टेलिकमको मासिक डाटा खपत एक करोड जीबी
काठमाडौं : नेपाल टेलिकमको डाटा खपत उच्च वृद्धि भएको छ । मोबाइलमै द्रुत गतिको इन्टरनेट सुविधा र गत पुसबाट चौंथो पुस्ताको इन्टरनेट फोरजीको सेवा सुरु भएपछि डाटा खपत बढ्न थालेको हो । इन्टरनेटको प्रयोग बढ्दै जाँदा नेपाल टेलिकमका सेवा प्रयोगकर्ताले मात्रै मासिक एक करोड जीबी डाटा खपत गर्न थालेका छन् । टेलिकमले दिएको जानकारीअनुसार हाल मासिक एक करोडदेखि एक करोड १० लाख जीबीसम्म डाटा मासिक खपत हुन थालेको छ । यो साढे ८३ लाख प्रयोगकर्ताले प्रयोग गर्ने मासिक इन्टरनेट डाटाको तथ्यांक हो ।
यो टेलिकमको गत वैशाखसम्मको तथ्यांकमा आधारित छ । टेलिकमका विभिन्न सेवा प्रयोग गरी इन्टरनेट प्रयोग लिने प्रयोगकर्ताले दैनिक औसत साढे तीन लाख जीबी डाटा प्रयोग गरिरहेका छन् । टेलिकमको यो तथ्यांक दैनिक खपत हरेक प्रयोगकर्ताको औसतमा १.३ जीबी हो ।
पछिल्लो समय इन्टरनेट दैनिक जीवनकै आवश्यकताको साधन हुन पुगेको छ । हातहातमै हुने मोबाइलबाट द्रुत गतिको इन्टरनेट चलाउन पाइने भएपछि डाटा प्रयोगकर्ता बढेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताको वृद्धिदर मासिक ३० देखि ४० प्रतिशत छ । टेलिकमले फोरजी सेवा सुरु गरेपछि यसका प्रयोगकर्ता उल्लेख्य रूपमा बढ्दै गइरहेको र आम्दानी पनि सोहीअनुपातमा वृद्धि भएको छ ।
नेपालमा विसं २०५६ सालदेखि जीएसएम मोबाइल आएको हो । २०५७ देखिमात्रै मोबाइल इन्टरनेट सुरु भएको हो । मोबाइलमा इन्टरनेटट सुरु, यसको पहुँच विस्तार र प्रतिस्पर्धी कम्पनीका कारण इन्टरनेट प्रयोगकर्ताको संख्या हाल एक करोड ५३ लाख पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)को पछिल्लो तथ्यांकअनुसार विभिन्न सेवाप्रदायकको सेवामार्फत इन्टरनेट चलाउने नेपालीको संख्या डेढ करोड नाघेको छ ।
यो संख्याअनुसार बजार हिस्सा भने टेलिकम र एनसेलकै बढी छ । टेलिकमको इन्टरनेट सेवाग्राहीको संख्या ८२ लाख छ भने एनसेलको ६७ लाख छ । इन्टरनेट सेवा प्रदायक (आईएसपी)को संख्या भने जम्मा एक लाख ९९ हजार मात्रै रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ । यो तथ्यांकमा पनि मोबाइलबाट मात्रै इन्टरनेट चलाउने नेपालीको संख्या एक करोड ५१ लाख ८८ हजार छ । मोबाइलबाहेक आईएसपीमार्फत नै सेवा लिनेको संख्या जम्मा दुई लाख मात्रै छ ।
नेपालमा एनसेल ब्रान्डमा दूरसञ्चार सेवा दिइरहेको मलेसियन कम्पनी एक्जियटाको सन् २०१७ को पहिलो त्रैमासिक त्रैमासिक प्रतिवेदन अनुसार एनसेल प्रयोगकर्तामार्फत १३ अर्ब ६७ करोड रुपैयाँ आम्दानीमा डाटाको योगदान १७ प्रतिशत छ। यो तथ्यांकअनुसार उक्त त्रैमाससम्मको एनसलेलले डाटातर्फको आम्दानी २ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। पछिल्लो समय यो कम्पनीका डाटा प्रयोगकर्ता २७ प्रतिशतले बढेको एक्जिायटाले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।
नेपालमा मोबाइलसँगै सुरु भएको मोबाइलडाटा सेवाको बढ्दो प्रयोग, सेवाको व्यापक कभरेज, प्रविधिको विकाससहितले इन्टरनेटको प्रयोग बढेको टेलिकमका प्रबन्ध निर्देशक राजभण्डारीले बताउनुभयो । इन्टनेटमा सर्वसाधारण नेपालीको पहुँच बढेकाले मोबाइलसेवा पुगेसँगै २०६४ बाट थ्रीजी र २०७३ देखि फोरजीको प्रयोग भइरहेको छ ।
मोबाइल डाटाको बढ्दो प्रयोगकैक कारण नेपालीको इन्टरनेटको पहुँच ५८ प्रतिशत पुगेको उल्लेख छ । मोबाइल इन्टरनेट सेवा प्रदान गर्नेमा सबैभन्दा ठूलो बजार नेपाल टेलिकमकै छ । यसका ८२ लाख ६६ हजार उपभोगकर्ताले इन्टरनेट नै प्रयोग गरेका छन । यो कम्पनीले मोबाइलट डाटा, एडीएसएल, वाइम्याक्स, इभिडोसहितबाट सेवाबाट डाटा सुविधा उपलब्ध छ ।
इन्टरनेट सेवा प्रदायक संघका पूर्वअध्यक्ष विनय बोहोराले पनि बर्सेनि इन्टरनेटको प्रयोगमा यो क्षेत्रको आम्दानी दोब्बर हुँदै गएको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षसम्म करिब दुई अर्ब रुपैयाँ आईएसपीको सेवा प्रयोगबाट हुने कारोबार रकम यो वर्ष करिब चार अर्ब पुग्ने उहाँको अनुमान छ । पछिल्लो समय इन्टरनेटको प्रयोग दैनिक जीवनकै आवश्यकताको साधन बनेको छ । आवश्यकता बढ्दै गएकापछि यसको प्रयोग सहज र सुलभ पनि हुँदै गएको बोहोरोको बुझाइ छ ।
टेलिकमका इन्टरनेट प्रयोगकर्ता
जीएसएम मोबाइल ७९ लाख ७१ हजार
एडीएसएल १ लाख ७९ हजार
सीडीएमए १ लाख ३६ हजार
वाइम्याक्स १६ हजार
डायल अप इन्टरनेट ३ हजार
फाइवर टु दि होम ४ सय
तथ्यांक स्रोत : नेपाल टेलिकम