वायुमण्डलमा हावा बगेको कि आगो ?
बिहानैदेखि काठमाडौंको सडकमा जाम छ। राष्ट्रपति भारत भ्रमणमा जाने र फर्किने दिन सरकारले बिदा दिएको छ। बिदा दिइएको विषयलाई लिएर सामाजिक सञ्जालमा सरकारको विरोध पनि भएको छ। बिदाको पक्षमा पनि आआफ्नै तर्क देखिएका छन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा बिदा दिइएकाले आफ्नो राष्ट्रप्रमुख त्यही देश जाँदा बिदा दिएको हुनसक्छ। जे जे भए पनि ‘बिदै दिनुचैं राम्रो होइन'सर्वसाधारणको असन्तुष्टि सडकभरि छताछुल्ल छ।
हाम्रो दिल्ली उडान समय बेलुका ५ बजेको लागि छ। सडकजामका कारण दिनभरि कतै गइएन। मेरो मन केटाकेटीको भैंm रमाएको थियो। मनमा एक किसिमको कौतूहल र कताकता डर पनि। म पहिलोचोटि हावामा उड्दै थिएँ। हवाईजहाज चढ्दै थिएँ। आकाशमा हवाईजहाज÷हेलिकोप्टर देखेपछि स्कुलका केटाकेटी हुरुरुरु कक्षाबाहिर निस्कन्थे। मलाई सोध्थे, ‘सर, पिलेन चढ्दा कस्तो हुन्छ ? 'अनुभव नगरेको कुरा म कसरी बताऊँ ! तर पनि चढ्नेहरूले बताएका अनुभव भनिदिन्थेँ। सरले भनेपछि केटाकेटी पत्याउँथे। खुरुक्क कक्षाभित्र पस्थे।
हामी हवाईजहाज चढ्यौं। १० मिनेट ढिलो गरी हवाईजहाज उड्यो। उड्नुअघि परिचारिकाले सामान्य जानकारी दिइन्, सुरक्षासम्बन्धी। प्लेनबाट बाहिर हेर्न पाउँछु कि पाउँदिनँ भन्ने लागेको थियो। झ्यालकै सिट परेछ। जमिन छाडेर नेपाल वायुसेवा निगमको व्योमयान हावामा कावा खाँदै तैरन थालेपछि मैले हवाईजहाजको सानो झ्यालबाट हेरेँ। जमिनमा घरहरू सानासाना हुँदै थिए। विमान माथिमाथि जाँदै थियो।
जहाज बादलमाथि पुग्यो। बादलमाथिबाट हेर्दा तलको खाली ठाउँ आकाशै देखियो नीलो। टाढाटाढा हिमालका काँठमा बादलका टुक्रा देखिए। सेताम्मे हिउँ पनि। माथिबाट हेर्दा धरतीलाई सेतो तन्नाले ढाकेको थियो। बादलरूपी तन्ना।
आँखैअगाडि स्क्रिनमा उडानसम्बन्धी जानकारी डिस्प्ले भइरहेको छ। जहाज पाँच सय माइल प्रतिघन्टाभन्दा बढी गतिमा उडेको छ। चौंतीस हजार फिटभन्दा केही बढी उचाइमा पुग्यो जहाज। कल्पना गरेँ, ‘सर्वोच्च शिखर सगरमाथाभन्दा हामी पाँच हजार फिट माथि छौं।'जहाजबाहिरको तापक्रम माइनस ५६ डिग्री फरेनहाइट देखाइरहेको छ। हवाईजहाज पोखरा र भैरहवाको बीचको आकाशबाट पश्चिम लागिरहेको छ। सधैंको उडान रुट त्यो हो होइन, मलाई थाहा छैन। जहाज कञ्चनपुरको आकासबाट भारत पस्यो।
जब हवाईजहाज आकाशमै ओरालो लाग्न थाल्यो, अनौठो आवाज आयो। झसक्कै बनायो। परिचारिकाले सिटबेल्ट बाँध्न अनुरोध गरिन्। सडकमा बस गुडेजस्तै ‘गुडुडुडु'आवाजले मनै सिरिंग बनाइदियो। जहाजले भुइँ टेक्दानटेक्दै परिचारिकाले भनिन्, ‘हाम्रो जहाज इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदै छ। जहाजबाहिरको तापक्रम ४३ डिग्री सेल्सियस रहेको छ। नेपाल वायुसेवा निगमको जहाजमा यात्रा गर्नुभएको धन्यवाद !'
टर्मिनलबाट बाहिरिँदा कर्मचारीले परिचय खुल्ने कागजात माग्दा छोरीले आफ्नो पासपोर्ट नम्बरसहित फाराम भरिन्। मसँग भएको नागरिकताको प्रमाणपत्र नै मेरो परिचय थियो। कारिन्दाले ‘इस्वी संवत्मा जन्म मिति लेख'भन्यो। मैले टुटेफुटेको हिन्दीमै बोलेँ, ‘मलाई थाहा छैन सर। मेरो नागरिकताको प्रमाणपत्र बनाउँदा इस्वी संवत् लेख्ने चलनै थिएन।'कारिन्दा झर्कियो, ‘तिम्रो देश कस्तो हो, अन्तर्राष्ट्रिय संवत् पनि नलेख्ने ? तिमी बाहिर जान पाउँदैनौं।
'कारिन्दाले मेरो नागरिकताको प्रमाणपत्रमा अनेक शंका गरेपछि म सोच्न बाध्य भएँ, ‘नेपालमा अनेक संवत्का चर्चा चल्छन्। जाति, भूगोल, भाषा, धर्म र लिंगका कुरा बेस्मारी उचालिएको छ। तर, घरबाहिर ती कुनै पनि काम लाग्ने रहेनछन्। हामी कुवाकै भ्यागुता भएका हौं त ? साँच्चै, ‘मानिसको अन्तर्राष्ट्रिय जात हुन्छ'भनेको हो पो रहेछ। संवत्, जाति, भाषा, लिंग, भूगोल, धर्म सबै अन्तर्राष्ट्रिय।
म सन् २०१७ मा नागरिकताको आफ्नो उमेर घटाउँदै थिएँ। छोरीले अर्कैअर्कै भरिछन्। इस्वी संवत् लेखेर दिनेबित्तिकै कारिन्दाले मलाई बाहिर जान दियो। साँझ परिसकेको थियो। ट्याक्सी लिएर हामी गुडगाँवतर्फ लाग्यौं। गुडगाँव (गुरुग्राम) हरियाणा राज्यमा पर्दो रहेछ। गुडगाँवको सेक्टर १४ मा पुग्दा रातको ९ बज्नै लागेको थियो। अघिपछि जाँदा छोरीले बस्ने ठाउँ त्यहीँ रहेछ। रामबहादुर खड्का, उनकी श्रीमती र नानीहरू हामीलाई पर्खिबसेका रहेछन्। खड्काजीले छोरी सिरुले ‘व्यञ्जना दिदी !'भन्दै अँगालो हालिन्। व्यञ्जना त त्यो परिवारको सदस्यजस्तै भइसकेकी रहिछन्।
दिल्लीमा घुम्नैपर्ने दुईचार ठाउँका बारेमा इष्टमित्रले बताएका थिए। सात दिनको बसाइमा ती ठाउँ मजाले घुम्न पनि भ्याइन्थ्यो। छोरीले अक्षरधाम र कुतुब मिनार लगिन्। गर्मी सहन सक्दिनँजस्तो लाग्यो। त्यसैले अरू ठाउँ घुम्न गइनँ। ४४÷४५ डिग्रीको तातोले परानै उडाउलाजस्तो भएपछि म कोठाबाट बाहिर निस्कनै सकिनँ। मन्थलीको सामान्य गर्मीमा पनि म कतिचोटि ढलेको छु। त्यसैले पनि मलाई दिउँसो बाहिर निस्कन डर लाग्यो। छोरी किनमेल गर्न एक्लै निस्किइन्।
...
दिउँसो कोठामा एक्लै बसेको छु। खड्काजीका दुवैजना जागिरमा गएका छन्। छोराछोरी पढ्न। गर्मीले छटपटी भएको छ। कोठामा कुलर नचलाए एकछिन पनि बस्न नसकिने। पंखाको त कामै छैन। तातो हावा पो फाल्छ। ससाना केही किताब लगेको थिएँ।
घुम्न गएको मान्छे, गुणरत्न माला, दिव्योपदेश, बुद्धिविनोद पो पढ्न थालेँ। एकै दिनमा ती ससाना पुस्तक पढेर सकिए। अब कसरी दिन कटाउने होला ! नगरकोटीकृत ‘घाटमाण्डु'काठमाण्डुमा थोरै पढ्न भ्याएको थिएँ। उतै लगेर पढ्छु भन्दा छोरीले भनेकी थिइन्, ‘त्यहाँ गएर किताब पढ्न भ्याइन्छ त बाबा? 'किताब नल्याएकोमा पछुतो लाग्यो।
दिल्लीको उखर्माउलो गर्मीमा चुनावी सरगर्मी थपिएको थियो। प्रधानमन्त्री मोदी र स्थानीय उम्मेदवारको फोटो सँगै राखेका ब्यानर बोकेर कार्यकर्ता कुदिरहेका थिए। प्रत्येक बिदालयमा सीसी क्यामरा राख्ने र फ्री वाइफाई व्यवस्था गर्ने मुख्य चुनावी एजेन्डा थिए।
हिन्दीमा लेखिएको ‘बाल महाभारत'पनि पढ्न भ्याएँ। भारतको केन्द्रीय पाठ्यक्रम विभागले हिन्दी भाषाका लागि महाभारत कक्षा ७ का लागि ऐच्छिक विषयमा समावेश गरेको रहेछ। छोटकरीमा महाभारत बुझ्न किताब गज्जब लाग्यो। सवा सय पेजभित्रै महाभारतका सम्पूर्ण कथा। बालबालिकाले बुझ्ने गरी सरल भाषामा महाभारतको बाल संस्करण नेपाली भाषामा पनि आवश्यक छ जस्तो लाग्यो।
अर्को दिन दिउँसो बत्ती गयो। कुलर बन्द भयो। १०÷१५ मिनेटमै कोठा तात्यो। सास फेर्न पनि गाह्रो हुन थाल्यो। बसिखानु भयो र ! छटपटी हुन थाल्यो। मुटु बल्किएर बाहिरै आउलाजस्तो भयो। न फोन छ। न इन्टरनेट। लौ है ! ठूल्दाइकै भूमिमा मर्ने भएँ। म यतै मरेँ भने ! मनमा अनेक तर्कले म्याराथन खेले। गर्मीकै डरले म घुम्न छोरीसँग बाहिर निस्कँन सकेको थिइनँ। आधा घन्टापछि बत्ती आयो। कोठा सामान्य चिसिन आधा घन्टा लाग्यो। मन पनि ठेगानमा आयो। लौ आजचैं बाँचियो है !
...
एक दिन किनमेलका लागि बिहानै गान्धीनगर पुग्यौं। गर्मी चढ्नुअघि नै किनमेल सक्ने योजनासहित। तर, त्यहाँका ठूला पसल र सोरुमहरू १०÷११ नबजी खुल्दा रहेनछन्। मेट्रोमा एसी, ट्याक्सीमा एसी, पसलमा एसी, तर सडकमा निस्कँदा र अटो चढ्दा भने आगो कताबाट निस्कन्छ जस्तो लाग्ने तातो। वायुमण्डलमा हावा बहेको छ कि आगो ! जंगलमा डँढेलो निभाउँदा चारैतिर आगाको बीचमा आफू परेको सम्झना आउँछ मलाई।
दिल्लीमा चुनावी नारा गुञ्जिरहेका थियो। दिल्ली नगर निगमको चुनाव अप्रिल २३ मा हुँदै रहेछ। भाजपाको प्रचारप्रसार थियो गज्जबको। दिल्लीको उखर्माउलो गर्मीमा चुनावी सरगर्मी पनि थपिएको थियो। प्रधानमन्त्री मोदी र स्थानीय उम्मेदवारको फोटो सँगै राखेका ब्यानर बोकेर कार्यकर्ता कुदिरहेका थिए गाडीमा। कतिपय ठाउँमा भाजपाको अत्यन्तै लोकप्रिय नारा लेखेको देखियो। प्रत्येक विद्यालयमा सीसी क्यामरा राख्ने र फ्री वाइफाई व्यवस्था गर्ने मुख्य चुनावी एजेन्डा थिए।
चुनावी नारा लागिरहेकै थिए। अघिअघि भाजपा र पछिपछि कांग्रेस। हामीलाई गान्धीनगरबाट चाँदनीचोक मेट्रो स्टेसन फर्कनु थियो। अटोमा चढ्यौं। वृद्ध चालक थिए। अनुहार उमेरका धर्साले मुजा परेको थियो। खसखस लाग्यो मलाई। सोधिहालेँ, ‘कति वर्षको हुनुभयो ? 'उनले उत्तर दिए, ‘७७ वर्ष।'
‘बुढेसकालमा पनि किन यति कडा परि श्रम गरिरहनुभएको छ तपाईं ? 'उनको जवाफ थियो, ‘नगरे पेट भरिँदैन।'उनी गुजरातका बासिन्दा रहेछन्। जीवनको डिलडिलमा पुगिसकेका ती वृद्धका आँखाका कोसमा कचेरा देखिन्थ्यो। तर, उनको दृष्टि क्षमतालाई भने मान्नैपर्छ। उनी प्रतिघन्टा सय किलोमिटरकै हाराहारीको वेगमा अटो हुइँक्याइरहेका थिए।
सडकमा अरू साधनभन्दा अटोको वेग बढी। अटोचालकहरू निकै आक्रामक हुँदा रहेछन्। गर्मीले दिमाग तातेर पो हो कि ! तर तिनीहरू कुशल चालक पनि हुँदा रहेछन्। अब ठोक्कियो ठोक्कियो भन्यो, छलिहाल्छन्। साना अटोसँग ठूला साधन पनि पो सतर्क हुनुपर्ने। सजिलै उपलब्ध हुनसक्ने सवारी साधन भए पनि अटो (टेम्पु) ले दिल्लीका भव्य र चिल्ला सडकको सुन्दरताको खिल्ली उडाएका रहेछन्।
हेर्दै कुरूप लाग्ने अनुहारका अटो सडकमा छ्यासछ्यास्ती। मेट्रो (सहरी रेल) को यात्रा भने अत्यन्तै व्यवस्थित र आरामदायी हुँदो रहेछ। सपना त यता पनि घरै देखाइएको छ मेट्रोको। काठमाडौंमा मेट्रो चलाउने सपना खै कहिले पूरा हुने हो ! त्यहाँ कति मान्छे चढ्छन् होला एकैदिनमा मेट्रो ? लाग्छ, नेपालको कुल जनसंख्या जति मानिस त दिल्ली र वरपरका सहरमा चल्ने मेट्रोमा एकै दिनमा चढ्लान्।
...
मन बडो चञ्चल भएको छ। दिन कटाउन पनि निकै गाह्रो भएको छ। बस्नै मन लागको छैन। भित्तेपात्रो हेर्छु। यता फर्कने दिन गन्छु। केटाकेटीले तारिख भएको कोठामा विक्रम संवत्को गते कलमले लेखेका रहेछन्। केटाकेटीलाई विक्रमाब्दको गते के काम ? बा–आमाले लेख्न लगाएपछि लेखेका रे। भित्तेपात्रोमा ‘विक्रमी : २०७३–२०७४'मात्र लेखिएको छ। गतेको साटो तिथि मात्रै लेखिएको छ। उतैका राजा विक्रमादित्यको नामबाट चलेको हुनाले त्यतिचैं लेखिदिएका होलान्।
विदेशमा स्थायी बसोबास गरिरहेको पहिलो पुस्तालाई बेलाबेलामा देश आँखामा आइरहँदो रहेछ। चितवनबाट गएका रामबहादुर खड्का हरियाणा सहरी विकास निगम (हुडा) का स्थायी कर्मचारी रहेछन्। सरकारी क्वार्टरमै बस्न दिए पनि घरभाडा भने सरकारलाई तिर्नुपर्ने रहेछ। खड्काले जागिर खाएको २२ वर्ष भइसकेछ। तैपनि खड्का र उनकी श्रीमतीलाई नेपालमा बसेका आफन्त र देशको मायाले कोतरिरहँदो रहेछ। देश बिर्सन कति गाह्रो हुँदो रहेछ है ! तिन्का १५ वर्षे छोरा र १२ वर्षे छोरीमा यतापट्टिको कुनै वास्तापास्ता थिएन। मुस्किलले कामचलाउ नेपाली बोल्न सक्ने बनाएका रहेछन् बाआमाले। तैपनि करकापमा पारेर।
खड्काजी खानासाना खाएपछि सधैं आफ्ना बाआमासँग कुरा गर्थे। बा निकै बिरामी रहेछन्। भर्खरै पेटको अल्सरको अप्रेसन गरिएको रहेछ। चामलको भात र साह्रो चिज खान डाक्टरले बन्देज लगाइदिएका रहेछन्। दमको व्यथाले गाँजेको रहेछ।
खड्काजीका बा निकै गाह्रो गरी बोल्थे। खड्काजी भन्थे, ‘बा, तपाईंलाई गाह्रो भयो। अब नबोल्नुस्।'बासँग कुरा गर्दैगर्दा निकै भावुक बन्थे। भक्कानिन्थे। बोली नै बन्द हुन्थ्यो। आँखाको डिलडिलमा आँसु देखिन्थ्यो। अप्ठेरो मान्दै उनी बाहिर निस्कन्थे। देश र आफन्तको मायाले ऐठन गरेर होला, उनी केही बेर बोल्नै सक्दैनथे।
मैले एक रात सोधेँ, ‘तपाईं अब बस्नै भनेर नेपाल फर्कनुहुन्छ ? 'उनले भने, ‘हामी यतैका नागरिक बने पनि बाउबाजेको सम्पत्ति नेपालमै छ। छोराछोरीको पढाइ पूरा भएपछि हामी त फर्कन पनि सक्छौं। तर यिनीहरू नेपाल फर्कन्नन्।'
सोचेँ, ‘देश कति छिट्टै विस्मृतिमा हराउँदो रहेछ ! दोस्रो पुस्ताले त देश कति छिट्टै भुल्दो रहेछ !'तेस्रोचौथो पुस्ताले त पक्कै आफ्नो ओरिजन नै बिर्सन्छन् होला।
...
फर्कने दिन। अनलाइन ट्याक्सी सेवा (ओला)मा सम्पर्क गरेको दसै मिनेटमा ट्याक्सी ढोकैमा आइपुग्यो। बिहान १०ः४० को उडान समय छ। हँसिला खड्काजीले हामीलाई बिदा गर्दा अँध्यारो अनुहार पारे। नानीहरूले निदाउरो मुख पारेर हामीलाई बाईबाई गरे। खड्काजीकी श्रीमती सोध्दै थिइन्, ‘व्यञ्जना ! अब कहिले आउँछ्यौ ? 'व्यञ्जनाले भनिन्, ‘तीजअघि आउँछु होला।'
झोलाझ्याम्टा राखेपछि ड्राइभरले ट्याक्सीलाई गति लिए। सिरु छोरी नियास्रिएर हामीलाई नै हेरिरहेकी थिइन्। मन बाउँडिएर आयो, ‘फेरि भेट होला त ? '