समस्याको चाङ तेक्वान्दोमै
एक समय थियो, नेपाली मार्सल आर्टको गर्व र सान दक्षिण एसियामा एकछत्र थियो साथै एसियाली स्तरमा पनि नेपाल हेर्न लायक देखिन्थ्यो । इतिहासका हरेक पानालाई अध्ययन गर्ने हो भने नेपाली खेलकुदको साख राख्ने काम मार्सल आर्टिस्टले नै गरे। बिनाहतियार आफूलाई सुरक्षित राख्ने कला खेलको रूपमा विस्तार भएपछि यसले नेपालको साख बचाउन निकै सहयोग गर्यो।
वर्तमान समयमा पनि विश्वस्तरीय खेलाडीसँग मुकाविला गर्न सक्ने खेलाडीको नाम लिँदा मार्सल आर्टिस्ट नै अग्रपंक्तिमा आउँछन् । परन्तु पछिल्ला केही वर्ष नेपाली मार्सल आर्टको वातावरण खराब बन्यो।
यसैकारण स्तर यसरी खस्कँदै र बिग्रैदै गएको छ कि यसले राखेको परम्परागत साख विस्तारै नासिँदो क्रममा छ । मार्सल आर्टका जिम्मेवार निकायबाट राज्य र सामाजिक नेतृत्वले मार्सल आर्टिस्टले राखेको साख र दिलाएको सफलतालाई नजरअन्दाज गरिएको गुनासो सत्य होला, तर यस क्षेत्रको अवनतिको कारण र समस्या भने योमात्रै पक्कै होइन।
मार्सल आर्टका शक्तिशाली व्यक्तित्वमा रहेको इगोको समस्या, तहसनहस संरचनात्मक अवस्था र शक्तिको दुरुपयोगजस्ता कारणले तेक्वान्दो, बक्सिङ, कराँते र उसुको अवस्था खराब बन्दै गएको छ। कत्तिसम्म भने सातौं राष्ट्रिय खेलकुदमा प्राविधिक कमजोरीको कारण तेक्वान्दो र उसुको खेल नियमित समयमा सञ्चालन हुन समेत सकेनन्। परिषद्को प्राविधिक निकायले गरेका कमजोरीको कारण उत्पन्न समस्या समाधान गर्न संघभन्दा बढी सम्बन्धित खेलका प्राविधिकहरूको भूमिका बढिरह्यो।
पछिल्लो समय सबैभन्दा बढी चपेटामा कराँते र तेक्वान्दो नै परेको तथ्य नकार्न मिल्दैन। संघको द्वैध अस्तित्वका कारण विवादित कराँतेको समस्या समाधान गर्न न त परिषद् तल्लीन देखिएको छ, न त कराँते अधिकारी। कराँते अधिकारीको मनोवृत्ति त यस्तो समेत देखियो कि ‘मिलेर जानुको विकल्प छँदै छैन । तर, हामीले भनेको सबै कुरा अर्को पक्षले स्वीकारे मात्र सहमति हुन सक्छ' भन्ने ढंगको मनोवृत्ति उनीहरूमा प्रस्ट देखिएको छ।
पुरेन्द्रविक्रम लाखेको नेतृत्वमा रहेको नेपाल कराँते महासंघ पूर्वसदस्य सचिव युवराज लामाको कार्यकालमा विघटन भएपछि विवाद झनै बढेको हो । त्यसो त विश्व कराँते महासंघ (डब्लूकेएफ) को सदस्यता शुल्क र लामो समय साधारणसभासमेत नगरेकोमा लाखे नेतृत्वको महासंघको आलोचना नभएको होइन।
तर, विवाद समाधान साधारणसभा नै भएको, साधारणसभाको आयोजना डब्लूकेएफको रोहबरमा हुनुपर्ने र यसको निम्ति डब्लूकेएफले स्वीकार गरेको महसंघले नै पहल गर्नुपर्ने सर्वमान्य सिद्धान्तलाई समेत बेवास्ता गरिएपछि विवादको समाधान हुन सक्ने लक्षण देखिएको छैन। परिषद् नेतृत्व नीतिहीन देखिएको छ र द्वैध अस्तित्व कायम राखेर सबैलाई खुसी बनाउने एकसूत्रीय योजनामा छ। द्वैध अस्तित्व कायम रहे व्यक्तिगत लाभ लिन सकिने सोचमा साथ एउटा ठूलो समूह त वर्षांैदेखि लागिपरेको नै छ।
बाहिर सामान्य देखिए पनि असामान्य समस्यामा तेक्वान्दो फसेको छ । संघ नेतृत्व सीमित व्यक्तिको दायरामा चल्ने र मनोमानी गर्ने गरेको आरोप तेक्वान्दो संघमा लाग्ने गरेको छ। तीन दशकभन्दा बढी समय मुख्य प्रशिक्षक रहेका महासचिव दीपराज गुरुङको कार्यकालपछि ध्रुव गुरुङ मुख्य प्रशिक्षक त भए तर खेलको प्राविधिक र प्रशिक्षणसम्बन्धी नीति बनाउने कुरामा समेत ध्रुवलाई बेवास्ता गरिँदै आइएको तेक्वान्दोका धेरै प्रशिक्षक बताउँछन्।
वर्तमान समयमा पनि विश्वस्तरीय खेलाडीसँग मुकाविला गर्न सक्ने खेलाडीको नाम लिँदा मार्सल आर्टिस्ट नै अग्रपंक्तिमा आउँछन् । परन्तु पछिल्ला केही वर्ष नेपाली मार्सल आर्टको वातावरण खराब बन्यो।
राष्ट्रिय टोलीको बन्द सत्रमा रहने खेलाडी र प्रशिक्षकको नामसमेत मुख्य प्रशिक्षकलाई थाहै नदिई संघ नेतृत्वले हेरफेर गर्र्न प्रयास गरेको खुलासा भएको छ । गत महिनामात्र ध्रुवलाई कुनै पत्तै नदिई एक प्रशिक्षक थप्न र एक खेलाडीले नभ्याउने भएपछि प्रतिस्थापन गर्ने खेलाडीको नाम तय गर्दै तेक्वान्दो संघले राष्ट्रिय टिम तयारीको लागि पत्राचार गरेको थियो । संघले पत्राचार गरेका खेलाडीहरूले राष्ट्रिय प्रतियोगितामा कुनै उल्लेख्य प्रदर्शनसमेत नगरेको तेक्वान्दो स्रोत जनाउँछ।
खेलकुद परिषद्बाट सुविधा ग्रहण गर्न तेक्वान्दो निकटहरूको तँछाडमछाड चलिरहँदा र म्याच एक्सपोजरकै कारण स्टार खेलाडीले आशातित सफलता नपाउँदा पनि कसैले ध्यान दिएको छै। स्मरणीय छ, तेक्वान्दोको नाममा समय समयमा परिषद्बाट सुविधा लिएर विदेश गए पनि स्टार मानिएका वीरबहादुर महरा, ज्ञानीचुनारा, निमा गुरुङ र रेजिना कार्कीका लागि संघले सीमित अफिसियल प्रतियोगिताबाहेक अन्यका लागि खासै चासो देखाएको छैन।
नेपालका स्टार खेलाडीको खेल अनुभव हेर्दा अत्यासलाग्दो छ। देशमा राष्ट्रिय प्रतियोगिताबोहक अन्य खासै मौका नपाउने उनीहरूले विदेशमा समेत लामो समयको अन्तरालमा मात्र उत्रने मौका पाउने गरेका छन्।
संघमा सबैभन्दा शक्तिशाली रहेका दीपराज गुरुङभन्दा पछिल्लो पुस्ताका ध्रुव गुरुङ, अर्जुन विक, नन्दु राई, मीन थापा र टार्जन सुब्बालगायत कसैको पनि निर्णय प्रक्रियामा भूमिका नरहने गरेको तेक्वान्दोलाई नजिकबाट हेर्नेहरू बताउँछन्। त्योभन्दा पछिल्लो पुस्ताको पनि खासै भूमिका रहँदैन । राष्ट्रिय टोलीको जिम्मेवारी पाएका प्रशिक्षकहरूले आफैं थप प्रशिक्षणको अवसर नपाउँदा टोलीमा यसको प्रभाव देखिएको छ।
वरिष्ठ तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक अर्जुन विक नेपाली राष्ट्रिय खेलाडीमा म्याच एक्सपोजरको कमी रहेको तथा लामो समय प्रशिक्षक प्रशिक्षणसमेत हुने नगरेको स्वीकार गर्छन्।
कुनै समय पावर गेमको रूपमा रहेको तेक्वान्दो स्किलबेस हुँदै हाल इलेक्ट्रोनिक्स डिभाइस प्रधान खेलको रूपमा विकसित त भयो तर यसमा अपडेट हुने कुरामा न प्रशिक्षक जागरूप देखिए न त संघ नेतृत्व नै । तेक्वान्दो नेतृत्व यी हरेक समस्याको समाधानको साटो शक्तिको समीकरण मिलाउनमात्र तल्लीन भएको गुनासो सर्वत्र छाउन थालेको छ।
वर्तमान मुख्य प्रशिक्षक गुरुङलाई नीति नियम निर्माणमा सहभागी गराउन तेक्वान्दोको प्रशासनिक नेतृत्व अभ्यस्त रहेपछि एक तेक्वान्दो प्रशिक्षक भन्छन्, ‘प्रशासनिक नेतृत्वले प्राविधिक नेतृत्वलाई खुम्च्याउन खोजेपछि यो खेल विकासको कुनै सम्भावना नै देखिएको छैन।' नीतिगत निर्णयमा मुख्य प्रशिक्षकको भूमिकालाई गौण बनाउन थालिएपछि उत्पन्न भएको गुनासो हो यो।
राजनीतिक र सामाजिक नेतृत्वले आफ्ना उपलब्धिलाई नजरअन्दाज गरेको आरोप बारम्बार लगाउने गरेका मार्सल आर्ट अधिकारी भने आफैंले आफ्नो खेलको उपलब्धिलाई बेवास्तामा तल्लीन भए । सन् २०१६ मा नेपाली मार्सल आर्टले दुई महत्वपूर्ण सफलता पाए। जुडोकी फुपूल्हामु खत्रीले एसियन च्याम्पियनसिपमा जितेको पदक त चर्चामा रह्यो।
तर, तेक्वान्दोकी निमा गुरुङले फिलिपिन्सको मनिलामा भएको एसियाली राष्ट्रको ओलम्पिक छनोटमा जितेको कांस्य पदकलाई संघले नै अवमूल्यन गर्न पछि परेन । पछिल्लो समय नेपाली खेलकुदमा कमसेकम एउटा रोलमोडल आवश्यक छ भन्ने चाहना तेक्वान्दो खेलाडीले बारम्बार व्यक्त गरे । तथापि संघ नेतृत्व आफैं यो कुरामा गम्भीर देखिएन । कुनै सम्मान र अवार्ड संघको चासोको विषय नै बनेन।
नेपाली मार्सल आर्टमा बाहिर नआए पनि इगोको समस्या उसुमा पनि कम छैन। प्रशिक्षकहरूको गुटबन्दी र खेल नेतृत्वको सेरोफेरोमा घुमेको उसुको आन्तरिक कलह बाहिर साम्य देखिने र कुनै समय सलहझै फैलने गरेको छ। आन्तरिक समस्या समाधान गर्न नसकेकै कारण यस संघ साधारणसभा गर्न समेत असमर्थ रह्यो।
लामो समयपछि साधारणसभाको तयारीमा रहेको उसु संघमा संघ नेतृत्व र परिषद् नेतृत्वको आफ्नै स्वार्थको कारण अन्तिम समयमा उसु नेतत्व साधारणसभा सार्न बाध्य भएको थियो। तथापि प्रशिक्षकहरू भने विगतको अनुभवबाट सिकेर सबै प्राविधिक साझा मोर्चामा रहन सक्ने बताउँछन्।
राष्ट्रिय उसु च्याम्पियन आर्मी टोलीका प्रशिक्षक राजीव महर्जन उद्देश्यबिनाको सक्रियता नै समस्या भएको बताउँछन्। उनी भन्छन्, 'सबैको समान उद्देश्य र गन्तव्य देखिए त्यहाँ पुग्न बाटो पनि एउटै बन्थ्यो । समस्या छ, तर मलाई लाग्छ यो हाम्रै पहलले नै सम्भव हुन सक्छ।'
पछिल्लो समय नेपालमा सबैभन्दा सफल खेलको रूपमा देखिएको जुडोमा पनि समस्या देखिन थालेको छ। जुडोमा स्थापित शक्ति केन्द्रहरू विस्तारै कमजोर बन्दै जाँदा यसको प्रतिकूल असर देखिन थालेको छ।
यसैकारण जुडोको भविष्य कता ? भन्ने प्रश्न उठ्न सुरु भइसकेको छ । कुनै समय नेपाली जुडोको पावरहाउस मानिएको वीरगन्ज, छैटौं राष्ट्रिय खेलकुदमा चार स्वर्ण पदक दिलाएको कैलाली हुँदै जुडोको अवनतिको समस्या झापा र सप्तरीमा समेत देखिन थालेको छ ।