पार्टीको उम्मेदवारलाई हराएको आरोपमा कुटपिट
दमक : आफ्नै पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै झापा कमल गाउपालिका–१ का रामबहादुर भण्डारीमाथि कुटपिट भएको छ । शनिबार राती सराङपाडा बजारदेखि घर तर्फ साईकलमा जादै गर्दा मोटरसाईकलमा आएका युवाहरुको एक समूहले उहालाई कुटपिट गरी घाइते बनाएका हुन् ।
एमालेका तर्फबाट वडाअध्यक्षमा उठेका प्रेम पोख्रेललाई हराउन सक्रिय भएको भन्दै उहाँमाथि कुटपिट भएको हो । कुटपिटबाट भण्डारीको टाउको र छातीमो चोट लागेको छ । घाइते भण्डारीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।
उहाँले भन्नुभयो– ‘बेलुका साइकलमा घर जाँदै थिएँ । मोटरसाइकलमा आएका युवाले काम छ भनेर साइकल रोक्न लगाए । त्यसपछि प्रेम पोख्रेललाई हराउन लागि परेको हैन भन्दै अन्धाधुन्ध कुटपिट गरे।’ गद्धार भन्दै आफूलाई मरनासन्न हुनेगरी कुटपिट गरेको उहाँले बताउनुभयो। मोटरसाइकलमा आएका युवाले मास्क लगाएकोले उनीहरु को हुन् ? भनेर ठम्याउन नसकेको उहाँको भनाई छ । भण्डारी साविक तोपगाछी–९ का पूर्व वडाध्यक्ष समेत रहनु भएको छ ।
यता पार्टी गाउँ कमिटीले भने भण्डारीले भोट दिएको नदिएको भन्ने बहस नै नचलाएको बताएको छ । पार्टीका गाउँ कमिटी अध्यक्ष भीम राईले पार्टीका कार्यकर्ताले उहाँ माथि हातपात नगरेको दावी गर्नुभयो । भण्डारी पनि आफ्नो कार्यकर्ता भएकाले उहाँमाथि कसले कुटपिट गरेको भन्ने बिषयमा छलफल भई रहेको कमल गाउँपालिकाका उपाध्यक्ष बेणु शिवाकोटीले जानकारी दिनुभयो ।