ह्यारी पटरको २० वर्ष
कक्षा ९ मा ज्यामिती पढाउने शिक्षक छिरिसक्नुभएको थियो । तर म कापी ननिकाली आफ्नै धुनमा थिएँ- आखिर जति पढे पनि बुझ्ने होइन ! बरु चाउचाउ डेस्कमुनि लुकाएर खान थालेँ । अगाडिको साथीले हात पसारी, ‘मलाई पनि देऊ न ।' उसलाई गनेरै दस त्यान्द्रा हातमा राखिदिएँ, मक्ख पर्दै फाँको लगाई । चाउचाउको पैँचो तिर्न होला, साथीले भनी, ‘मसँग एउटा स्टोरी बुक छ, भोलि ल्याइदिन्छु है ।'
भोलि साथीले साँच्चिकै ‘स्टोरी बुक' ल्याएर दिई । शीर्षक अंग्रेजीमै थियो, तर मैले अर्थ पत्ता लगाउनै सकिनँ । गाता अँध्यारो र अनाकर्षक थियो । मलाई पढ्ने तृष्णै जागेन । तर पनि साथीले सम्झेर ल्याइदिएकी, बलजफ्ती पढ्न थालेँ । अचम्मको सुरुआत थियो- न स्थान परिचय, न पात्रसँग भलाकुसारी, न पृष्ठभूमि । पहिलो पानामा एउटा केटा सिँढीमुन्तिरको सानो कोठामा कोचिएर गृहकार्य गर्दै हुन्छ । ऋषिमुनिहरूले प्रयोग गर्ने भनिएजस्तो चर्मपत्रमा ऊ कलम मसीमा चोप्दै मध्यकालीन बोक्साहरूबारे निबन्ध लेख्दै हुन्छ ।
सुरुमा छेउपुच्छर पत्ता लगाउन नसके पनि मैले बिस्तारै अक्षर पहिल्याउँदै गएँ । त्यही किशोरसँगै उसको विद्यालय गएँ, उसका साथीहरू भेटेँ, उसका शिक्षकसँग साक्षात्कार गरेँ र उसका साहसी कामहरूको छेउछाउमा आफू पनि उभिएँ । एकै बसाइमा पढिसकिएको त्यो किताबको अन्तिम पाना पल्टाइसकेपछि लाग्यो, मैले निकै बहुमूल्य वस्तु हात पारेछु ।
त्यो उपन्यास फिर्ता दिन सकिनँ, आफूसँगै राखिराख्ने रहर भयो । साथीलाई फकाएँ, ‘तिमीलाई त्यसको साटो दुइटा किताब दिन्छु नि है ।' उसले सजिलै मानी । यसरी ‘ह्यारी पटर एन्ड द प्रिजनर अफ एजकबन' मेरो भयो । त्यो साथी र मेरो फेसबुकमा सम्पर्क छँदैछ । आक्कलझुक्कल उसलाई देख्दा ह्यारीसँग साक्षात्कार गराइदिएकोमा म मनमनै धन्यवाद दिन बिर्सिन्नँ । ह्यारी पटरका सातवटामध्ये तेस्रो किताब अचम्म किसिमले हात परेपछि बाँकी सबै किताब हामीलाई काकाले किनिदिनुभयो- दुई वटा तत्कालै र बाकीँका तीनवटा प्रकाशित हुने बित्तिकै ।
त्यो पहिलो उपन्यास फेला पारेको पन्ध्र वर्ष भइसक्यो, त्यसयता मैले र दिदीले यी सातवटै उपन्यास कयौंपटक पढिसक्यौं । तर यी उपन्यास पढ्दा मनमा उन्पन्न हुने जादु र आश्चर्य, भय र स्नेह- ती भने अझै उस्तै ताजा छन् । यी किताबहरू पनि हामीसँगै हुर्केका छन् । शृंखलाको हरेक भाग पहिलाको भन्दा गहकिलो र परिपक्व बन्दै गएका छन् ।
गत हप्ता ह्यारी पटर शृंखलाको पहिलो उपन्यास ‘ह्यारी पटर एन्ड द फिलोसफर्स स्टोन' प्रकाशन भएको बीस वर्ष पुगेछ । कैशौर्यका दिन यही किताबसँगै हुर्किएका हामी अहिले उमेरले युवा भइसक्यौं तर आज पनि यसको नाम सुन्दा बेग्लै तरंग उब्जिन्छ । कति मान्छेहरू खिसीटिउरी गर्छन्, ‘कति त्यही बच्चाको किताबको पछि लागेको ? ' मलाई भने टिठ लाग्छ- कस्तो संकीर्ण सोचाइ, कति सीमित परिधि, राम्रो पनि ग्रहण गर्न नसक्ने, बच्चाको र ठूलाको, आफ्नो र अर्काको बाँडफाँट गरिहाल्नुपर्ने । यसलाई एउटा ‘केटाकेटीको', ‘जादुको' वा ‘काल्पनिक' उपन्यासको मात्र बिल्ला भिराइदिने हो भने उपन्यास, यसकी लेखक र पाठकहरू तीनै पक्षलाई अन्याय हुन्छ । व्यक्तिगत रूपमा मलाई यो शृंखलाले धेरै थोक सिकाएको छ, देखाएको छ र अनुभव गराएको छ । समेट्नै नसकिने सम्झनाहरू मेरो समयको सन्दुकमा नासो छोडिदिएको छ । तीनै सम्झनामाझबाट यो पुस्तकको बीसौं वार्षिकोत्सवका अवसरमा बीस बुँदा तयार पार्छु।
साहस
‘ह्यारी पटर'को सातैवटा उपन्यासको एकै शब्दमा संक्षेप हुन्छ- साहस । उपन्यासका पात्रहरूले अप्ठ्यारा परिस्थितिमा पनि दृढ भएर प्रदर्शन गरिरहने बहादुरी र वीरताले जिन्दगीमा आइपर्ने चुनौतीसँग लड्ने हिम्मत दिन्छ । यहाँ लुना लभगुड भन्ने पात्रलाई अरू विद्यार्थीले उडाउँछन् र सताउँछन् तर ऊ आफ्नो सुरमा खुलेर जिन्दगी जिउँछे । प्रोफेसर म्याकगोनागलले सारा संसार आफ्नो विरुद्ध लाग्दा पनि नेतृत्वमा अडिग रहनुपर्ने गुण सिकाउँछिन् । अरू बेला परिवारको स्याहारमै मस्त रहने आमा मली विजलीकी छोरीमाथि आक्रमण हुन लाग्दा उनले दसजना योद्धा बराबरको रौद्र रूप देखाउँछिन् । र, सबैभन्दा महत्ववपूर्ण किसिमको साहस हामीलाई प्रधानाध्यापक डम्बलडोरले बुझाउँछन् ः ‘आफ्ना शत्रुहरूसँग लड्न अदम्य साहस चाहिन्छ । तर आफ्ना साथीहरूविरुद्ध उभिन अझ बढी बहादुरी आवश्यक हुन्छ ।' अर्थात् बहादुरी कुनै खेमाको लागि वा व्यक्तिहरूको लागि सीमित हुनु हुँदैन, यो सधैं निष्पक्ष सत्यकै साथका लागि खर्चिइनु पर्छ।
सिर्जनशीलताको असीमितता
हामी लेख्दै गर्दा आफूले आफैंलाई सोध्छौ, ‘यो सम्भव छ र ? यो अतिशयोक्ति भएन ? यो पात्र अपत्यारिलो भयो कि ? ' रोलिङले आफूलाई यस्तो घेराभित्र बाँधिनन् । सोचाइलाई स्वच्छन्द छोडिदिइन् । उनले सिर्जना गरेका परिवेश, पात्र, परिस्थिति र वर्णनहरूमा एक किसिमको लहडीपन छ जुन सामान्य लेखकले आँटै गर्न सक्दैन । उनका गाडीहरू उड्छन्, सर्पहरू बोल्छन्, मानिस जनावरमा परिणत हुन्छन्, भित्ताका चित्रका मान्छेहरू एकअर्कालाई भेट्घाट गर्न हिँड्छन्, उल्लुले हुलाकीको काम गर्छन् अनि विद्यार्थीहरू कुचोमा उडेर खेल खेल्छन् ।
सबै लेखकले आफ्ना पात्रहरू चिन्छन्, तर जेके रोलिङ भने ती पात्रहरूसँगै बाँच्छिन् । उनलाई हरेक पात्रको जन्मदेखि मृत्युसम्मको इतिवृत्तान्त थाहा हुन्छ ।
वैज्ञानिक आख्यान, स्वैरकल्पना, जादुई यथार्थ वा ‘फ्यान्टासी' लेखनका लागि यी प्रसंग सामान्य नै हुन्, तर रोलिङको विशेषताचाहिँ यी सबै कुरालाई उनले पत्यारिलो बनाइदिन्छिन् । त्यसैले त उनका पाठक हामी पत्याउछौं- हामीलाई पनि जादुई विद्यालय हगवार्टस्मा पढ्ने निमन्त्रणा आउनेछ, हामी पनि डायगन एलीको बजारमा गएर जादुई छडी र लामा रोबहरू किन्नेछौं, मिथकीय जनावर थेस्ट्रलले तान्ने बग्गीमा चढेर नीलो आकाशजस्तो छत भएको ठूलो हलमा पस्नेछौं ।
मित्रता
उपन्यासका तीन प्रमुख पात्र ह्यारी, हर्मायनी र रन त सबैभन्दा मिल्ने साथी भइहाले । अनेक झगडा र मनमुटाव हुँदा पनि उनीहरू एकअर्काप्रति सधैं बफादार रहन्छन् । उनीहरूको जित यही एकतामा अडिएको छ । यसबाहेक यसका पात्रहरूले एकअर्काप्रति मन छुने किसिमले निष्ठा र विश्वास देखाइरहन्छन्, जसले प्रस्ट पार्छ, सम्बन्ध भनेको रगतको साइनोभन्दा धेरै माथिको कुरा हो । उपन्यासले असल र खराब साथी बेलैमा छुट्याइहाल्न पनि सचेत गराउँछ । आफ्ना साथीहरूलाई विश्वास गरेकै कारण घाइते भएका वा मरेका पात्रहरू यहाँ बग्रेल्ती छन् । तर, तीभन्दा बढी छन् पात्रहरू जसले आफ्ना साथीका छोराका लागि जागिर दाउमा राख्छन् र प्राण त्यागिदिन्छन् । मित्रता नटुटाउनकै लागि शिक्षकहरूसँग लाप्पा खेल्छन्, साथीको बचाउमा खतरापूर्ण ठाउँमा फाल हाल्छन् ।
पटरहेड्स नेपाल
नेपाली पटरप्रेमीहरूलाई जोड्ने उद्देश्यले आयशा राई गुरुङले फेसबुकमा स्थापना गरेकी पटरहेड्स नेपालले ह्यारी पटरसँग सम्बन्धित भेला, हाजिरीजवाफ, नाटक र पार्टी आयोजना गर्छ । हाजिरीजवाफमा उपन्यासको आन्द्राभुँडी खोतलखातल गरेर प्रश्न सोधिन्छन्, र यी प्रश्न झर्न नपाउँदै पटरहेडले फ्याटफ्याटी जवाफ दिन्छन् । यही समूहमा ह्यारी पटरमा उल्लिखित वा त्योसँग जोडिएका चिजबीजको किनबेच हुन्छ- स्कार्फ, छडी, घडी, यसका चिन्ह भएको माला, लुगा, बुकमार्क, कप । हाम्रा लागि यी वस्तुहरू वास्तवमै मायावी हुन्छन् । समूहमा प्रत्येक दिन ह्यारी पटरकैबारे सिद्धान्तहरू, कथा, प्रश्न र तस्बिरहरू पोस्ट हुन्छन्, छलफल र विचारविमर्श हुन्छन् । तर ह्यारी पटरले सिकाएजस्तै सबै मिलिजुली, एकजुट, अनि एकअर्काका विचारसँग सहमत नभए पनि सम्मान गर्छौं । व्यक्तिगत गालीगलौज र हानथापमै सीमित र साहित्यभन्दा धेरै पर केही ‘साहित्यिक' समूहले गिजोलेको बेलामा यो समूहले मलाई शान्ति र खुसी दिन्छ । म यहाँका अरू सदस्यजस्तो सक्रिय छैन तर समूहमा व्याप्त पटरमय सद्भाव र चेतनाले गर्दा असल मनहरूको सान्निध्यमा बसेको आभास हुन्छ ।
शोधपत्र
यो रंगीन उपन्यासले मलाई अरू धेर थोक त दियो दियो, स्नातकोत्तरका लागि शोधपत्रको आवश्यकताको समेत परिपूर्ति गरिदियो । मैले शोधपत्रका लागि कति किताब चियाएँ, नित्सेदेखि चोम्स्कीसम्मका सिद्धान्त पल्टाएँ, तर अन्त्यमा मनमै बसेको किताबमा आएर खोज टुंगियो । उपन्यासमा धेरै पात्रले अल्पसंख्यक ‘राक्षस' र ‘मानव-ब्वाँसो' पात्रप्रति गर्ने उपेक्षापूर्ण व्यवहारमाथि मैले अनुसन्धान गरेकी थिएँ ।
लेखनशैली
उपन्यासको कल्पनाशीलता जत्तिकै चाखलाग्दो छ, रोलिङको लेखनशैली । प्रत्येक किताबमा कण्ठै पारेर राखौं जस्ता सुन्दर संवादहरू छन् । मनै लोभ्याउने ठाउँ र सम्बन्धका वर्णन छन् । अनि अहिलेको समयका किशोरवर्गको मनस्थिति र जीवनशैलीलाई दुरुस्तै उभ्याइएको छ । उपन्यासकारले रोमाञ्च र त्रास, द्वेष र प्रेमलाई एकदमै फरक ढंगले प्रस्तुत गरेकी छन् । उनले यसपछि छद्म नाम र आफ्नै नाममा पनि उपन्यासहरू लेखिन्, तर फरक विषयवस्तु र पृष्ठभूमिले होला, लेखनीमा ह्यारी पटरको जस्तो मिठास पाइँदैन ।
जे के रोलिङ
हामी पटरप्रेमीहरू उनकी जन्मदातालाई हाम्री ‘रानी' मान्छौं । उनले जीवनका सबै पीडा पन्छ्याएर लेखनमै आफूलाई समर्पित गरिन् । उनीमाथि हिंसा गर्ने श्रीमान् र त्यसपछिको पारपाचुकेलाई बिर्सिइन् । सानी छोरीलाई हेर्ने जिम्मेवारी सम्हालिन् । मानसिक समस्या र गरिबीसँग लडिन् । उनको इच्छाशक्ति, लगाव र दृढता नै प्रेरणादायी छ । अझ मननयोग्य छ, उनले जीवनका तिक्तता किताबका पानाहरूमा पोखिनन् । उनका प्रमुख पात्रहरू सधैं खुसी, उत्साह र सकारात्मकता नै छरिरहे । रोलिङ अहिले आफ्ना किताबमा प्रयुक्त सकारात्मक सन्देशहरूको जिउँदो प्रतिमूर्ति बनेकी छन् । सामाजिक सञ्जालमा सक्रिय उनी अन्याय वा विभेदका विरुद्ध बोलिहाल्छिन् । ट्रम्पका निर्णयप्रति असहमति जनाउन होस् वा समलिंगी विवाहप्रति समर्थन दर्शाउन, उनी खुलेर अघि आउँछिन् । किताबै बेचेर बेलायतकी रानीभन्दा धनी बनेकी उनी समाजसेवामा पनि सक्रिय छिन् ।
प्रेम
मित्रतालाई यति महत्ववपूर्ण स्थान दिने कृतिले प्रेमलाई सिंहासनमै राखेको छ । यसमध्ये कतिपय प्रेमसम्बन्धहरू किशोर र युवाहरूका बीचमा हुने खालका छन् । तर, त्योभन्दा बहुमूल्य प्रेमका थुप्रै रूप छरिएका छन्— शिक्षक र विद्यार्थीबीचको स्नेह, आफ्ना घरपालुवा जनावरप्रतिको माया, कामप्रतिको समर्पण, यादहरूप्रतिको आशक्ति । र, सबैभन्दा महत्ववपूर्ण, आमा र उनको सन्तानबीचको अलौकिक साइनो । डम्बलडोरले बारम्बार प्रेमको शक्तिले घृणालाई जित्ने यथार्थ बताउँदा र आमाको मायाले मात्र ऊ जिउँदो भएको रहस्य खोल्दा ह्यारीले त्यति वास्ता गर्दैन । तर ह्यारीलाई माया गर्ने मान्छेहरूले उसका लागि पालैपालो आफ्नो ज्यान दिन्छन् । आफू मरेरै पनि उसको जिन्दगीलाई सुरक्षित राख्छन् । त्यसपछि त पाठकहरू र ह्यारीले पनि प्रेमलाई सबैभन्दा बढी कदर गर्छन् । यतिसम्म, मृत्यु आँखाअघि आइपुग्दा पनि ह्यारीले भोल्डेमर्टलाई नडराईकन भन्छ, ‘तँ कमजोर छस् । तैंले मित्रता र प्रेम कहिल्यै अनुभव गर्न पाउँदैनस् । मलाई तँ देखेर दया लाग्छ ।'
मृत्यु
ह्यारी पटरले हामीलाई मृत्युसँग नजिकैबाट साक्षात्कार गराउँछ । आफूले मन पराएका पात्रहरू मर्दै जान्छन्, उनीहरूका सुन्दर सम्बन्ध टुट्दै जान्छन्, हाम्रो मन दुख्दै जान्छ । तर, यिनै घटनाबाट पनि हामी बुझ्छौं, जीवन कति क्षणिक छ, र अमूल्य पनि । रोलिङ आफैंले भनेकी छन्, उनले कति पात्रलाई रुँदैरुँदै मार्नु प¥यो, किनभने त्यो आवश्यक थियो । कुनै अरू किताब भए नराम्रा पात्र जति सबै सखाप भएर राम्राहरूमात्र बाँच्थे होलान्, तर यो उपन्यासमा प्रिय पात्रहरू पनि गल्र्यामगुर्लुम ढल्छन् । र जादुकै संसार भए पनि ती कहिल्यै फिर्ता आउँदैनन् ।
अनुवाद
यो उपन्यास पढिसकेपछि मलाई यस्तो जोश आयो, म यसको पहिलो भागको अनुवाद गर्न थालेँ । तीन चौथाइ जति कापीमा लेखेरै अनुवाद गरेँ, त्यसपछि कम्प्युटरमा टाइप गर्न थालेँ । यसकै लागि पन्ध्र दिनमा नेपाली टाइप पनि सिकेँ । भर्खरै एसएलसी दिएकी, अनुवाद गर्न खासै आउँदैनथ्यो । शब्दकोश हेरीहेरी अनुवाद गर्दा ‘ब्रान्डी'लाई ‘क्षौद' लेख्दा बुवा र दिदी खुब हाँस्नुभएको थियो । यही ख्यालठट्टामा आधाउधि टाइप गरेपछि मैले छोडेँ । पछि ‘ह्यारी पटर र पारस पत्थर' प्रकाशित भएको देख्दा अलिकति ईष्र्या र निकै खुसी लागेको थियो ।
सपनाको सीमितता
कल्पनाको असीमित उडान सिकाएजस्तै ह्यारी पटरले सपनाहरूको सीमितताबारे पनि चेतावनी दिन्छ । जादुई संसारभित्र एउटा ऐना हुन्छ, जसमा हेरे आफ्नो मनको उत्कट चाहना देखिन्छ । सानै हुँदा बाबुआमा गुमाएको ह्यारीले त्यसमा हेर्दा आफ्नो परिवार देख्छ । ऊ लुकीछिपी त्यही कोठामा फर्किन्छ र घन्टौं आमाबाबुलाई धित मर्ने गरी हेरिरहन्छ । यस्तैमा एक दिन डम्बलडोरले उसलाई आएर सम्झाउँछन्, ‘ह्यारी, सपनामा भुलेर जिन्दगी जिउन छोड्न सुहाउँदैन ।' ह्यारी त झसंग हुन्छ नै, हामीले पनि बुझ्छौं- जिन्दगीमा सपना होइन, लक्ष्य लिनुपर्छ ।
अवगुणप्रति सहिष्णुता
ह्यारी पटरका पात्रहरू काला र सेता छैनन् । सबैभन्दा नीच मानिसमा असल बानी छन्, र सबैका प्रिय पात्रहरूमा प्रशस्त खोट र कमजोरी छन् । मानिसमा स्वभावतः हुने रिस, अहंकार, लोभ, ईष्र्या, घृणा, मूर्खता, असुरक्षाको भावना -पात्रहरूमा पनि छन् । यी पात्रहरू हाम्रै प्रतिविम्ब हुन्, असल र खराब पाटोका सम्मि श्रण हुन् । हामी सबैमा खोट भएकै कारण एकअर्काका त्रुटिहरूप्रति अलि सहनशील र समझदार भइदिनुपर्छ, यी पात्रहरूजस्तै ।
मिथक र इतिहाससँग साक्षात्कार
ह्यारी पटरमा विशेषगरी बेलायती वा पश्चिमा मिथक र इतिहासको धेरै प्रयोग भएको छ । यो रोचक उत्पत्तिसम्म पुग्न खुब मजा आउँछ । उनका किताबहरूमा हुने ड्र्यागन र युनिकर्न, गब्लिन र एल्फ, सेन्टोर र जाइन्ट, सबै मिथक र लोककथामा पढ्दै सुन्दै आएका पात्र हुन् । उनका पात्रहरूको छडी घुमाउँदै प्रयोग गर्ने मन्त्रहरूको उत्पत्ति ल्याटिन शब्दहरूबाट भएको हो ।
चरित्र चित्रण
सबै लेखकहरूले आफ्ना पात्रहरू चिन्छन्, तर रोलिङ भने ती पात्रहरूसँगै बाँच्छिन् । उनलाई हरेक पात्रको जन्मदेखि मृत्युसम्मको इतिवृत्तान्त थाहा हुन्छ । उपन्यासमा एकपटक दुई पृष्ठका लागि मात्र देखा परेको पात्र किन नहोस्, उसको रामकहानी नै हामीलाई सुनाउँछिन्, त्यो पनि औधी रमाइलो पारामा । अझ बेलाबेलामा कुनै पात्रको उपन्यासमा उल्लेख नभएका विवरण पनि अवगत गराइराख्छिन् र पात्रहरूमा हाम्रो चासो बढाइराख्छिन् ।
शिक्षा र ज्ञानको महत्व
मलाई निकै रमाइलो लाग्ने पाटो हो, ह्यारी पटरमा बारम्बार शिक्षा, बुद्धि र ज्ञानलाई दिइने विशेष स्थान । आफैं पढन्ते विद्यार्थी रहेकी रोलिङले प्रमुख पात्र हर्मायनीलाई पनि उस्तै पुस्तकप्रेमी बनाएकी छन् । र जादुको संसार भन्दैमा यहाँ कोही पनि नपढी र नसिकी अघि बढ्न पाउँदैन । सबैले विद्यालय जानुपर्छ, किताब घोक्नुपर्छ, अभ्यास गर्नुपर्छ । शिक्षालाई सम्मान गर्दा गर्दै उपन्यासकारले किताब नपढेका तर जीवन पढेका पात्र पनि उत्तिकै सशक्त भएको उदाहरणहरू दिएकी छन् । यी दुई पाटाको सन्तुलित चित्रणले चित्त बुझ्छ ।
समावेशिताको प्रयास
रोलिङले आफ्ना उपन्यासहरू समावेशी बनाउने प्रयास गरेकी छन् । उनका पात्रहरू केही अश्वेत छन्, जुम्ल्याहा भारतीय दिदीबहिनी छन्, चिनियाँ किशोरी छ । पछि हामी अन्य देशका पात्रहरू भेट्छौं, अल्पसंख्यक मानिने राक्षस र मानव ब्वाँसोसँग साक्षात्कार हुन्छ । उनको सबैभन्दा प्रिय पात्र समलिंगी भएको रोलिङले खुलाइसकेकी छन् । यसका महिला पात्रहरू अत्यन्त शक्तिशाली छन् । मन छुने कुरा के छ भने उपन्यासका जति पनि सत्पात्रहरू छन्, तिनीहरूले यो विविधताको सम्मान र संरक्षण गर्छन् । उपन्यासमा पनि आफूभन्दा फरक प्राणीहरूलाई होच्याउने, दबाउने र बेवास्ता गर्ने पात्रहरू प्रशस्त छन् । यसले समाजको यथार्थ झल्काउँछ । तर फेरि तीनै अल्पसंख्यक पात्रहरूका लागि बोलिदिने र अधिकारका लागि लड्ने पात्रहरू पनि उत्तिकै साहसी र निडर छन्, जसले हामीलाई पनि त्यस्तै बन्न उक्साउँछन् । प्रयास पूर्ण त छैन, तर प्रशंसायोग्य अवश्य छ ।
हास्यरस
ह्यारी पटरमा हुर्कंदै गरेको किशोरका धेरै दुख र चुनौती छन्, तर उसका र उसका वरिपरिका व्यक्तिहरूका धेरै रमाइला र सुन्दर पलहरू पनि समेटेका छन् । रोलिङले चुट्किला, संवाद र घटनाक्रमलाई नै हाँसोलाग्दो गरी प्रयोग गरेर पाठकलाई रमाईरमाई पढ्न लगाउँछिन् । अझ जोक पसल खोलेर बसेका जुम्ल्याहा दाजुभाइका करामतहरूले कमेडी सिरियलहरूलाई जितिदिन्छन् ।
शब्दको शक्ति
ह्यारी पटर शृंखलाको अकल्पनीय सफलताले सबै शब्दसाधकको मनमा पक्कै आशा जगाएको छ । एउटा किताबले सारा संसारलाई जोडेर, गन्नै नसकिने पैसा कमाएर, वर्षौंवर्षसम्म करोडौं मान्छेलाई मन्त्रमुग्ध बनाउनसक्छ भने शब्दमा केही जादु त पक्कै छ । पढ्न, लेख्न, सिर्जना गर्न योभन्दा ठूलो उत्प्रेरणा केही होला र ?
असल र खराबबीचको द्वन्द्व
हाम्रो पौराणिक कालदेखि चलिआएको असल र खराबबीचको द्वन्द्वलाई नै उपन्यासले प्रमुख सार बनाएको छ । यसमा असल पाटोले जित्न निकै संघर्ष गर्नुपर्छ, कयौंले बीचमै त्याग्छन्, कति थाक्छन्, कतिले बोझ थाम्न सक्दैनन् । तर, उपन्यासले हामीलाई सम्झाउँछ, एकैछिन गले पनि फेरि उठ्नुपर्छ, यो नकारात्मकतासँग लड्नुपर्छ, बाधाहरू पन्छाउनुपर्छ । शिर ठाडो गरेर बाँच्ने एउटै उपाय यही हो ।
आनन्द
ह्यारी पटरले यथेष्ट मात्रामा दिलाएको सबैभन्दा ठूलो सुख हो, सन्तुष्टि र आनन्द । प्रत्येकपटक भेट्दा अझ नयाँ कुरा थाहा पाएझैं हुने, पात्रलाई नजिकबाट चिनेझैं लाग्ने, झन्झन् स्वाद बस्ने । हाम्री रानीले शब्दको जादुमन्तर गरेकी बीस वर्ष भइसक्दा पनि बीस दिनमात्र बितेजस्तो ताजा र मीठो लाग्ने !