धरानमा पुनः मतगणना माग गर्दै कांग्रेसको नाराबाजी, एमालेको अग्रता कायमै
धरान : धरान ९ र १० वडाको मतगणना विवादमा तानिएको छ। मतगणना सम्पन्न भए पनी निर्वाचन अधिकृतको कार्यालयले मतपरिणाम घोषणा नगर्दै कांग्रेसले पुन मतगणनाको माग गर्दै मत गणना स्थलमा नारावाजी गर्दै विरोध प्रर्दशन गरेको हो।
निर्वाचन अधिकृतको कार्यालयले धरानको ९ र १० वडाको मत गणना पुनः नगरेको भन्दै कांग्रेस कार्यकर्ताले मतगणना स्थल धरान सभागृहमा नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। उनीहरुले ९ र १० वडाको मत गणना पुनः नगरिए सशक्त आन्दोलन गर्ने समेत चेतावनी दिएका छन्। कांग्रेसले वडा नम्बर ९ र १० को पुन मत गणना नगरिए धरानको १८, १९ र २० वडाको मत गणना अगाडि बढाउन नदिने कांग्रेस मेयरका उमेद्वार तिलक राईले बताउनु भयो।
उहाँले कर्मचारीको लापरवाही गरेका कारण ९ र १० वडाको मत परिणाम फरक पर्ने भन्दै पुनः मत गणना गर्न माग गरेको राईको भनाइ छ। एमालेकी उपमेयर उमेद्वार मञ्जु भण्डारीले एमालेको विजयी सुनिश्चित भएपछी कांग्रेसले मतगणनामा अवरोध गरी बखेडा गरेको आरोप लगाउनु भयो। उहाँले लोकतन्त्रमा हार स्वीकार गर्न नसक्नु कांग्रेसको राजनीतिक संस्कार विपरित भएको उहाँको भनाइ छ।
धरान ९ र १० वडाको धरानको १ देखि १० वडासम्म तथा १२ र १४ को मतगणना सम्पन्न भइसकेको छ। निर्वाचन अधिकृतको कार्यालयले धरानको १ देखि ८ वडासम्म तथा १२ र १४ वडाको मत परिणाम सार्वजनिक गरेको छ। धरानको वडा नम्बर १, २, ५, १४ वडामा कांग्रेसले प्यानलै जितेको छ।
एमालेले ३, ४, ६, ७, ८ र १२ नम्बर वडामा विजयी हासिल गरेको छ। वडा नम्बर ९ र १० मा पनि एमाले उमेद्वारहरु प्यानलै विजयी भएपनी कांग्रेसको अवरोधका कारण मत परिणाम घोषणा हुन सकेको छैन्। एमालेले वडा ९ र १० को मत परिणम घोषणा गर्न माग गरेको छ भने कांग्रेसले कर्मचारीले लापरवाही गरेका कारण उक्त वडाको पुनः मतदानको माग गरेको छ। हाल धरानको ११, १३, १५, १६ र १७ वडाको मत गणना भइरहेको छ।
सोमबार मत गणनाका क्रममा संघीय समाजवादीका उमेद्वारले प्राप्त गरेको मत नेकपा मालेका कर्मचारीको नाममा जोडिएपछी समाजवादी, माओवादी र कांग्रेसको अवरोधका कारण चारदिनसम्म धरानको मत गणना रोकिएको थियो। धरानका निर्वाचन अधिकृत कमल थापाले धरान वडा ९ र १०को मतगणनाका विषयमा केही राजनीतिक दलहरुले विवाद गरेकाले निर्वाचन आयोगमा निर्देशन माग गरिएको बताउनु भयो। उहाँले आयोगको निर्देशन अनुसार वडा ९ र १० को विवाद समाधान गर्ने बताउनु भयो।
एमालेको अग्रता कायमै
धरानमा एमाले उमेद्वारको अग्रता कायमै रहेको छ। एमालेका मेयरका उमेद्वार तारा सुब्बा र उममेयरकी उमेद्वार मञ्जु भण्डारीले आफ्नो अग्रतालाई कायमै राख्नु भएको छ। पछिल्लो मत परिणम अनुसार एमालेका सुब्बाले १२ हजार २ सय ७३ मत प्राप्त गर्नु भएको छ। कांगे्रसका मेयरका उम्मेदवार तिलक राईले १० हजार ३ सय ९४ मत प्राप्त गरी एमालेका सुब्बालाई पछ्याइरहनु भएको छ।
माओवादीका अइन्द्र विक्रम बेघाले ५ हजार ६ सय २३ मत प्राप्त गर्नु भएको छ। उपमेयरमा एमालेकी भण्डारीले १२ हजार ३ सय ३४ मत प्राप्त गरी अग्रस्थान ओगट्नु भएको छ। उपमेयरमा कांग्रेसकी श्यामा रेग्मी ९ हजार ९ सय ७२ मत प्राप्त गरी एमालेकी भण्डारीलाई पछ्याइरहनु भएको छ। हाल धरानको ११, १३, १५, १६ र १७ वडाको मत गणना भइरहेको छ।