पैसा तिरेपछि मेसीको जेलसजाय खारेज
बार्सिलोना : स्पेनी क्लब बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी र उनका पिता जर्ज होरासियो मेसीमाथि स्पेनी एक अदालतले लगाएको जेलसजाय खारेज भएको छ । मेसी र उनका पिता जेलसजाय बराबरको अतिरिक्त रकम तिर्न तयार भएपछि स्पेनी अदालतले उनिहरूमाथि लगाएको जेलसजाय खारेज गरेको हो । स्पेनी अदालतले कर छली गरेको आरोपमा मेसी र पिता जर्जमाथि २१ महिनाको जेलसजाय तोकेको थियो । यद्यपि पिता जर्जको सजाय भने पछि १५ महिनामा झारिएको थियो ।
गत वर्ष कर छली गरेको आरोप पुष्टि गर्दै स्पेनी अदालतले मेसी र उनको आयव्यय सम्हाल्ने पिता जर्जमाथि सो सजाय सुनाएको थियो । स्पेनमा २४ महिनासम्मको जेल सजाय बाहिरै बसेर काट्न मिल्ने व्यवस्था गरिएको छ । त्यसैले मेसी बार्सिलोनाका लागि नियमित खेल्दै आइरहेका थिए । उनका पिता पनि जेलबाहिरै थिए । स्पेनी अदालतले मेसी र उनका पिता जर्जले सन् २००७ देखि ००९ को अवधिमा तीनपटक कर छली गरी स्पेनलाई ४६ लाख अमेरीकी डलर बराबरको नोक्सानी पुर्याएको ठहर गरेको थियो । अदालतले मेसीले विज्ञापनलगायत विभिन्न क्षेत्रबाट गरेको आम्दानी आफ्नो देशमा फर्काउँदा कर छली गरेको जनाएको थियो । बार्सिलोनास्थित सो अदालतको निर्णयलाई गत मेमा स्पेनको उच्च अदालतले समेत सदर गरेपछि मेसी र उनका पिता जर्ज समस्यामा परेका थिए ।
मेसीले आफूमाथि लागेको जेलसजाय खारेज गर्नका लागि दुई लाख ८७ हजार अमेरिकी डलर तिर्न तयार भएका छन् । उनका पिता जर्जले भने दुई लाख पाँच हजार अमेरिकी डलर तिर्नेछन् ।
बिहेभोजबाट बचेका खानेकुरा दान
हालै विवाहबन्धनमा बाँधिएका मेसी दम्पतीले आफ्नो बिहेभोजबाट बचेको खानेकुरा र ‘सफ्ट ड्रिङ्स' स्थानीय एक सहायतामुखी संस्था रोसारियो फुट बैंकलाई दान गरेका छन् । मेसी यसै साता आफ्नी बाल्यकालदेखिको साथी तथा आफ्ना दुई छोराकी आमा एन्टोनेल्ला रोकुज्जोसँग विवाहमा बाँधिएका छन् । अर्जेन्टिनाको रोसारियोस्थित मेसीको आफ्नो सहरको एक पाँचतारे होटलमा भएको उनको विवाह पार्टीबाट बचेको खानेकुरा मेसी र रोकुज्जोले दान दिएका हुन् । फुड बैंकका निर्देशक पाब्लो अल्ग्रेनले मेसी र उनकी पत्नी रोकुज्जोबाट निकै धेरै परिमाणमा खाद्यवस्तु उपलब्ध भएको बताएका छन् ।