केडिया परिवारमा अंशवन्डा
काठमाडौं : देशकै पुरानोमध्येको व्यापारिक घराना केडिया परिवारले अंशवन्डा गरेका छन् । १९६० सालतिर दाजुभाइ सुन्दरमल र रामकुमार केडियाले वीरगन्जमा व्यापार सुरु गरेयता सगोलमै व्यापार गरिरहेको परिवारले अंशवन्डाको प्रक्रिया टुंग्याएको छ । परिवारचाहिँ झन्डै डेढ सय वर्षदेखि सगोलमै थियो ।
व्यापारिक घरानाले अंशवन्डालाई परिवारको रिस्ट्रक्चर भन्ने गर्छन् । ‘वर्ष दिनदेखि रिस्ट्रक्चरको प्रक्रियाले गति लिएको थियो', परिवारका एक सदस्यले भन्नुभयो, ‘केही झिनामसिना काममात्र बाँकी छन् ।'
महाविर र बृजलाल केडिया (सुन्दरमलका छोरा) का १० छोराबीच बराबरी भागवन्डा गरिएको छ । महाविर केडियाका ६ र बृजलालका तीन छोरा थिए । उद्यमी पशुपति मुरारकाका अनुसार मारवाडी परिवारमा सबैले आदेश पालन गर्ने एकजना मूली हुने परम्परा छ, यस्ता मूली रहेसम्म परिवार सगोलमै अनुशासनमा बाँधिएको हुन्छ । परिवारमा यस्ता मूली नभएपछि छुट्टिन्छन् । केडिया परिवारमा शंकरलाल यस्तै मूली थिए । उनको निधन भए लगत्तैदेखि परिवारमा अंशवन्डाको प्रयास सुरु भएको थियो । ‘एक वर्षदेखि अबचाहिँ टुंग्याउनै पर्छ भनेर एकपछि अर्का मिटिङ भए', परिवारका एक सदस्यले सुनाउनुभयो । अंशवन्डा गर्दा जसले जुन व्यापार जिम्मा लिएको उसैलाई दिइएको छ । असल, कमसल छुट्याई भागमा कमसल परेकालाई जग्गामा धेरै दिएर चित्त बुझाइएको छ ।
केडिया परिवारको वीरगन्जमा धेरै जग्गा छ । काठमाडौंलगायत धेरै सहरमा तिनको जग्गा छ । ‘पछिल्लो समय विस्तारित हुन नसके पनि ऋण थोरै थियो', परिवारका सदस्य भन्नुहुन्छ, ‘यसैले धेरै विवाद भएन ।'
इन्दुशंकर चिनी उद्योग, वीरगन्ज खाद्य उद्योग हिरालाल केडियाको भागमा परेको छ । उनैका छोरा राजेशको जिम्मामा चिनी उद्योग थियो । यती कार्पेट र डीएभी स्कुल शंकरलाल केडियाका छोरा (सुनिल र अनिल)को भागमा पर्यो । बृज सिमेन्ट र अर्घाखाँची सिमेन्टमा रहेको केडिया परिवारको सेयर ताराचन्दको भागमा परेको छ । अर्घाखाँची सिमेन्ट केडिया अर्गनाइजेसनका साथै मुरारका र सिद्धार्थ समूहको साझेदारीमा सञ्चालित छ । ताराचन्दका छोरा मनोजले सिमेन्ट उद्योग जिम्मा लिएका थिए । सिद्धार्थ बैंक र सिद्धार्थ इन्स्योरेन्सको प्रमोटरमा पनि केडिया परिवार छ, मनोज दुवैमा अध्यक्ष छन् । तिनमा रहेको सेयरलाई बाँडीचुँडी गरिएको छ । सुशील वनस्पति उद्योग रतनको भागमा परेको छ । सुन्दर स्टिल र केही ट्रेडिङ कम्पनी सीताराम केडियाका छोराले पाएका छन् ।
सीताराम मिल्कस विश्वनाथले पाएका छन् । यो उद्योग १३ वर्षदेखि विश्वनाथका एकमात्र छोरा सुमितले सम्हालिरहेका छन् । कालिमाटीमा रहेको केडिया परिवारको पुख्र्यौली घरचाहिँ बृजलालका छोरा् शंकर, ताराचन्द र डा.दिनानाथका सन्तानको भागमा परेको छ । सम्पत्ति १० भाग लगाइए पनि अंश पाउनेका छोरा, नातीचाहिँ व्यापारमा सक्रिय छन् । आफ्नोे भागबाट फेरि भागवन्डा गर्ने जिम्मा तिनकै हुनेछ । यसैले १० भागपछि सगोलमै रहन नचाहनेबीच पुनः अंशवन्डा गर्नुपर्नेछ ।
अंशवन्डा नगरेकै कारण एक समयको अग्रणी घराना पछिपरेको ठानिएको छ । परिवार ठूलो हुँदै गए पनि व्यापारको विस्तारचाहिँ करिब रोकिएको थियो । मेहनत गर्नेले पनि जिम्मा लिएको उद्योग÷व्यापारलाई विस्तार नगर्ने, अल्छि सदस्यले काम नगर्ने प्रवृत्तिको कारण केडिया परिवार पछिपरेको थियो । विस्तार गरे पनि ठूलो परिवारका सबैको भाग लाग्ने भएकाले पनि राम्रो गरेका इकाइको पनि खासै विस्तार भएन । इन्दुशंकर चिनी उद्योगले राम्रो व्यापार गरे पनि यसको जिम्मा पाएका राजेश केडियाले उद्योगकै क्षमता विस्तारका कामबाहेकमा रुचि देखाएनन् ।
अनिल केडियाले यती कार्पेटलाई उचाइमा पुर्याए पनि उनी कार्पेट र डीएभी स्कुलमै खुम्चिएर बसेका थिए । आधारशीला सुन्दरमल र रामकुमारले राखेको केडिया घरानालाई बृजलाल र शंकरलाल केडियाले उचाइमा पुर्याएका थिए । बृजलाल २०५५ सालमै दिवंगत भएका थिए । १३ वर्षअघि शंकरलालको निधन भएपछि केडिया अर्गनाइजेनको विस्तार रोकिएको थियो ।
.व्यापारिक घरानाले अंशवन्डालाई परिवारको रिस्ट्रक्चर भन्ने गर्छन् ।
.महाविर र बृजलाल केडियाका १० छोराबीच बराबरी भागवन्डा गरिएको छ ।
.अंशवन्डा गर्दा जसले जुन व्यापार जिम्मा लिएको उसैलाई दिइएको छ ।
.अंशवन्डा नगरेकै कारण एक समयको अग्रणी घराना पछिपरेको ठानिएको छ ।
रिस्ट्रक्चरपछि परिवारका केहीले तीव्र गतिमा व्यापार फैलाउने आस गरिएको छ । मनोज र अनिल केडियाले केही वर्षमै छलाङ मार्ने विश्वास परिवारका साथै तिनलाई चिन्ने व्यापारीले गरेका छन् । तर, अनिललाई भर्खरै यती कार्पेट उद्योगमा भएको आगलागीले धक्का पुर्याएको छ । उनलाई उद्योग पुनः सञ्चालनमा ल्याउन कम्तीमा वर्षदिन लाग्ने अनुमान छ । यती कार्पेटले घरेलु बजारमा ६० प्रतिशतभन्दा बढी बजार अंश ओगटेको थियो ।
शंकरलाल केडियाले आत्मकथामा लेखेअनुसार गणेशदास केडिया १९४० तिर व्यापार गर्न वीरगन्ज आएका थिए, हावापानी पचाउन नसकेपछि भारत फर्किए । उनकै छोराद्वय सुन्दरमल र रामकुमारले १९६० मा पुनः वीरगन्ज आएर कपडाको व्यापार सुरु गरेका थिए । १९९१ सालमै वीरगन्जको अलखिया रोडमा केडिया अर्गनाइजेसनको मुख्य कार्यालय रहेको भवन निर्माण गरिएको थियो ।
राणाकालमै काठमाडौंको मखनमा कोठी (पसल) खोलेर व्यापार विस्तार गरिएको थियो । २००० सालमा वीरगन्जमा भगवती राइस मिल स्थापना गरी केडिया परिवार कृषिजन्य उत्पादन सुरु गरेको थियो । २०१४ सालमा आइपुग्दा केडिया परिवारको लगानीका राइस मिलको संख्या १४ पुगिसकेको थियो । सामाजिक क्षेत्रमा पनि सक्रिय केडिया परिवारले सुन्दरमल रामकुमार कन्या विद्यालय, रामकुमार महाविरप्रसाद केडिया आँखा अस्पताल, संस्था केडिया परिवारको सहयोगमा खुले । आदर्शनगरको निर्माण, २००१ सालमा क्लोथ मर्चेन्ट एसोसिएसन (पछि वीरगन्ज उद्योग वाणिज्य संघ) गठन आदि केडिया परिवारको पहलमा भएका थिए ।