कविताभन्दा पर एक कविको बयान

कविताभन्दा पर एक कविको बयान

तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारबीच शान्तिवार्ता हुँदै थियो । भूमिगत संघर्षमा होमिएका माओवादी कार्यकर्ताहरूको धपेडी केही मत्थर भएकै समय बागबजारस्थित ‘आर्ट चौतारी'मा दुई युवा टुप्लुक्क देखा परे । धमिलो साँझमा आइपुगेका उनीहरू लगत्तै भित्र पसे र, ढोका ढप्काए । अपरिचित युवाको प्रवेशले काम गरिरहेकाहरूको मुटुमा झस्को पस्यो ।

उनीहरू रहेछन्- माओवादी कार्यकर्ता । ब्यानर लेखाउन आएका ।
‘हामी त ढोका थुनेरै ब्यानर लेख्थ्यौं । माओवादीको ब्यानर लेख्दा सुरक्षाकर्मीको डर हुने, राज्यपक्षको लेख्दा माओवादीको डर,' चन्द्र रानाहँछा २०५८ सालको कहरिला दिनहरू सम्झन्छन् ।

राष्ट्रिय कविता महोत्सव-२०७४ मा प्रथम बनेका रानाहँछासँग गफिँदै गर्दा उनी तिनै त्रस्त दिनहरूको स्मरण गरिरहेका थिए ।
उनी आबद्ध ‘वर्कसप'मा लुकिछिपी माओवादी कार्यकर्ताहरू आइरहन्थे । र, सानो कागजको चिर्कटो छाडेर जान्थे । जसमा लेखिएको हुन्थ्यो- ज्ञानेन्द्र सरकार मुर्दावाद, माओवादी जिन्दावाद..... जस्ता नाराहरू ।

दिउँसो ब्यानर तयार गर्नु सम्भव थिएन । किनकि सुरक्षाकर्मीको पहिलो निसानामा पर्थे रानाहँछाजस्तै कलाकार । साँझ परेपछि ढोका थुनेरमात्र उनीहरू ब्यानर लेख्न थाल्थे । जब गस्तीमा हिँडेका सुरक्षाकर्मीको बुटको आवाज ढोकाबाहिर सुनिन्थ्यो, भित्रको बत्ती झ्याप्पै निभ्थ्यो । उनीहरू सास दबाएर बस्थे । ‘विद्रोही पार्टीको नारा लेख्नुलाई राज्यले समर्थन गरेको बुझ्थ्यो, सुइँको पाउनासाथ हाम्रै ज्यानको खतरा हुन सक्थ्यो, त्यसैले पनि भूमिगत शैलीमै काम गर्नुपर्ने बाध्यता बन्यो,' उनी सुनाउँछन् ।

माओवादी कार्यकर्ताहरू सम्झाउँदा रहेछन्- तपाईंहरू जोगिएर काम गर्नुपर्छ । हामीले दिएको सामग्री लेखिदिनुस्, खतरा हामी नै मोल्नेछौं ।'
उनीहरूले भित्तेलेखनका लागि सहयोग मागेपछि रातारात हँसिया-हथौडा र माओवादीका नारा लेख्न राजधानीका भित्ता चहारेको अनुभव छ रानाहँछासँग । कुपण्डोलमा भित्तेलेखन गर्दागर्दै प्रहरी टोलीले एकपटक उनलाई पक्राउ नै गर्‍यो । ‘म त ब्यानर र भित्तेलेखन गर्ने श्रमिक हुँ भनेर बुझाएपछि मात्रै छुटेँ,' खतरामुक्तिको क्षण उनी सम्झन्छन् ।

शान्तिवार्ता तुहियो । २०५८ मंसिर ११ देखि संकटकाल लागू भएपछि माओवादी कार्यकर्ता र रानाहँछाको सम्पर्क पनि टुट्यो । आफूसँगैका केही साथीहरू भने त्यसपछि मारिएको खबर उनले पछि थाहा पाए । ‘नवीन राईलगायतका कार्यकर्ता त बेपत्ता नै हुनुहुन्छ । त्यो बेला हामीबीच राम्रो सम्बन्ध बनिसकेको थियो,' उनको सम्झनामा भावुकता थपिन्छ, ‘राज्यको एकतन्त्रीय व्यवस्थाविरुद्ध र परिवर्तनका लागि क्रान्तिमा होमिुनपरेकोे कुरा गर्नुहुन्थ्यो, कतिजना त सहिद हुनुभएछ ।'
रानाहँछाको रङ र कुचीले अनेक पार्टीका नारा ब्यानरमा उतार्दै आएको छ । उनलाई लाग्छ- नाराहरू फगत स्वैरकाल्पनिक हुन् । मीठामीठा नारा प्रतिपादन गर्ने पार्टी-नेताहरूले भनेझैं हुने हो भने मुलुकको अवस्था धेरै फेरिइसक्थ्यो । तै उनी मन बुझाउँछन्, ‘मीठामीठा नाराले केही परिवर्तन त भएको छ । तर, अझै धेरैको सोच बदलिन जरुरी छ ।'

कलाकार चन्द्रको सपना

रानाहँछामाथि श्रवण मुकारुङले कवितै लेखे- कलाकार चन्द्रको सपना ।
साकेला आर्टमै बसिरहेका थिए, रानाहँछा र अर्का कवि शशि लुमुम्बू । मुकारुङ टुप्लुक्क आइपुगे र, भन्न थाले, ‘हिमाल'ले कविता मागेको माग्यै गर्‍यो । हतारमा एउटा लेखेको छु सुन्ने हो ? '
दुवैले कविता सुने र तत्कालै प्रतिक्रिया दिए, ‘दाजु, तपाईंबाट पाठकले जुन आशा गर्छन्, त्यो कवितामा छँदै छैन हौ ।'
मुकारुङ रन्थनिए र भने, ‘लाखे है त, हुम््..... ।' त्यसपछि उनी उठेर निस्किइहाले ।
‘पछि ‘हिमाल'मा कविता त आयो तर आफ्नै बारेमा,' त्यसबेला आफू तीनछक परेको रानाहँछा सुनाउँछन् ।
....चार फिट एघार इन्चको उचाइ
सप्रिएको भोगटेजस्तो टाउको
कवि मोहन कोइरालाको
फर्सीको जराजस्तै जेलिएको उसको विचार
तर, स्वयम्भू झैं सुन्दर
मेरो भाइ- चन्द्र रानाहँछा
लाहुरे हुन हाइटले दिएन
सैनिक हुन नाकले दिएन
जनसेना हुन खै केले दिएन !
मजस्तै कवि हुन सायद मैले दिइनँ ।
त्यसैले ऊ भएको छ- कलाकार.....
‘सामान्य मानिसमाथि कविता लेख्ने जोखिम जो कोही कविले मोल्दैन । मजस्तो लो प्रोफाइलको मान्छेलाई कवितामा अटाउनु मेरो लागि ठूलो सम्पत्ति हो,' उनी गर्व गर्छन् ।

कविताकै सन्दर्भमा अलि तीतो अनुभूति पनि सुनाए उनले । सरकारी पत्रिकाका सम्पादकले कविता मागेपछि अफिसमै पुगेर कवितासहित फोटो पनि बुझाएछन् । सम्पादकले लगत्तै टाइपमा दिए । हप्ता बित्यो, महिना बित्यो तर कविता छापिएन ।

‘पछि सुनेँ- कविता राम्रो हुँदाहुँदै पनि कविबाट राम्रो ‘रेस्पोन्स' भएन भन्नुभएछ,' सम्पादकको प्रवृत्तिमाथि उनको जिज्ञासा अझै बाँकी छ, ‘त्यो रेस्पोन्स कस्तो खालको हो ? मलाई त थाहा भएन । रेस्पोन्ससँगै अरू केही पनि गर्नुपथ्यो कि ? '

गल्ली-गौंडा र त्यहाँको जमघटसँग सामना गर्नेहरू कति कवि भएका छन्, कति शिथिल । त्यसबेला हुने बहस, आलोचना वा उनीहरूले गुथाउने पगरी मनोवृत्तिको सामना गरियो भने टिक्न सकियो । पचाउन सकिएन भने कवि भ्रमित हुन्छ ।

पछि ती सम्पादक पदबाट हटे । नयाँ सम्पादक आएलगत्तै सोही पत्रिकामा रानाहँछाको कविता छापिएर आयो । शीर्षक थियो- ‘आप्पाको सालिक' ।
हतारमा आँधीको यात्रा

कुची र रङसँग खेल्ने रानाहँछा पेटका लागि ब्यानर लेख्छन्, क्यानभासमा कुची चलाउँछन्, गाडीका नम्बरप्लेट तयार पार्छन् । कहिलेकाहीँ पोट्रेट चित्र पनि कोर्न भ्याउँछन् । र, व्यस्त बागबजारको अँध्यारो/साँघुरो कोठामा बसेर युगौंदेखिको दमनलाई लेख्छन् कवितामा ।

स्थानीय तह निर्वाचनको पहिलो चरणमा विभिन्न पार्टीका ब्यानर, झन्डा बनाउन र टिसर्टमा चुनाव चिह्न प्रिन्ट गर्न उनलाई भ्याइनभ्याइ भयो । रङ र कुची खेलाउँदा खेलाउँदै उनको मस्तिष्कमा भने कविताको भ्रूण विकसित भइसकेको रहेछ । ‘यसअघि दुईपटक सहभागी हुँदै आएकाले यो साल पनि एकेडेमीमा कविता बुझाउनुपर्छ भन्ने थियो,' उनले सुनाए, ‘आहारा खाने चरी आशिषले मात्र नबाँच्दो रहेछ । व्यवसाय पनि गर्नैपर्‍यो । चटारोबीचमै मैले कविताको थिम भने बनाइसकेको थिएँ ।'

जेठको पहिलो साता लेखिएको ‘आँधीको यात्रा' शीर्षकको उनको कविताले नै अन्ततः बाजी मार्‍यो ।

कविताको बिउ र सपनाको प्वाँख

खोटाङमा जन्मिएका रानाहँछा ८/९ कक्षा पढ्दादेखि नै कविता लेख्ने भइसकेका थिए । नेपाली विषय पढाउने गुरु कस्ता भने किताबभन्दा बाहिर जाँदै नजाने । ‘यही कारण पनि साहित्यका आयाम र विधागत ज्ञानबारे कमजोर थिएँ म,' उनी लेखनको सुरुवाती दिन सम्झिन्छन्, ‘कविता त लेख्थेँ तर त्यसमाथि सुझाव दिने र परिस्कृत बनाउन सघाउने कोही थिएनन् ।'

२०५१ सालतिर उनी पढ्ने निर्मलीडाँडाको मनकामना जनकल्याण माविमा नयाँ गुरुको आगमन भयो । चिटिक्क परेको पोसाकमा आएका हक्की स्वभावका उनी थिए- राजन मुकारुङ, मदन पुरस्कार विजेता लेखक ।

मुकारुङ आएपछि रानाहँछाजस्ता विद्यार्थी सीमित विषयमा मात्र बाँधिएनन्, उनीहरूको सिर्जना र पठनको घेरा फैलिँदै गयो । कवितामात्र होइन साहित्यका अन्य आयाम र विधाबारे मुकारुङले सिकाए, कविता-कथाको मूल्य र सिर्जनप्रक्रियाबारे बुझाइदिए । ‘त्यो बेला मेरो मस्तिष्कमा रोपिएको कविताको बिउ नै आज फुलेको हो भन्ने बोध गरेको छु,' उनी यसको श्रेय भने मुकारुङलाई नै दिन्छन् ।

पूर्वी पहाडको दुर्गम गाउँबाट एसएलसी उत्तीर्ण गरेपछि नै उनको सपनाले प्वाँख हाल्न थालिसकेको थियो- राजधानी जाने ।त्यसबेला उनलाई लाग्दोरहेछ- राजधानी सपनाकोे ठूलो सहर हो । त्यहाँ जे पनि पूरा हुन्छ । २०५४ मा उनी जब काठमाडौं छिरे; सोचेजस्तो थिएन राजधानी । ‘कहीँ पनि तत्काल सबै सपना पूरा नहुँदा रहेछन् । यो मेरो भोगाइ हो,' उनले अनुभव साटे ।

उनको पहिलो सपना थियो, गायक बन्नु । गाउँस्कुलमा गाएको, ताली पाएको र सानातिना पुरस्कार थापेकै भरमा उनमा गायक बन्ने हुटहुटी थियो । प्रदीप बम्जनसँग केही समय संगीतको क्लास पनि लिइटोपले । पछि गाह्रो रहेछ भन्ने बुझे र, छाडिदिए । ‘गाएर खान्नँ भन्ने लाग्यो । यो मेरो रहर मात्र रहेछ भन्ने थाहा पाएँ,' उनी भन्छन्, ‘गायक बन्नु त पहाड फोड्नुजत्तिकै गाह्रो पो रहेछ ।'

त्यसो त रहरैरहरमा दुई गीति एल्बम ‘चौबन्दी किन्दिऊँला' (२०५५) र चिनो रुमाल (२०५६) र ‘मनमा आँधी चलेपछि' गीति संग्रह (२०६७) निकालिसकेका छन् उनले । २०६८ मा उनले कथा संग्रह ‘भाउजू लडेको भीर' पनि प्रकाशन गरे ।

संघर्षका दिन

काठमाडौंका गल्लीहरूमा भौंतारिइरहँदा एक दिन रानाहँछाको भेट भयो- दिवाकर भट्टराईसँग । पुरानो बानेश्वरमा ‘भट्टराई आर्ट' चलाउँथे उनी, रानाहँछाले त्यहीँ ६ वर्ष काम गरे । पछि उनको अस्थायी जागिरको ‘सरुवा' भयो बागबजार । भोलामणि हार्तम्छाली अर्का गुरु भएर देखा परे । यहीँ केही समय काम गरेपछि २०६२/६३ को जनआन्दोलनपछि आफैं व्यवसाय सुरु गरे- साकेला आर्ट ।

संघर्षका सुरुवाती दिन सम्झँँदा कवि रानाहँछा स्मृतिको यस्तो दलदलमा पुग्छन्, जहाँबाट फर्कंदा उनको आँखाको कोस रसाइसकेको हुन्छ ।
रत्न राज्ययलक्ष्मी (आरआर) मा ‘नाइट क्लास' धाउँथे उनी । किनकि दिउँसो बागबजारको कपडा पसलमा काम गर्नुपथ्र्यो । ग्राहकले जुन भन्यो त्यही कपडा प्लास्टिकको पोकाबाट निकाल्यो देखायो, पछि पट्याइनसक्दै अर्को ग्राहक आइहाल्ने । फेरि खोल्यो, फेरि पट्यायो ।

त्यहाँ जागिर पाउनका लागि पनि उनले भनसुन गर्नुपरेछ । ‘जागिर लगाइदिनु भन्नकै लागि नैकाप पुगेर आफन्तकहाँ दुई रात बसेको छु,' २०५५ सालतिर उनी फर्कन्छन्, ‘मासिक तलब नौ सय पाउनेगरी कपडा पसलमा पहिलो जागिरको नियुक्ति लिएँ ।'

त्यही पसलका साहुको घरमा एक दिन पार्टीको आयोजना हुने भयो । पसल बन्द गरेर रानाहँछा पनि उनीसँगै न्युरोड गए । दिनभर काम सघाए । जब साँझ पर्‍यो साहुले खानेबस्ने कुरै गरेनन्, बरु गाडी भाडा दिएर पठाए । आफूमाथिको अपमान ठाने या बेवास्ता- उनले भोलिपल्टै जागिर छाडिदिए ।
‘रातभर मलाई साहुको त्यो व्यवहारले घोचिरह्यो । मनमनै कसम खाएँ- पछि म मेरी श्रीमतीलाई उसैको पसलमा लैजान्छु र सबैभन्दा महँगो साडी किनेर उपहार दिनेछु,' लामो सास तानेर उनले सुनाए, ‘तर अहिलेसम्म सकेको छैन ।'

बागबजारको गल्ली मनोविज्ञान

काठमाडौंमा अनेक गल्ली-गल्छेँडा छन् । यही गल्लीहरूसँग जोडिएर कवि-कलाकारको अनेक किस्सा पनि बन्ने गरेका छन् । कतिलाई बागबजारका आदिम र ओसिला गल्लीले कवि बनाएको छ त कति कविलाई यही गल्लीका भट्टीहरूले सिध्याएको छ ।

साठीको दशकदेखि रानाहँछा र बागबजारको नाता बाक्लियो । कवि श्रवण मुकारुङ, विप्लव ढकाल, शशि लुमुम्बू, स्वप्नील स्मृतिलगायतका कविसँगको उठबस र संगतमा उनले आफ्नो लेखन र हैसियत नाप्न पाए ।

त्यसो त साकेला आर्टअगाडि कविहरूको जमघट हुने गौंडा छ- कवि क्याफे । प्रायः दिनको ४ बजे कताकताबाट जमघट सुरु भइहाल्छ । कविता चर्चा, बहस, टीकाटिप्पणीमात्र होइन, शनिबारको अखबारीय परिशिष्टांकमा कुन नयाँ कविको कविता छापियो भन्नेसम्मको चासो हुन थाल्छ ।

गल्लीको कवि मनोविज्ञान पनि गजबको छ । ‘गल्ली-गौंडा र त्यहाँको जमघटसँग सामना गर्नेहरू कति कवि भएका छन्, कति शिथिल,' रानाहँछा भन्छन्, ‘त्यसबेला हुने बहस, आलोचना वा उनीहरूले गुथाउने पगरी मनोवृत्तिको सामना गरियो भने टिक्न सकियो । पचाउन सकिएन भने त्यो कवि भ्रमित हुन्छै हुन्छ ।' आफ्नै समूहकाहरूले पनि कसरी फुक्र्याइरहेको छ र पछाडिबाट आलोचनाको छुरी धस्दैछ भन्ने बुझ्न चाहिँ धेरै अक्कल लगाउनुपर्ने उनी बताउँछन् ।


असल कविताको समीक्षा भएन

रानाहँछाको बुझाइमा कविता जबर्जस्ती कोच्ने चिज होइन । कविता पढिसकेपछि असल पाठक हो भने उसमा पनि कविता जागृत होओस् । ‘कविता चिया पिउँदा वा रक्सी पिउँदा सुनाउने र वाहवाह गरिदिने प्रवृत्ति कविका लागि घातक हो । कविता जतिबेलै र जहाँसुकै पढिने होइन,' उनी भन्छन्, ‘साहित्यको प्राज्ञिक विधा हो कविता, यसलाई सस्तो नबनाऔं ।'

कविताका दुई सर्तबारे उनी प्रस्ट छन् । पहिलो- कविता अनिमात्र वाचन । ‘वाचन जरुरी हो तर त्यहाँ अभिनय हुन थाल्यो भने कविता होइन नाटक, कवि होइन ऊ कलाकार बन्न पुग्छ,' उनको लाइन प्रस्ट छ, ‘कविता सुनिनेभन्दा पढेर बोध गरिने उत्तम विधा हो ।'

कविता लेखनमा ‘केही भएकै छैन' भन्ने सीमित लेखकको भनाइप्रति उनको असहमति छ । अग्रजहरूले कविता संकटबारे चिन्तामात्रै गर्ने तर नयाँ पुस्तालाई लेख्न प्रेरित नगर्ने हो भने झनै समस्या आउने जोखिम देख्छन् उनी । ‘नेपाली कविता मरिहालेको छैन र मर्दैन पनि । पछिल्लो पुस्ताले पनि राम्रा कविता लेखिराखेका छन् । यदि कसैले कविताको आत्मा छैन भन्यो भने कवितामा आत्मा भर्न हामीले कवितै लेख्नुपर्छ,' उनी ढुक्कसाथ भन्छन् ।

कवि उमेश अकिञ्चनले रानाहँछाकै कवितासंग्रह ‘थिविया चराको गीत'मा लेखेका छन्, ‘कवि चिन्ने कुनै हुलिया छैन दुनियाँमा । प्रहरी, सेनाको जस्तो निर्धारित दर्जा छुट्टिने पोसाकमा पनि हुँदैन कवि । तसर्थ थाहा हुन्न- को, कुन दर्जा वा स्तरको कवि हो ? '

एकेडेमीले दर्जा त दियो- प्रथम । तर, अब आफू होइन कविताको असली हुलिया निर्माण गर्न रानाहँछाले कवितै लेख्नुपर्छ । लेखिरहनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.