सरकारी कोषमा दुई खर्ब बचत

सरकारी कोषमा दुई खर्ब बचत

काठमाडौं : सरकारी कोषमा चालू आर्थिक वर्ष करिब दुई खर्ब रुपैयाँ बचत हुने भएको छ । पुँजीगत बजेट खर्च बढ्न नसकेपछि कोषमा रकम थुप्रिन पुगेको हो । आर्थिक वर्ष सकिनै लाग्दा सरकारी कोषमा दुई खर्ब २१ अर्ब रुपैयाँ बचत छ । यो रकम अघिल्ला वर्षभन्दा बढी हो ।महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २१ सम्म ६ खर्ब ८९ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको छ ।

यसमा पुँजीगत बजेट निकै न्यून एक खर्ब ३९ अर्ब ६६ करोडमात्र खर्च हुन सकेको छ । सरकारले ल्याएको १० खर्ब ४८ अर्बको बजेटमा पुँजीगततर्फ तीन खर्ब ११ अर्ब ९४ करोड विनियोजन थियो । विनियोजित बजेटको ४५ प्रतिशतमात्र बजेट हुन सकेको छ । यो वर्ष पौने दुई खर्बको हाराहारीमा ‘ट्रेजरी सर्पलस' हुने सम्भावना देखिएको अर्थ मन्त्रालयका सहसचिव लक्ष्मण अर्याल बताउनुहुन्छ ।

सरकारले यसवर्ष ६ खर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ । असार २१ सम्म पाँच खर्ब ५३ अर्ब ७० करोड उठिसकेको छ । अझै ५५/६० अर्ब राजस्व उठ्ने अर्थ मन्त्रालयको अनुमान छ । भन्सार विभागले असार १९ गतेसम्म दुई खर्ब ४५ अर्ब २१ करोड राजस्व संकलन गरिसकेको छ । ‘भन्सार असुलीको लक्ष्य पुगिसकेको छ, अझै समय बाँकी रहेकाले यस वर्ष भन्सार असुली एक सय चार प्रतिशतसम्म पुग्ने देखिन्छ', विभागका निमिक्त महानिर्देशक शोभाकान्त पौडेलले भन्नुभयो ।

यसैगरी, आन्तरिक ऋणबाट ८८ अर्ब उठेको छ । गत वर्षको एक खर्ब १५ अर्ब रुपैयाँ मौज्दात थियो । यस्तै, वैदेशिक ऋण एक खर्ब १५ अर्ब र वैदेशिक अनुदान ७५ अर्ब उठ्ने भएको छ । यो वर्ष सवा १० खर्बजति स्रोत जुट्दैछ । तर, बजेट खर्च धेरै भयो भने पनि साढे आठ खर्बसम्म पुग्नसक्ने अनुमान छ । असार २१ गतेसम्म ६ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ ।

आर्थिक वर्षको अन्तिम महिनामा बढी बजेट खर्च हुने गरेको विगतका वर्षले पनि देखाउँछन् । कतिपय कामको बिलतिर्न बाँकी (पेन्डिङमा) रहेको हुन्छ । पछिसम्म पनि बिलको चेक काट्ने काम भइरहन्छ । बिल भरपाई, रकम निकासा आर्थिक वर्षको अन्तिमतिर बढी हुने गर्छ । असार १६ गतेसम्म कुल बजेट खर्च ६ खर्ब २९ अर्ब रुपैयाँ थियो । पाँच दिनको अवधिमा (२१ गतेसम्म) ५९ अर्ब रुपैयाँ खर्च भएको देखिन्छ । असार नौदेखि १६ गतेसम्म ३४ अर्ब रुपैयाँ खर्च भएको छ । आँकाडाले अन्तिम समयमा बजेट खर्च बढी हुने देखाउँछ ।

पुँजीगत बजेट खर्च बढ्न नसकेपछि कोषमा रकम थुप्रिन पुगेको हो ।

‘अर्थ मन्त्रालय असारमा बढी खर्च हुने बताउँछ, फेरि असारमै सबैभन्दा बढी कर असुली पनि हुन्छ', राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भन्नुभयो, ‘अहिले दुई सय २१ अर्बजति बचत छ, अझै ५०/६० अर्ब राजस्व उठ्न बाँकी छ, सरकारले उल्लेख्य बजेट खर्च गरे पनि करिब दुई सय अर्ब बच्ने देखिन्छ ।' तर, यो वर्ष सरकारी खर्च बढेको उहाँको भनाइ छ ।

नेपालमा पछिल्ला वर्ष पुँजीगत बजेट खर्च हुन सकिरहेको छैन । यो वर्ष सरकारले पुँजीगत बजेट ८४ प्रतिशत खर्च गर्ने लक्ष्य राखेको थियो । अहिलेसम्मको खर्च गराई हेर्दा लक्ष्यभन्दा धेरै पछडि रहने देखिन्छ । ‘पुनर्निर्माणको निहुँमा ठूलो आकारको बजेट ल्याइयो', अर्थविद् स्वर्णिम वाग्लेले भन्नुभयो, ‘तयारीबिना ल्याइएको बजेट खर्च गर्न नै मुस्किल परिरहेको छ ।' सरकारले खर्च गर्न सकिनेगरी वास्तविक बजेट ल्याउनुपर्ने उहाँको सुझाव छ।

दुई चरणमा भएको स्थानीय तहको निर्वाचन आचारसंहिताले पनि बजेट खर्च केही प्रभावित भएको वाग्ले बताउनुहुन्छ । कर्मचारीको काम नगर्ने र जोखिम मोल्न पनि तयार नहुने परिपाटीले बजेट खर्च प्रभावित हुने गरेको छ । सरकारले पूर्वाधारमा ठूलो रकम छुट्टाउँदै ठूलो आकारको बजेट ल्याउने गर्छ । तर, धेरैजसो बजेट विनियोजन भएका ठूला पूर्वाधार निर्माणमा सिन्को भाँचिएको देखिदैन ।

आगामी वर्षदेखि बजेट खर्चमा सुधार आउने अर्थविद् वाग्लेको अनुमान छ । ‘आगामी वर्षको बजेटको आकार ठूलो छ तर मोटो रकम स्थानीय तहमा गएकाले बजेट खर्च बढ्ने देखिन्छ', उहाँले भन्नुभयो । बजेट खर्च बढाउन सरकारले पहलकदमी चाल्नुपर्ने उहाँको भनाइ छ । पूर्वाधारको नाममा मोटो रकम छुट्याएर मात्र नहुने बताउँदै उहाँले खर्च गर्न सक्ने तागत राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.