विराटनगर महानगरमा कांग्रेस विजयी : मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की
विराटनगर : विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की (इन्दु) विजयी हुनु भएको छ।
शनिबारसम्म गणना भएको अन्तिम मत परिणामअनुसार पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निटकतम प्रतिस्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९ सय ५८ मत प्राप्त गर्नुभयो ।
उपमेयरमा कांग्रेसकी कार्कीले २० हजार १ सय ४६ र उहाँकी निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५ सय २४ मत प्राप्त गर्नुभयो । नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले तेस्रो स्थान प्राप्त गर्दै १० हजार ५ सय ३६ मत ल्याउनु भयो ।
पराजुलीले भन्नुभयो,‘महानगरभित्र काँग्रेसको बलियो संगठन र मतदाताको समर्थन प्राप्त गरेरै म विजयी बनेको हुँ।’ पराजुलीले राजनीतिक र औद्योगिक नगर विराटनगरको साख फिर्ता गराउन यहाँको विकासलाई पहिलो प्राथमिकता दिने बताउनु भयो। उपमेयर कार्कीले आफ्नो पार्टीले प्रमुख पद र अधिक वडामा बहुमत प्राप्त गरेकोले जनभावनाअुनसार काम गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो।
विराटनगरमा स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले मेयरउपमेयरमा तालमेल गरेका थिए। काँग्रेसले एकल उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएको थियो।
नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका ४४ वर्षीय पराजुली विराटनगर–३ पोखरिया निवासी हुनुहुन्छ। निम्नमध्यम वर्गीय परिवारमा जन्मिएका पराजुली महेन्द्र मोरङ क्याम्पसको स्ववियूको नेतृत्व लिँदै काँग्रेको राजनीतिमा सक्रिय हुनु भएको हो।
२०४६ सालको जनआन्दोलनमा स्थानीय जनता माविमा पढ्दै गर्दा पनि उहाँ आन्दोलनका कार्यक्रममा सहभागी हुने गर्नुहुन्थ्यो। महेन्द्र मोरङ क्याम्पसमा २०५५ सालमा स्ववियु सदस्य, २०५७ मा कोषाध्यक्ष र २०५९ मा सचिव हुँदै २०६१ मा सभापति पदमा निर्वाचित हुनुभयो। पार्टीबाट टिकट नपाएपछि बागी उठेर उहाँ सम्पूर्ण टिमसहित विजयी हुनु भएको थियो। युवामाझ निकै लोकप्रिय मानिएका पराजुली काँग्रेस विराटनगरको सभापतिमा उहाँले २०६८ र २०७२ मा दोस्रो पटक जितेर नेतृत्व लिनु भएको छ।
साइत हेराएर मनोनय र मतदान
धर्मकर्ममा निकै रुची राख्ने पराजुलीले उम्मेदवार बनेपछि साइत जुराएर मनोनयन दर्ता गराउनु भएको थियो। मतदान गर्न पनि धार्मिक पण्डितबाट साइत हेराएर उहाँ मतदान गर्नु जानु भएको थियो। चुनावको ६ दिन अघिसम्म पराजुलीले विराटनगरको काली मन्दिरमा अखण्ड जाप गराउनु भएको थियो। बिहान सबेरै उठ्ने पराजुली बिहान एक घण्टा आफैं नित्य पूजाआजा गर्नुहुन्छ। तराईमा मनाइने लोकप्रिय पर्व छठमा भाकल मागेर पराजुलीले जमिनमा घस्रिदै घाटसम्म पुगेर आरधना गर्ने गर्नुहुन्छ।
हक्की र निडर नेतृ
सर्लाहीको साविक धनकौल गाविसमा जन्मनु भएकी ५७ वर्षीया इन्दिरा कार्कीको राजनीति २०४७ सालबाट सुरु भएको हो। विराटनगर २ मा काँग्रेसको सभापति हुँदै उहाँ नेपाल महिला संघको जिल्ला सहसचिव भई केन्द्रीय सदस्यको नेतृत्वसम्म पुग्नुभयो। तीन कार्यकाल महासमिति सदस्यको रुपमा पार्टीमा राजनीति गर्नुृभएकी कार्की कोइराला निवासमा नेतृ नोना कोइरालासँग हाक्काहाक्की कुरा राख्न सक्ने नेतृको रुपमा समेत चिनिहुन्थ्यो। पार्टी विभाजनपछि प्रजातान्त्रिक काँग्रेस नजिक भएर काम गर्नु भएकी नेतृ कार्की भन्नुहुन्छ,‘निरन्त पार्टीमा योगदान गरेकैले अवसर पाए अब जनताको सेवा गरेर विराटनगरको समुन्नतिमा लाग्ने छु।’
फोरम कांग्रेसबीच नै टक्कर
विराटनगर महानगरको अन्तिम मत परिणामअनुसार १९ वटा वडामध्ये मध्ये काँग्रेसले ७, संघीय समाजवादी फोरमले ६ र एमालेले ३ स्थानमा जितेका छन। काँग्रेसले वडा नं. १, ३, ४, ७, ८, ९ र १६ जितेको छ। संघीय समाजवादी फोरमले १२, १३, १४, १५, १७ र १८ छ स्थानमा जितेको छ। एमालेले वडा नं. २,५ र ११ मा गरेर तीन स्थानमा विजयी भएको छ। माओवादी केन्द्रले वडा नं. ६ र वडा नं. १९ मा काँग्रेसका विद्रोही उम्मेदवारको नेतृत्व गर्दै बद्रीनारायण सरदारको प्यानल नै विजयी भएको छ।