धरान उपमहानगर ९ र १० वडाको पुनः मतगणना हुने
धरान : धरान उपमहानगरपालिका वडा नम्बर ९ र १० को पुनः मतगणना हुने भएको छ। नेपाली कांग्रेसले मतगणनाका क्रममा कर्मचारीले लापरबाही गरेको भन्दै दुई वडाको पुनः मतगणनाको माग गरेको थियो। कांग्रेसले पुनः मतगणना नभए निर्वाचन परिणाम अस्वीकार गर्ने भन्दै आन्दोलन चर्काएपछि निर्वाचन आयोगले दुई वडाको पुनः मतगणना गर्ने निर्णय गरेको हो।
धरानका प्रमुख निर्वाचन अधिकृत कमल थापाका अनुसार निर्वाचन अयोगको केन्द्रीय कार्यालयले दुई वडाको पुनः मतगणना गर्न निर्देशन दिएकाले सोही पत्रका आधारमा अघि बढ्ने अन्नपूर्णलाई जानकारी दिनुभयो।
निर्वाचन अधिकृतको कार्यालयले धरानको ९ र १० वडाको मत गणना पुनः नगरेको भन्दै कांग्रेस कार्यकर्ताले मतगणना स्थल धरान सभागृहमा नाराबाजी गर्दै शनिबार प्रदर्शन गरेका थिए । उनीहरुले ९ र १० वडाको मत गणना पुनः नगरिए सशक्त आन्दोलन गर्ने समेत चेतावनी दिएपछि निर्वाचन आयोग पुनः मतगणना गर्न तयार भएको हो । कांग्रेसले वडा नम्बर ९ र १० को पुन मत गणना नगरिए धरानको १८, १९ र २० वडाको मत गणना अगाडि बढाउन नदिने कांग्रेस मेयरका उमेद्वार तिलक राईले चेतावनी दिनु भएको थियो ।
धरान ९ र १० वडाको धरानको १ देखि १० वडासम्म तथा १२ र १४ को मतगणना सम्पन्न भइसकेको छ। निर्वाचन अधिकृतको कार्यालयले धरानको १ देखि ८ वडासम्म तथा १२ र १४ वडाको मत परिणाम सार्वजनिक गरेको छ। धरानको वडा नम्बर १, २, ५, १४ वडामा कांग्रेसले प्यानलै जितेको छ।
एमालेले ३, ४, ६, ७, ८ र १२ नम्बर वडामा विजयी हासिल गरेको छ। वडा नम्बर ९ र १० मा पनि एमाले उमेद्वारहरु प्यानलै विजयी भएपनी कांग्रेसको अवरोधका कारण मत परिणाम घोषणा हुन सकेको छैन्। एमालेले वडा ९ र १० को मत परिणम घोषणा गर्न माग गर्दै आएको थियो भने कांग्रेसले कर्मचारीले लापरवाही गरेका कारण उक्त वडाको पुनः मतदानको माग गरेको थियो ।
सोमबार मत गणनाका क्रममा संघीय समाजवादीका उमेद्वारले प्राप्त गरेको मत नेकपा मालेका कर्मचारीको नाममा जोडिएपछी समाजवादी, माओवादी र कांग्रेसको अवरोधका कारण चारदिनसम्म धरानको मत गणना रोकिएको थियो।
एमालेको अग्रता कायमै
धरानमा एमाले उमेद्वारको अग्रता कायमै रहेको छ। एमालेका मेयरका उमेद्वार तारा सुब्बा र उममेयरकी उमेद्वार मञ्जु भण्डारीले आफ्नो अग्रतालाई कायमै राख्नु भएको छ। पछिल्लो मत परिणम अनुसार एमालेका सुब्बाले १२ हजार २ सय ७३ मत प्राप्त गर्नु भएको छ। कांगे्रसका मेयरका उम्मेदवार तिलक राईले १० हजार ३ सय ९४ मत प्राप्त गरी एमालेका सुब्बालाई पछ्याइरहनु भएको छ।
माओवादीका अइन्द्र विक्रम बेघाले ५ हजार ६ सय २३ मत प्राप्त गर्नु भएको छ। उपमेयरमा एमालेकी भण्डारीले १२ हजार ३ सय ३४ मत प्राप्त गरी अग्रस्थान ओगट्नु भएको छ। उपमेयरमा कांग्रेसकी श्यामा रेग्मी ९ हजार ९ सय ७२ मत प्राप्त गरी एमालेकी भण्डारीलाई पछ्याइरहनु भएको छ।