‘पाकिस्तानसँग खेल्न भारत डराउँछ'
इस्लामाबाद : पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष सहरियर खानले पाकिस्तानसँग द्विपक्षीय क्रिकेट खेल्न भारत डराउने गरेको प्रतिक्रिया दिएका छन् । च्याम्पियन्स ट्रफी विजेता पाकिस्तानी टोलीको सम्मानमा आयोजित कार्यक्रममा पीसीबीका अध्यक्ष खानले भारत चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग क्रिकेट खेल्न डराउने गरेको बताउँदै भारतलाई पाकिस्तानसँग द्विपक्षीय शृंखला खेल्नका लागि चुनौती पनि दिएका हुन् ।
‘आईसीसी च्याम्पियन्स ट्रफीको विजेता हामी भारतलाई यहाँ आएर द्विपक्षीय क्रिकेट खेल्न चुुनौती दिन चाहन्छौं’, खानले भने, ‘तर, भारत हामीसँग खेल्दैन, किनभने भारत पाकिस्तानसँग डराउँछ । त्यही कारण आईसीसीको प्रतियोगिता मात्रै खेल्दै आएको छ ।’ खानले अब आईसीसीको प्रतियोगितामा मात्र होइन, द्विपक्षीय खेल खेल्न भारत तयार रहनुपर्ने बताए ।
उनले भारतका कारण पीसीबीले करोडौं रुपैयाँ घाटा व्यहोर्नु परेको दाबी पनि गरे । उनले सन् २०१५ देखि सन् २०२३ सम्ममा दुुई राष्ट्रबीच पाँचवटा शृंखला खेल्ने सम्झौता भएको र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सम्झौता लत्याउँदै आएको दाबी गरे । भारतको असहयोगका कारण घाटा व्यहोर्नुु परेको दाबी गर्दै पीसीबीले बीसीसीआईसँग तीन सय ८७ करोड रुपैयाँ क्षतिपूर्तिको माग पनि गरेको छ ।
भारत र पाकिस्तानबीच दुईपक्षीय क्रिकेट शृंखला नभएको १० वर्ष बितिसकेको छ । पछिल्लो पटक सन् २००७ मा यी दुई देशबीच एउटा टेस्टको शृंखला खेलिएको थियो । उक्त जुन टेस्ट भारतले जितेको थियो । त्यसपछि यी दुुई देशबीचको राजनीतिक सम्बन्धका कारण क्रिकेट शृंखला हुन सकेको छैन ।