त्यसबखतको न्यूरोड
यस्तो लाग्छ, आँखा चिम्लेर जंगलमा ध्यानस्थ कुनै तपस्वीलाई भगवान् प्रकट भएर ‘ल माग् के माग्छस्, तँलाई वरदानमा नेपालभित्रको कुनै एउटा घर दिने भएँ, कहाँको घर माग्छस्?' भनेर सोधे तपस्वीले सायद आँखै नखोली जवाफ दिन्छ, ‘भगवान्, उसो भए काठमाडौं न्युरोडको एउट घर वरदान पाउँ न!' न्युरोड अहिले नेपालको त्यस्तो महँगो ठाउँ बनिसकेको छ जसका बारे सर्वसाधारण नेपाली जनताले केवल सपनामात्रै देख्न सक्छन्।
नेपालको मुटु काठमाडौं भनिन्छ। काठमाडौंको पनि मुटु हो-न्युरोड। म त्यही न्युरोडको एक रैथाने बासिन्दा हुँ। वा भनौं, थिएँ। किनभने अहिले न्युरोडमा हाम्रो केही पनि छैन। सिवाय न्युरोडवासी स्थानीय मानन्धरहरूको स्थानीय गुठीमा एउटा हिस्साबाहेक। मेरा बा म जन्मिनुअघि नै न्युरोडको घर बेचेर अन्तै बसाइँ सरिसक्नुभएको थियो। तर, न्युरोडमा बा नभए पनि उहाँका भाइहरू अर्थात् मेरा काकाहरू भने अझै त्यहीँ बसिरहनुभएको छ, हाम्रो पुर्खाको विरासत थामेर।
...
बा अलि सन्की हुनुहुन्थ्यो। जिद्दी। र, जँड्याहा पनि। न्युरोडस्थित हाम्रो मानन्धर गुठीभित्र चिन्न सजिलो होस् भनेर विभिन्न उपनाम भएका समूहहरू बनाइएका छन्। जस्तो तःजः, सुर्ती, सखापा आदि। त्यसमध्ये एउटा समूह हो -भलंद्यः। 'द्यः' भन्नाले बुझिन्छ-यो कुनै भगवान् हो। तर 'भलंद्यः' एउटा अनौठो भगवान् हो। यो सायद ३३ कोटी देवताभित्र नपर्ने भगवान् हो। कुनै काम नगर्ने, खालि बाहिर-बाहिर ‘शो' मात्रै गरिने भगवान्लाई ‘भलंद्यः' भनिन्छ।
हामी त्यो ‘भलंद्यः' समूहका हौं। हामीलाई किन ‘भलंद्यः' भनियो त्यो त थाहा भएन। तर, बा भने हाम्रो समूहको यो उपनामलाई मिल्ने चरित्रका हुनुहुन्थ्यो। उहाँका समकालीन मित्रहरूका अनुसार, चुरोट सल्काउँदा अगाडि सलाई भेटिएन भने उहाँ दसको नोट बालेर सल्काउनुहुन्थ्यो रे। त्यतिबेला रञ्जना हलमा जे फिल्म लाग्छ, त्यो फिल्म उहाँ आफ्ना साथीहरूसँग हाल भत्काइएको क्रिस्टल होटेलमा प्रोजेक्टर लगाएर हेर्नुहुन्थ्यो रे। हलको भीडभाडमा फिल्म हेर्न उहाँलाई मन पर्दैनथ्यो। उहाँको नाम रामप्रसाद मानन्धर भए पनि टोलवासीका माझ उहाँ ‘भलं साहू' का नामले चिनिनुहुन्थ्यो।
अहिले जुन ठाउँलाई हामी ‘न्युरोड' भन्छौं, १९९० सालको भूकम्पअघिसम्म त्यो न्युरोड थिएन। यो ठाउँको नाम ‘पाको पुखुद्यां' अर्थात् ‘पाको पुखुलद्याङ' थियो। १९९० सालको भूकम्पले यो ठाउँ कायापलट गरिदियो। त्यो भूकम्प अरूका लागि महाविनाश भए पनि ‘पाको पुखुलद्याङ' को लागि भने वरदान सावित भएको विश्लेषण केही विज्ञहरूको धारणा छ। किनभने, महाभूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जबराले पाको पुखुलद्याङ टोललाई बीचमा पारेर त्यसको चारैतिर अत्यन्त फराकिला सडकहरू निर्माण गरे।
चोकको बीचमा चाहिँ आफ्नै सालिक खडा गरे। सालिकको उत्तरतिर इन्द्रचोक जोड्ने सडक, दक्षिणतिर पुरानो भन्सार जोड्ने सडक, पूर्वतिर टुँडिखेल पुग्ने सडक र पश्चिमतिर कुमारीघर जाने सिधा र फराकिला सडकहरू बनाए। त्यतिबेला यो सडक कति फराकिलो थियो भने मानिसहरूले ‘यति फराकिलो सडक बनाउने जुद्धशमशेर बौलाएछन्' सम्म भनेका थिए रे। सडक पिच गर्दा पनि आधी भागमात्रै कालोपत्रे परिएको थियो। पीचमा घोडा कुदाउँदा चिप्लिएर लड्छ भनेर आधा गाडी जाने पिच र आधा घोडा लाने ग्राभेल बनाइएको थियो। त्यसपछि भूकम्पमा परी मरेका, घाइते भएका सबैको सम्झनामा त्यहीँनेर एउटा पार्क पनि बनाइएको थियो।
अब आइन्दा पृथ्वी फेरि हल्लिन नपाओस् भनेर पृथ्वीमाथि महादेव आसीन भएको एउटा मूर्ति पनि त्यहाँ स्थापना गरियो। मूर्ति स्थापना भएको केही समयसम्म उक्त ठाउँलाई महादेवथान पनि भन्ने गरिएको थियो। पछि ‘भूगोलपार्क' नामकरण गरियो। नेपालको पहिलो व्यवस्थित पार्क पनि यही नै थियो। जुद्धशमशेरले यही ठाउँको छेउमा नेपालको पहिलो बैंक ‘नेपाल बैंक' खोले। उत्तरपूर्वी कुनातिर एउटा सभाहल बनाए।
नगरपालिकाको कार्यालय पनि त्यहीं अलि पर खडा गरे। जुद्ध वारुणयन्त्र पनि यही ठाउँमा राखे। सरकारी प्रेस पनि यहीँ चलाए। सालिकको चारै दिशामा तीन तल्लासम्मको एउटै डिजाइन देखिने लहरै घर बनाए। ती घरमा पसल कबलहरू पनि निकाल्न लगाए। यसरी यो ठाउँ विस्तारै गुल्जार हुन पुग्यो। एक हिसाबले भनुँ भने यो क्षेत्रलाई जुद्धशमशेरले एउटा व्यवस्थित टोल नै बनाइदिए। त्यो वास्तवमै राजधानी काठमाडौंको नयाँ सडक थियो। तर, नयाँ बनाइएको उक्त सडकले नै पछि टोलको नाम लिन पुग्यो। नयाँ सडकको निर्माण नै यो ठाउँको त्यो मोड हो जहाँबाट पाको पुखुलद्याङ क्रमशः ‘न्युरोड' मा रूपान्तरित हुँदै गयो र अन्ततः देशकै मुटु बन्न सफल भयो।
न्युरोड र मेरा बाको प्रसंग एक सन्दर्भमा आएर जोडिन पुग्छ। त्यो के हो भने नयाँ सडकको विकास र बाको जन्म एकैपटक भएको थियो। वि.सं. १९९० सालको महाभूकम्प आउँदा बा पाँच महिनाको मात्रै हुनुहुन्थ्यो। १९९० सालकै भदौमा उहाँको जन्म भएको थियो। माघ २ गते भूकम्प आउँदा हजुरआमा आफ्नो माइती डल्लुमा सुत्केरी स्याहार्न गइरहनुभएको थियो। अतः पाँचमहिने बुबा पनि त्यतिबेला आफ्नो मामाघरमै हुनुहुन्थ्यो। भूकम्पमा न्युरोडका पनि धेरै घर ढले। धेरै मानिस भत्किएका घरमुनि पुरिए। पुरिएका कोही मरे, कोही घाइते भए। तर, कसको अवस्था के छ कसलाई थाहा?
नयाँ सडकको नयाँ चौखटभित्र मेरा बाले आफ्नो जमानामा एउटा अत्यन्त नयाँ काम सुरु गर्नुभएको थियो-मोटरसाइकल भाडामा दिने नितान्त नयाँ व्यवसाय। त्यतिबेला काठमाडौंमा साइकल चलाउनुसम्म पनि ठूलो कुरा हुन्थ्यो। मंगलघरबाट रु.१३ सयमा किनिएको त्यस बेलायती मोटरसाइकलको नम्बर थियो-२६९।
भूकम्प थामिएपछि मानिसहरू आफ्ना परिवारका सदस्यहरू को-कहाँ छन् खोज्नतिर लागे। तर, त्यो खोजतलासमा बाका पनि बा (मेरा हजुरबा) एकजना भने गायब रहेको पाइयो। कत्ति खोज्दा पनि उहाँको अत्तोपत्तो भएन। महाभूकम्पको त्यस्तो विनाशकारी अवस्थामा यदि परिवारका कुनै सदस्य जति खोज्दा पनि भेटिएन भने त्यसको के अर्थ हुन्छ होला? सायद कत्तिले त्यो अर्थ निकालिसकेको हुँदो हो। तर, हजुरबा त साँझतिर टुप्लुक्क देखा पर्नुभएछ। सबैजना चकित ! उहाँ त वास्तवमा भूकम्प आउनेबित्तिकै घरमा कसैलाई केही नभनी पाकोदेखि हुत्तिएर एकै सासमा डल्लुस्थित ससुराली पो पुग्नुभएको रहेछ, आफ्नो छोरालाई केही भएछ कि भन्ने पीरले।
भलै परिवारको कुल थाम्न धेरैपछि जन्मिएका शिशु हुनुुहुन्थ्यो मेरा बा। बाको शैशवसँगै न्युरोडको विकास पनि क्रमशः बढ्दै जान थाल्यो। ५९ वर्ष बाँचेर बा त बित्नुभयो, तर न्युरोडको विकास भने रोकिएन। त्यो अझै बढ्दो छ।
..
नयाँ सडकको यही नयाँ चौखटभित्र बाले आफ्नो जमानामा एउटा अत्यन्त नयाँ काम सुरु गर्नुभएको थियो। त्यो हो, मोटरसाइकल भाडामा दिने नितान्त नयाँ व्यवसाय। त्यतिबेला काठमाडौंमा साइकल चलाउनुसम्म पनि ठूलो कुरा हुन्थ्यो। त्यस्तो अवस्थामा उहाँले न्युरोड पीपलबोटनेर मोटरसाइकल भाडामा दिने पसल चलाउनुभएको थियो। त्यतिबेला भोटाहिटीमा एउटा पाउदानीवाला साइकल जस्तै सन साइकल भाडामा दिन थालिएको थियो।
न्युरोडमा साइकल भाडामा दिने बाको पसल पहिल्यै थियो। काठमाडौंमा साइकल भाडामा दिने पहिलो पसल भोटाहिटीमा खोलिएको थियो भने दोस्रो पसल बाले न्युरोडमा खोल्नुभएको थियो। भोटाहिटीमा पसल खोल्नेहरू पनि नाताले बाको काका नै पर्नुहुन्थ्यो। पछि बाले न्युरोडकै पञ्चनारायण मानन्धर भन्ने साथीसँग मिलेर मोटरसाइकल पनि भाडामा लगाउनुभयो। त्यसका लागि उहाँहरूले काठमाडौंको मंगलघरबाट रु. १३ सयमा एउटा बेलायती मोटरसाइकल किन्नुभएको थियो। त्यस मोटरसाइकलको नम्बर थियो-२६९। पछि पञ्चनारायणले पार्टनरसिप छोडेकाले त्यो मोटरसाइकल बाको एकलौटी भयो।
त्यसबेला मोटरसाइकल भाडामा दिनुको पनि आफ्नै व्यथा छ। काठमाडौंमा चल्ने भनेको साइकलमात्रै हो। मोटरसाइकल न कसैसँग थियो, न कसैलाई चलाउनै आउँथ्यो। दरबारमा काम गर्ने केही उपल्ला कर्मचारी र नगरका केही धनाढ्यबाहेक अरूसँग मोटरसाइकल थिएन। मोटरसाइकल भाडामा लिन आउनेहरूलाई चलाउनसमेत सिकाइदिनुपथ्र्यो। घन्टाको पाँच रुपैयाँ भाडा। चलाउनलाई सडक पनि उति बनिसकेको थिएन। त्यसैले चउरतिर लगेर सिकाउनुपर्थ्यो।
मोटरसाइकल चलाउन नजान्ने र सिक्ने उमेर पनि नभएका अधबैंसेहरूलाई चाहिँ मोटरसाइकलको पछाडि राखेर आफैंले चलाई उनीहरूको गन्तव्यसम्म पुर्याइदिनु पर्थ्यो। त्यसबापत भाडा लिने गरिन्थ्यो। त्यो एक किसिमले अहिलेको ट्याक्सी सेवाजस्तै हो। त्यतिबेला न्युरोडमा एकजना डिट्ठा साब बस्थे। उनलाई सधैं मोटरसाइकलमा राखेर जावलाखेलसम्म पुर्याउने र साँझ लिन जाने काम बाको थियो। त्यसबापत एक खेपको तीन मोहर भाडा पाइन्थ्यो।
त्यहीबेला बेलायतका लागि तत्कालीन नेपाली राजदूतावासका सेक्रेटरी रामप्रसाद मानन्धर आफ्नो कार्यकाल सकाएर नेपाल फर्किनुभएको थियो। बाको जस्तै नाम भएका रामप्रसाद मानन्धर बाका फुपूको श्रीमान् हुनुहुन्थ्यो। नेपाल फर्कंदा उहाँहरूले ‘जेम्स एक्सल्सर' नामक दुइटा मोटरसाइकल पनि लिएर आउनुभएकोरहेछ। ती दुईमध्ये एउटा मोटरसाइकल बाले किन्नुभयो, रु. २५ सयमा।
अर्को मोटरसाइकलको मूल्य २८ सय ८० रुपैयाँ राखिएको थियो। तर, त्यो किन्ने ग्राहक भने पाइएको थिएन। त्यहीबीच रामप्रसाद मानन्धर बेलायतको राजदूत नियुक्त हुनुभयो। उहाँले बेलायत जानुअघि नै उक्त एउटा मोटरसाइकल बेचेर जाने विचार गर्नुभएको थियो तर सक्नुभएन। पछि उहाँले आफ्नो भाइलाई उक्त मोटरसाइकल जिम्मा लगाएर बेलायत जानुभयो। धेरै प्रयास गर्दा पनि किन्ने कोही नपाएपछि अन्ततः त्यो मोटरसाइकल पनि बाले नै किन्नुभयो।
यहीबीच बा घरबाट अंश लिई छुट्टिनुभयो। न्युरोडमा लहरै चारवटा घर थियो, हजुरबाको। त्यसमध्ये एउटा बाको अंशमा पर्यो। पछि बाले त्यो घर बेचेर पुरानो भन्सारमा अर्को घर किन्नुभयो। बा छुट्टिएर गएपछि मोटरसाइकल पसल मेरा माइला काका हरिप्रसाद मानन्धरको जिम्मामा आइपुग्यो। काका हरिप्रसाद भने बाभन्दा भिन्नै चरित्रका हुनुहुन्थ्यो। उहाँ अत्यन्त मेहनती र जिम्मेवार हुनुहुन्थ्यो।
त्यसमाथि जेठो दाजु अंश लिएर छुट्टिएपछि परिवारको पूरा जिम्मेवारी उहाँको काँधमा आइपरेको थियो। उहाँले मोटरसाइकल भाडाको व्यवसायलाई अझ अगाडि बढाउनुभयो। त्यतिबेला द्वारिकाज् होटेलका मालिक द्वारिकादास श्रेष्ठको पुरानो होटल पारस पनि न्युरोडमै थियो। द्वारिकादाससँग दुइटा सिलिन्डर भएको एउटा अजंगको मोटरसाइकल पनि रहेछ। काकाले ३१ सय रुपैयाँमा त्यो मोटरसाइकल किनेर आफ्नो व्यवसायमा थप्नुभयो।
यो त्यहीबेलाको कुरा हो। राजा महेन्द्रको शुभराज्याभिषेक हुँदा त्यसकै लागि भनेर बेलायतबाट २५० सिसीका पाँचवटा बीएसए मोटरसाइकल नेपाल झिकाइएको थियो। राज्याभिषेकपछि ती मोटरसाइकलहरू जम्मै सेनाका जर्नेलहरूलाई बाँडिएको थियो। त्यसमध्ये एउटा मोटरसाइकल दरबारका पारिवारिक चिकित्सक डा. सुशीलचन्द्र हल्डरले पनि पाएका थिए। काकाले हल्डरको त्यो मोटरसाइकल पनि ६२ सय रुपैयाँमा किन्नुभयो। त्यस्तै राजा महेन्द्रका दिदीका छोरा कुमुद राणाको २५० सिसीको अर्को एउटा मोटरसाइकल पनि ६८ सय रुपैयाँमा किन्नुभयो।
यसरी काकाको मोटरसाइकल व्यवसाय चम्कँदै गइरहेको थियो। त्यसबेलासम्म पेट्रोल ग्यालन (पाँच लिटर) को मूल्य थियो-सात मोहर। नेपाल आयल स्टोर नामको पेट्रोलपम्प पनि न्युरोडमै थियो। त्यतिबेला अहिलेजस्तो नोजलबाट पेट्रोल बेचिँदैनथ्यो। पाँच लिटरको ग्यालनमा पम्फुले तानेर भर्ने र त्यही पेट्रोल मोटरसाइकलको ट्यांकीमा खन्याउने गरिन्थ्यो। नेपाल आयल स्टोर सम्भवतः नेपालकै पहिलो पेट्रोलपम्प हुनुपर्छ।
काकाले मोटरसाइकल त थप्नुभयो, तर काम गर्ने तरिका भने उस्तै थियो। भाडामा लिन आउने ग्राहकलाई पहिले सिकाइदिनुपर्ने। उहाँले पनि धेरैजनालाई मोटरसाइकल सिकाइदिनुभयो। तर, यसरी सिकाइरहँदा कहिले दुर्घटना हुने, कहिले ट्राफिक नियम उल्लंघन हुने र त्यसको सजायचाहिँ आफूले पाइने भएकाले एक दिन हैरान भएर काकाले मोटरसाइकल भाडाको त्यो व्यवसाय त्याग गर्नुभयो। त्यतिबेलासम्म काठमाडौंका अरू पनि एक–दुई ठाउँमा मोटरसाइकल भाडाको पसल खुलिसकेका थिए।
...
जुनबेला न्युरोडमा ‘न्युरोड' बनिसकेको थिएन, त्योबेला यो पूरै क्षेत्र एउटा पोखरी थियो। १९९० सालको भूकम्प अघिसम्म यहाँ बाटो पनि थिएन। नेपाल बैंक, भूगोल पार्क, न्युरोड केही थिएन। खिचापोखरीबाट न्युरोड पीपलबोट हुँदै फसिकेब जाने एउटा साँघुरो बाटोमात्रै थियो। ‘फसिकेब' भनेको फर्सी फल्ने बारी हो। यो बारी सम्भवतः भिरालो ठाउँमा रहेको हुनुपर्छ। भिरालोलाई नेपालभाषामा ‘पाः' भनिन्छ।
त्यो 'पाः' को मुनि अर्थात् ‘क्वय्' अवस्थित ठाउँ भएकैले यो ठाउँको नाम ‘पाको' हुन पुगेको हो। भिरालो ठाउँ भएकोले नै त्यहाँ फर्सीको बारी लगाइएको हुनुपर्छ। यो बारी करिब-करिब आजको इन्द्रचोकदेखि पुरानो अमेरिकन लाइब्रेरी रहेको ठाउँसम्म फैलिएको थियो। त्यो भिरालो ठाउँको मुनितिर एउटा पोखरी पनि थियो। सायद भिरालोबाट आउने पानी त्यही पोखरीमा जम्मा हुन्थ्यो। पोखरी भएपछि त्यसको डिल अर्थात् द्याङ हुने नै भयो। त्यो पोखरीको द्याङलाई नै नेपालभाषामा ‘पुखुद्यां' भनिएको हो जसलाई पछि ‘पुखुलद्याङ' भन्न थालियो। यो पाको, पुखुलद्याङ र फसिकेबजस्ता टोलको नाउँबाटै पनि त्यतिबेलाको यो ठाउँको भूगोल स्पष्ट हुन्छ।
महाभूकम्प अघिसम्म पाकोमा एक लहरमात्रै घर थियो। भूकम्पपछि बाटो बनाउँदा पोखरीको द्याङमाथि समेत घर बनाउन थालियो। यो पोखरीको डिल भएर जाने एउटा बाटो (हाल गोरखापत्र संस्थान रहेको) त्यतिबेला सर्वसाधारणले चलाउने चल्तीको बाटो थियो। बाको विवाह हुँदा झोछेँ बस्ने मेरी आमाको डोली यही बाटो भएर पाको पुर्याइएको थियो भनेर पछिसम्म भनिन्थ्यो। आमाको विवाह हुँदासम्म न्युरोडभन्दा पनि यही बाटो चल्तीमा थियो। त्यतिबेला न्युरोडमा कसैको घरमा धारा थिएन। पानी लिन फसिकेबको सार्वजनिक धारासम्म पुग्नुपथ्र्यो। साँझ एकदमै सुनसान हुने भएकोले पाकोदेखि फेसिकेब (हाल रञ्जना हल) सम्म जान पनि साथी लिएर जानुपर्थ्यो।
भूकम्पपछि ‘पुखुलद्याङ' को पोखरी पुर्ने काम गरियो। र, त्यसमाथि नेपाल बैंकको भवन खडा गरियो। बैंकको भवन बन्नुअघि अवस्थित त्यहाँको पोखरीमा काकाले पनि केही समय खेल्न पाउनुभएको थियो। पोखरी छेउछाउकै ठाउँमा भूगोलपार्क बनाइयो, सरकारी छापाखाना बनाइयो।फराकिलो बाटो र व्यवस्थित भएकोले मानिसहरू भेट्न र जमघट गर्न यस ठाउँलाई रोज्न थाले। २००५ सालमा ‘जनसेवा हल' बनेपछि यहाँ हल्का घुइँचो पनि हुन थाल्यो। हल बनिसकेपछि हाल ‘फोटो कन्सर्न' रहेको घरमा मेरा हजुरबाले आफ्नो मिल्ने साथी सानु स्थापित (पूर्वमेयर केशव स्थापितका ठूलो बुबा। स्थापितको कुलघर पनि पाको पुखुलद्याङ नै हो) सँग मिलेर चिया पसल खोल्नुभएको थियो।
यो ठाउँमा हालसम्म उभिइरहेको पीपलबोट कहिलेदेखि यहाँ छ त्यो मेरो हजुरबालाई पनि थाहा छैन। यही पीपलबोट पछि सबैको भेट्ने ‘प्वाइन्ट' बन्न थाल्यो। सरकारी छापाखाना यहीँ भएकाले त्यस सँगसँगै अरू छापाखाना पनि खुल्न थाले। र, ती छापाखानामा छापिने पत्रपत्रिकाहरू बेच्ने पहिलो ठाउँ पनि पीपलबोट नै बन्न थाल्यो।
मानिसहरू पत्रपत्रिका किन्न, एकआपसमा भेट्न र गफ गर्न यही ठाउँमा जम्मा हुन थाले। यही ठाउँमा भएको भेटका आधारमा कति योजना बने, कति कार्यान्वयन भए, कति नयाँ विचारहरू आए, कति आन्दोलनहरू भए, त्यसको सायद छुट्टै अध्ययन गर्न सकिन्छ। यसरी कुनै बेलाको पाको–पुखुलद्याङ अहिले पूरै नयाँ कलेवरमा यसरी सजिएको छ जसलाई चिन्न पनि अहिले गाह्रो भइसकेको छ।
पुखुलद्याङको पोखरी पुरेर बनाइएको त्यही नेपाल बैंकमा आफ्नो नातिको खाता खोल्न काका अस्ति जानुभएको रहेछ। ‘नातिको अभिभावक आफैं बन्छु' भनेर काकाले आफ्नो नागरिकताको फोटोकपी पेस गर्नुभयो। बैंक कर्मचारीले उहाँको पुरानो नागरिकतामा लेखिएको जन्मस्थान पढेर सोधेछन्-‘बाजे, यो पाको पुखुलद्याङ भनेको कहाँ पर्छ हँ? मैले त आजसम्म नामै सुनेको छैन।' साँच्चै, जुन पुखुलद्याङको पोखरीमाथि बैंक उभिएको छ, त्यही बैंकले समेत आज ‘पाको पुखुलद्याङ' लाई चिन्न छोडिसकेछ !