कञ्चनपुरको पुनर्वास नगरपालिकामा एमाले विजयी
महेन्द्रनगर : कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा एमाले विजयी भएको छ। मेयर पदका एमाले उम्मेदवार जीवनराज थापाले ६ हजार ४० मत प्राप्त गर्नु भएको छ। उहाँका निटकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका वीरबहादुर थापाले ५ हजार ५ सय १४ मत ल्याउनु भएको छ।
एमाले उम्मेदवार जीवनराज थापाले माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर थापा भन्दा ५ सय २६ मत बढी मत ल्याएर विजयी हुनुभएको हो। नेपाली कांग्रेसका उम्मेदवार तोयाप्रसाद शर्माले ५ हजार ५ सय १२ मत प्राप्त गर्नु भएको छ।
उपप्रमुखमा समेत नेकपा एमाले नै विजयी भएको छ। नेकपा एमालेकी उपप्रमुखका उम्मेदवार शारदा विष्टले ६ हजार ३ सय ६६ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी सीता विकले ५ हजार ३ सय ५६ मत प्राप्त गर्नुभयो। नेपाली कांग्रेसकी उम्मेदवार भुलिया रानाले ५ हजार ३ सय ९१ मत प्राप्त गर्नुभयो।
पुनर्वास नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी बिना मगरको क्षेत्र हो। त्यहाँ चुनावी प्रचार प्रसारका सिलसिलामा प्रचण्ड पुगेर चुनावमा उम्मेदवारका पक्षमा भोट माग्नुभएकोे थियो भने नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्रीले समेत पुनर्वासमा पुगेर आफ्ना उम्मेदवारका लागि भोट माग्नुभएको थियो।
असार १४ गतेसम्म भएको निर्वाचनको राति देखी नै मतगणना कार्य सुरु भएपनि मतगणनामा त्रुटि भएको भन्दै दलहरुले मतगणनामा अवरोध गरेपछि ४ दिनसम्म मतगणना कार्य रोकिएको थियो। सर्वदलीय बैठकमा पुनःमतगणना गर्ने सहमति भएपछि मतगणना रोकिएको ४ दिनपछि पुनः मतगणना भएको थियो।
एमालेले १० वडा रहेको पुनर्वासमा ५ वडा प्यानलसहित विजयी हासिल गरेको छ। एमालेले वडा नम्बर १, ३, ५, ६ र ७ नम्बरान प्यानलसहित विजयी हासिल गरेको हो। नेकपा माओवादी केन्द्रले भने २, ४, ९ र १० नम्बर वडा प्यानल सहित विजयी भएको छ।
नेपाली कांग्रेसले ८ र ११ नम्बर वडा अध्यक्ष जितेको छ। सदस्यहरु आधा जितेको छ भने आधा माओवादी केन्द्र विजयी भएको छ।