अस्पतालको बेथिति : भगवान पुकारेर बिरामीलाई एनेस्थेसियाको सुई
भक्तपुर : बिरामीको जीवन बचाएर भगवानको दर्जा पाउने चिकित्सकहरु नै भगवान भाकेरको बिरामीलाई उपचार गर्छ भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । हुन त मृत्यु कसैको बसमा हुँदैन । चिकित्सकहरुले पनि मृत्युलाई पूर्णतः टार्न सक्दैनन् ।
तर मृत्युको मुखसम्म पुग्न केही विलम्ब गर्न सक्छन् । जसको लागि अहिले विज्ञानले धेरै प्रविधि विकास पनि गरिसकेको छ । जुन प्रविधिको सही उपयोगले चिकित्सकहरु भगवानको दर्जामा पुगेका छन् ।
यही भगवानको दर्जामा पुग्ने भक्तपुर अस्पतालका एनेस्थेसिया चिकित्सक भने भगवानकै भरमा अहिलेसम्म काम गर्दै आएका छन् ।
सरकारबाट केन्द्रीय अस्पतालको मान्यता पाएको भक्तपुर अस्पतालमा आईसीयू सेवा उपलब्ध नहुँदा कुनै बिरामीको अप्रेसन गर्नलाई बेहोस बनाउने चिकित्सकहरुले भगवान पुकारेर सुई दिँदै आएका हुन् ।
अस्पतालको अप्रेसन कक्षमा बिरामीलाई बेहोस बनाइसकेपछि सुताउने तथा अब्जरभेसन गर्ने उपकरणयुक्त कक्ष छैन । त्यस्तै बेहोसीको अवस्थामा रहेका बिरामीको प्रगति (रिकभर) भए नभएको हेर्ने कक्षसमेत छैन ।
‘अस्पतालमा अप्रेसन गर्न बिरामीलाई बेहोस गरेर सुताउने र अब्जरभेसनमा राख्ने उपकरणयुक्त कक्ष छैन’, कन्सल्टेन्ट एनेस्थेसियन डा. सरिता श्रेष्ठले भन्नुभयो, ‘बेहोस भएका बिरामीको प्रगति भए नभएको हेर्ने रिकभरी कक्षसमेत छैन । जसले गर्दा भगवान पुकारेर बिरामीलाई बेहोस पार्ने सुई दिनुपर्ने बाध्यता छ । धन्न अहिलेसम्म कुनै बिरामीलाई नराम्रो भएको छैन ।’
उहाँका अनुसार अस्पताल प्रशासन तथा व्यवस्थापनबाट कुनै सुनुवाइ नभए पनि भगवानले आफूहरुको पुकार सुन्दै आएकाले अहिलेसम्म कुनै बिरामीलाई तलमाथि भएको छै ।
उहाँले अस्पतालले आईसीयू सञ्चालनको लागि ल्याएको उपकरणबाट हाललाई रिकभरी रुममात्रै सञ्चालनमा ल्याउन पटकपटक प्रशासन र व्यवस्थापनको ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।
अस्पतालले करिब एक वर्षअघि आईसीयू सञ्चालन गर्न भनी करिब दुई करोड रुपैयाँको उपकरण झिकाएको थियो । जुन उपकरण अहिले प्रयोगमा आउन नसकेर स्टोरमा थन्किएर बसेको छ ।
‘आईसीयूको लागि ल्याइएको भेन्टिलेटर, मनिटरलगायतको प्रयोग गरी तत्काललाई रिकभरी रुम सञ्चालन गर्न सकिन्छ’, उहाँले थप्नुभयो, ‘रिकभरी रुम सञ्चालनमा ल्याउन सकिए अस्पताल पुग्ने बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता हट्छ । तर हाम्रो कुराको सुनुवाइ भएन । उल्टै हामीमाथि अस्पतालमा काम नै गर्न नदिने वातावरण सिर्जना गरियो ।’
अस्पतालमा आईसीयू नहुँदा जटिल रोगका बिरामीहरुका आफन्त नै भक्तपुरबाट रिफर माग्दै अन्य अस्पताल जाँदै आएका छन् । साथै अस्पतालमा रहेका चिकित्सकहरु पनि जोखिम मोल्न चाहँदैनन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटा आईसीयूको उपकरण भए पनि दक्ष जनशक्ति नहुँदा आईसीयू सञ्चालन गर्न नसकिने बताउनुहुन्छ । ‘हामीसँग दक्ष जनशक्ति छैन । त्यसैले करिब दुई करोडको आईसीयूका उपकरण स्टोरमा थन्किएर बसेका छन्’, उहाँले भन्नुभयो, ‘मन्त्रालयमा आईसीयूको लागि दक्ष जनशक्ति र बजेट पठाउन पटकपटक माग गरेका छौं तर सुनुवाइ भएको छैन ।’
अस्पतालको मौजुदा जनशक्तिबाट आईसीयू सञ्चालन सम्भव नभएको उहाँको भनाइ छ ।
उहाँका अनुसार मन्त्रालयबाट जनशक्ति र बजेट पाउने आशामा अस्पतालमा आईसीयू कक्ष निर्माण भइरहेको छ ।