईसहित भित्रिमधेश, फाँट, टार र बेसीमा १२ महिना मकै लहलहाउन थालेको छ,' वैज्ञानिक कोइरालाले भन्नुभयो । विज्ञकाअनुसार १० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको भुगोल मिलेको जुनसुकै स्थानमा उन्नत र स्थानीय जातका मकै फलाउन सकिन्छ । अहिले त स्थानीय जातबाट पनि हिउँदमा दुई पटकसम्म उत्पादन लिन सकिन्छ ।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका अनुसार अहिले चितवन, नवलपरासी, बारा, पर्सा, धनुषा, उदयपुर, डोटी, डडेल्धुरालगायत स्थानमा बाह्रै महिना मकै उत्पादन गरिन्छ । घोगा लागेको हरियो मकैलाई पोलेर बिक्री गर्दा बजार पनि प्रशस्त पाइने र आम्दानी पनि उच्च हुने हुँदा किसान मकै उत्पादनमा हौसिएका छन् । खाद्यान्नको रूपमा यही मकै सुकाएर प्रतिकिलो २२ देखि २५ रुपैयाँमा बिक्री हुन्छ ।

विज्ञका अनुसार जस्तोसुकै जातको मकै पोलेर खान सकिँदैन । पहेलो रंगको मकै मात्रै पोलेर खाने चलन छ । अहिले अरुण दुई, रामपुर कम्पोजिट, पोसिलो मकै एक, रामपुर हाइब्रिड दुई, रामपुर हाइब्रिड चार, रामपुर हाइब्रिड ६, खुमल हाइब्रिड जातका मकैको बिउ प्रयोग गरी उत्पादन गरिएका हरियो मकै पोलेर खाने गरिन्छ । नार्कले हालसम्म २७ वटा मकैका जात विकास गरेर सिफारिस गरिसकेको छ ।

नेपालमा हाल आठ लाख हेक्टरमा मकैखेती हुन्छ । गत आर्थिक वर्ष २०७२÷७३ मा आठ लाख ९१ हजार पाँच सय ८३ हेक्टरबाट २२ लाख ३१ हजार पाँच सय १७ मेट्रिक टन मकै उत्पादन भएको थियो । नेपालमा उत्पादन हुने मकैको परिमाणले नधान्दा भारतलगायत तेस्रो मुलुकबाट बर्सेनि आठ अर्बभन्दा बढी मूल्यको मकै आयात हुने अवस्था छ । पशुपन्छीलाई खुवाउन प्रयोग हुने प्यालेट दाना उद्योगलाई दैनिक एक हजार चार सय मेट्रिक टन मकै आवश्यक पर्छ । दाना तयार पार्न ७० प्रतिशत मकै नै आवश्यक पर्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.