योग्यलाई भर्ना नगरे ‘सम्बन्धन खारेज’

  योग्यलाई भर्ना नगरे ‘सम्बन्धन खारेज’

काठमाडौं : सरकारले चिकित्सा शिक्षाको विशेषज्ञ तह (एमडी÷एमएस, एमडीएस) का लागि छनोट भएका योग्य विद्यार्थीलाई भर्ना नगर्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । 

चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको साझा प्रवेश परीक्षाको योग्यताक्रममा छानिएर ‘ओपन हाउस काउन्सिलिङ’ बाट समेत छनोट भएका विद्यार्थीलाई मेडिकल कलेजले भर्ना लिन नमानेपछि लामो समयदेखि विवाद हुँदै आएको छ । उक्त विषय संस्थान आफैँले सल्टाउन नसकेपछि सरकारले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई मेडिकल कलेजले कानुनबमोजिम काम नगरे सम्बन्धन खारेज गर्ने प्रक्रियासमेत अघि बढाउन निर्देशन दिएको हो ।

योग्य विद्यार्थी भर्ना भए/नभएको अनुगमन गर्ने र नियमबमोजिम काम नगर्ने मेडिकल कलेजलाई कारबाही गर्ने अधिकार भए पनि संस्थान मौन बसेपछि सरकारले सम्बन्धित मन्त्रालयलाई त्यस्तो निर्देशन दिएको हो ।

असार ७ गते संस्थानको ‘ओपन हाउस काउन्सिलिङ’ बाट छनोट भएका विद्यार्थीलाई मेडिकल कलेजले भर्ना नगर्दा अलपत्र परेपछि मुख्यसचिव सोमलाल सुवेदीको संयोजकत्वमा बसेको बैठकले सात दिनभित्र भर्ना गर्न र नगरे सम्बन्धन खारेज प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । सुवेदीले कलेजमा भर्ना भएका तर योग्यताक्रममा नपरेका विद्यार्थीको परीक्षा नियन्त्रण कार्यालयमा रजिस्ट्रेसन नगर्न त्रिभुवन विश्वविद्यालयको कार्यालयबाट पत्र लेखिएको विषयमा पनि तीन दिनभित्र जानकारी गराउन भनिएको बताउनुभयो ।

प्रवेश परीक्षा लिएर योग्यता क्रममा रहेका र ‘ओपन हाउस काउन्सिलिङ’ बाट छनोट भएका विद्यार्थीलाई सम्बन्धित मेडिकल कलेजले भर्ना नलिएर अलपत्र पार्दा पनि संस्थानले कारबाही गर्न सकेको थिएन । भर्ना हुन नपाएका विद्यार्थी आन्दोलित बनेका छन् । उनीहरूले भर्ना हुन पाऊँ भन्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस र वीरगन्जको नेसनल मेडिकल कलेजलाई योग्य विद्यार्थी भर्ना नगरी धेरै पैसा दिनेलाई भर्ना गरेको आरोप लाग्दै आएको छ । संस्थानले युनिभर्सलमा ३४ जना र नेसनलमा २७ जना विद्यार्थीलाई भर्नाका लागि पठाएको थियो । तर, ती मेडिकल कलेजलाई योग्यताक्रममा आधार कमजोर रहेका विद्यार्थीसँग मनोमानी रूपमा शुल्क असुलेर भर्ना गरेको आरोप छ ।

सरकारले संस्थानबाट सम्बन्धन प्राप्त मेडिकल कलेजमा एमडी/एमएस, एमडीएस अध्ययनका लागि ३० लाख ९९ हजार ३ सय ९६ रुपैयाँ शुल्क तोकेको छ । जुन शुल्कमा विद्यार्थी पढाउन नसकिने निजी मेडिकल कलेजहरूले बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.