इम्जिन : एक युद्धबिम्ब

 इम्जिन : एक युद्धबिम्ब

सन् २०१३, अक्टोबरको पहिलो साता दक्षिण र उत्तर कोरियाको सम्बन्ध सामान्य बन्दै थियो । खेसङ गोङदान (दुवै कोरियाले स्थापना गरेको औद्योगिक क्षेत्र) को विवादित विषयलाई लिएर दुई कोरियाका उच्च अधिकारी छलफल गरिरहेका थिए । उत्तरमा पर्ने खेसङ गोङदानमा दक्षिणका लगानीकर्ताको पुनः प्रवेशलाई लिएर सञ्चारमाध्यमले विभिन्न विश्लेषण प्रकाशन र प्रसारण गरिरहेकै बेला अक्टोबर २० मा दुवै कोरियाको सिमाना क्षेत्र अवलोकन गर्ने साइत जुर्‍यो ।

दुवै कोरियाको सिमानालाई डीएमजेड भनिन्छ । सन् १९५० बाट सुरु भएको कोरियाली युद्धमा दक्षिण र उत्तर कोरियाली, चिनियाँ र अमेरिकी गरी ३० लाखभन्दा बढीको ज्यान गएपछि संयुक्त राष्ट्रसंघ र दुवै कोरियाको समझदारीमा २७ जुलाई १९५३ मा यो सिमाना निर्धारण गरिएको हो । विश्वकै खतरा सिमाना भएकाले अन्तर्राष्ट्रिय राजनीतिमा यसको चर्चा र महत्व संसारमै विशेष हुने गरेको छ । जबजब दुई कोरियाबीच खटपट हुन्छ तब विश्वमै डीएमजेडको चर्चा चुलिन्छ ।

यसको अवलोकन गर्न संसारका राजनीतिज्ञ, कूटनीतिज्ञ, पत्रकार, मानवअधिकारकर्मी त्यहाँ पुग्ने गर्छन् । बर्लिनको पर्खाल भत्किएपछि एउटै परिवार, एउटै देश, एउटै जाति र एउटै संवेदनालाई केहीले विभक्त गरेको छ भने त्यो डीएमजेडले मात्रै हो ।यो क्षेत्रबाट १० किलोमिटर उत्तर बढ्यो भने खेसङ गोङदान पुग्न सकिन्छ ।

अक्टोबर २० को दिन बिहान १०.१५ मा गाइड ली जी मिनले यात्राको विवरण सुनाउँदै कोरियाली युद्धको ६०औं स्मरणोत्सवको उपलक्षमा आयोजना गरिएको डीएमजेड पाँचौं अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सवमा हामीलाई आमन्त्रण गरिएको बताइन् । यो महोत्सवको नारा ‘शान्ति, जीवन र सञ्चार’ थियो । लीले हामीलाई कार्यक्रमको विवरण भएको ब्रोसर पनि थमाइन् ।

सोलबाट हामीलाई लिएर बस १०.२५ मा अघि बढ्यो । केहीबेरमै राष्ट्रपति भवन ब्लु हाउस हुँदै उत्तर मोडियो । यात्रामा हामी ३६ जना थियौं । सफा र चौडा सडक, वारिपारि सजाइएका फूल र वृक्षहरू । बस आफ्नै गतिमा दौडिरहेको थियो । हामी केही छिनमै हाना नदीको किनार हुँदै अघि बढ्न थाल्यौं । बायाँतिर नीलिम, स्निग्ध र सूर्यको किरण छचल्किरहेको हाना नदी धीमा गतिमा बगिरहेको थियो । हामी बायाँ किनारको चौडा सडकमा बेगले हुइँकिरहेका थियौं । त्यहाँबाट केही अगाडि बढेपछि किन्टेक्सको बगैंचा र भवन देखिए । ती बाटोमा धेरै परिवर्तन भएका रहेछन् ।

निरन्तर गुडिरहेको बस करिब साढे एघार बजे पुरानो छोटी सहरको चोकमा रोकियो । यात्रामा हामीलाई मार्गदर्शन गरिरहेकी लीले त्यस स्थानबारे जानकारी दिइन्, जुन फाजु नगरपालिकामा पर्ने हेइरी गाउँ रहेछ । लीले यहाँ आधुनिक संग्रहालय रहेकाले आधा घन्टाभित्र अवलोकन गरेर फर्किन आदेश गरिन् । हामी सबै उत्सुकतासाथ बसबाट ओर्लियौं ।

संग्रहालय प्रवेशद्वारमा ‘आधुनिक र ऐतिहासिक संग्रहालय’ लेखिएको थियो । त्यहाँ १९१० देखियताका कोरियाली जनताको आर्थिक, सांस्कृतिक, सामाजिक र यान्त्रिक जीवनशैलीमा आधारित सामग्री थिए । वृद्ध, बालबालिका, दम्पती र विभिन्न निकायबाट संग्रहालय हेर्न आएका आन्तरिक पयर्टकको घुइँचो व्यापक थियो । एक सय वर्षअघिका आफ्ना पुर्खाको जीवनशैली जान्न चाहने सन्ततिका लागि २००५ मा त्यो संग्रहालय स्थापना गरिएको थियो । यसको पुनर्निर्माण २०१० मा गरिएको ब्यानरमा उल्लेख थियो । तीनतले आधुनिक भवनभित्र कोरियाली जीवनमा दैनिक उपभोगमा प्रयोग हुने सामग्री प्रदर्शनीमा राखिएका थिए । पूर्ण औद्योगिक विकास हुनुपूर्व प्रयोग भएका यन्त्रहरू पनि प्रशस्त थिए ।

 इम्जिन नदी लाखौं नरसंहार भएको कोरियाली गृहयुद्धको एकल साक्षी हो । यो लोकेसन कोरियाली युद्धको एउटा बिम्ब हो । इम्जिनमा हजारौं कोरियालीको रगत बगेको छ । इम्जिनमाथि भत्किएको खण्डहर पुल नरसंहारको अर्को प्रमाण हो ।

संग्रहालय छोडेर हामी अघि बढ्यौं । जति अघि बढ्दै गयो उति दुर्गम क्षेत्रको अनुभूति हुन थाल्यो । उद्योग, कलकारखाना केही देखिँदैनथे । सुनसान, पातलो र पुराना बस्तीमात्रै आउँथे दृश्यमा । आकाश उस्तै धुम्मिएको थियो । धेरै पर क्षितिज छुने अग्लाअग्ला पहाडका काखमा धस्किएका पहिरो देखिन्थे । साथीहरू ती पहाडलाई उत्तर कोरिया हो भनेर अनुमान लाउँथे । छिनछिनमा सैनिक हेलिकप्टर घुमिरहन्थ्यो । यस्तै वातावरण छिचोल्दै १ बजे हामी इम्जी नदीको किनारमा पुग्यौं । इम्जीकै किनारमा इम्जिनगाक पार्क रहेछ ।

बसबाट ओर्लिएपछि लीले इम्जिनगाक पार्कको एउटा स्मृति स्तम्भ भएको ठाउँमा लगिन् । त्यो स्तम्भ कोरियाली युद्धको स्मरणमा अमेरिकाली सैनिकले निर्माण गरेका रहेछन् । स्तम्भ वरिपरि विभिन्न मुलुकको राष्ट्रिय झन्डा फहराइरहे पनि नेपालको झन्डा नदेखिँदा हामीलाई खल्लो महसुस भएको थियो ।

हामी इम्जिन नदीको किनार घुम्न थाल्यौं । त्यहाँ आन्तरिक र बाह्य पर्यटकको घुइँचो देखिन्थ्यो । इम्जिन नदी लाखौं नरसंहार भएको कोरियाली गृहयुद्धको एकल साक्षी हो । इम्जिन कोरियाली युद्धको बिम्ब हो । इम्जिनमा हजारौं कोरियालीको रगत बगेको छ । इम्जिनमाथि भत्किएको खण्डहर पुल नरसंहारको अर्को प्रमाण हो । त्यो पुलले कोरियाली युद्धचोट बोकिरहेको छ । त्यहाँ हामीले युद्धको अर्को निर्मम चिह्न देख्यौं । लिकमा राखिएको एउटा थोत्रो रेलको यन्त्र क्षत्विक्षत अवस्थामा देखियो । तोपको निशानीले अस्तित्व गुमाएको त्यो रेलमा अनगिन्ती चोट थिए । यतिका बीभत्स युद्ध निशाना देखेपछि मेरा मनमा अनेक प्रश्न जन्मिए । कोरियाली युद्ध के मानव विकास वा उत्थानकै लागि भएको थियो ? मैले इम्जिनलाई प्रश्न सोधेँ ।

इम्जिन किनारैभरि आधुनिक हतियार बोकेका सैनिक गस्ती गरिरहेका थिए । त्यसैको वरिपरि कोरिया विभाजनका बेला स्वदेश फर्कन नपाएका नागरिकका आफन्तले ध्वजामा सन्देश लेखेर छोडेको देख्यौं । कोरियाली युद्धमा शहादत प्राप्त गरेका र दुवै देशका नागरिकको स्मरणका लागि हराएको इम्जिन किनारलाई १९७२ मा उद्यानको रूपमा विकास गरिएको रहेछ ।

फेरि हाम्रो यात्रा अघि बढ्यो । बाटोमा प्रायः दोङइल जोन (संयुक्त क्षेत्र) लेखिएको ब्यानर र बोर्ड देखिन्थे । इम्जिन नदीको पुलमा गस्तीमा रहेका सैनिकले हाम्रो राहदानी चेक गरे । त्यहाँबाट २० मिनेटका यात्रापछि हामी क्याम्प ग्रिबस पुग्यौं । बसबाट ओर्लिनेबित्तिकै दुईजना महिला देख्यौं । उनीहरू हाम्रा निर्देशक रहेछन् । तीमध्ये एकले क्याम्प ग्रिबस र वृत्तचित्र महोत्सवबारे अवगत गराइन् । सन् १९५३ देखि अमेरिकी सैनिकको स्वामित्वमा रहेको क्याम्प ग्रिबस २००४ मा कोरियालाई हस्तान्तरण गरिएको रहेछ । त्यसपछि कोरियन सरकारले पर्यटकस्थल निर्माण गर्न यहाँ विभिन्न कार्यक्रम आयोजना हुने गरेको पनि ती महिलाले बताइन् । सन् १९७६ मा मृत्यु भएका अमेरिकी सैनिक क्याप्टन आर्थरको नाममा यो क्याम्पको नामकरण गरिएको रहेछ ।

बाटोमा जताततै हतियारधारी कोरियन सैनिक देखिन्थे । हामी एउटा डरलाग्दो बंकरभित्र पस्यौं जहाँ सैनिक धुन बजिरहेको थियो भने ली योङ बेकद्वारा निर्माण गरिएको ‘फ्लावर टेंक’ नामक वृत्तचित्र प्रदर्शनी सुरु हुन लागेको थियो । कोरियाली युद्धमा मारिएका सहिदको सम्झनामा निर्माण गरिएको यस वृत्तचित्रमा केबल सुरुङभित्र फूलको रथ अदृश्य पात्रहरूले हाँकिरहेका थिए । त्यहाँ मूर्त कथावस्तु, पात्र, संवाद वा कुनै घटनावली थिएन । ‘फ्लावर टेंक’ हेरिसकेपछि हामीलाई अर्को बंकरभित्र लगियो । त्यहाँ छन् जोन् होद्वारा निर्माण गरिएको ‘द स्ट्चुअफ ब्रदर’ नामक वृत्तचित्रको प्रदर्शनी हुन लागेको रहेछ । कोरियाली युद्धमा दक्षिणका सैनिकले अवलम्बन गरेको युद्ध कौशललाई यस वृत्तचित्रले समेटेको रहेछ । जम्मा २५ सेकेन्डमा सकिने यो वृत्तचित्रमा विशेष गरेर सैनिकको वार पोजिसन देखाइएको थियो ।

दुवै वृत्तचित्र हेरिसकेपछि हामीलाई एउटा पुरानो हलमा लगियो र भित्तामा कोरिएका विभिन्न चित्र देखाउँदै तिनीहरूबारे वर्णन गरियो । तीमध्ये एउटा चित्र दुरुस्तै स्वयम्भूनाथजस्तो देखिन्थ्यो । चित्र अवलोकन गरेर बाहिर निस्कँदा ३.३० भइसकेको थियो । हामीलाई गाइड गरिरहेकी लीले नेपालीलाई एकपंक्ति बनाएर संख्या गनिन् र बस चढन आग्रह गरिन् ।

बस गन्तव्यतिर मोडियो । बाटोमा साथीहरू सुतिरहेका देखिन्थे । हामी ४.५० मा सोल आइपुग्यौं ।  इम्जिन नदी किनारका युद्ध-चिह्न सम्झिँदै म ट्रेन स्टेसनतिर लम्किएँ । ‘यात्राभर कुशल निर्देशन गरेकी लीलाई धन्यवाद छ’, म आफैंभित्र फुस्फुसाएछु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.