कांग्रेसमा एकता, एमालेमा बढ्यो तिक्तता

कांग्रेसमा एकता, एमालेमा बढ्यो तिक्तता

विराटनगर : कांग्रेसले 'अभूतपूर्व' एकता प्रदर्शन गर्दै विराटनगर महानगरमा आफ्नो जित सुनिश्चित निकालेको छ । कांग्रेस राज नीतिको उद्गम मानिने विराटनगरमा 'कांग्रेसजनबाटै कांग्रेसलाई खतरा रहेको' विश्लेषण गरिएको थियो । तर पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अन्य महानगरमा खेपेको हारको पीडाबोधलाई विराटनगरको जितले थोरै भए पनि मलमपट्टी गरिदिएको छ । 'पार्टीभित्रको गुटगत राजनीतिक दम्भको अहंकार' बोकेका खेमा एउटै जुइनोमा कस्सिएर चुनाव नलडे हार्ने तथ्य बुझेका कांग्रेसजन 'फुटेर नभई जुटेर' चुनावमा भिडे । यसैको बलमा विराटनगरमा स्थानीय चुनावमा गुमेको 'कुर्सी' २० वर्षपछि कांग्रेसकै हातमा आइपुगेको छ । मेयर र उमेयरमा कांग्रेसका भीम पराजुली र इन्दिरा कार्की (इन्दु) विजयी हुनुभएको छ ।

पहिलो स्थानीय निकायको निर्वाचनमा अशोक कोइरालाले जिते पनि २०५४ मा एमालेका रमेशचन्द्र पौडेलसँग कांग्रेसका अमृत अर्यालले हार बेहोर्नु परेको थियो । यो पटक पनि मेयर पदमा निकै दह्रो आकांक्षीका रूपमा हेरिएका अर्यालको साटो पराजुलीलाई उठाएर 'कोइराला निवास' र उसकै 'छत्रछायाँमा हुर्केका' नेता महेश आचार्य र मिनेन्द्र रिजालले पनि विराटनगरको विजयलाई आत्मसम्मानसँग जोडेर हेर्नुभयो । निवासका प्रतिनिधि डा. शेखर कोइराला त पहिलेदेखि सक्रिय नै हुनुहुन्थ्यो । भीम पराजुली र इन्दिरा कार्कीलाई 'जस्तोसुकै अवस्थामा' पनि जिताउन पार्टीको संस्थापनलाई पनि निकै दबाब पर्‍यो ।

'विराटनगरमा हारे त्यसको सन्देश नकारात्मक रूपमा देशव्यापी जानेछ भन्ने बुझेरै पार्टी अध्यक्ष शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई आफ्नो 'दूत' बनाएर पठाउनुभयो', कांग्रेसका एक जिल्लास्तरका नेताले भने, 'टिकट नपाएको झोक र रिस साँध्न विभिन्न समूहले खेल्ने खेललाई निधिले नै थामथुम पार्नुभयो ।' एक साता विराटनगर बस्नुभएका नेता निधिले चित्त नबुझाएका समूहसँग आफैं छलफल गर्नुभएको र सबैको मेहनतको बलमा निकै फराकिलो (५७१०) मतअन्तरले एमालेका विनोद ढकाललाई पराजित गर्न सफल भएको ती नेताले बताए ।

तालमेल र गठबन्धन गरेर चुनावी बाटो रोजेका माअ‍ेवादी केन्द्र र संघीय समाजवादी फोरम, एमाले र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार कांग्रेससँग फराकिलो मताअन्तरले पराजित भए ।

तालमेल र गठबन्धन गरेर चुनावी बाटो रोजेका माअ‍ेवादी केन्द्र र संघीय समाजवादी फोरम, एमाले र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार कांग्रेससँग फराकिलो मताअन्तरले पराजित भए । तालमेल गरेका दललाई फाइदा भन्दा 'पार्टीभित्रै आन्तरिक दबाब' र 'चुनावी बेफाइदा' मात्र भयो । चुनावी आत्मसमीक्षा भइरहँदा एमालेलाई नै सबैभन्दा धेरै झट्का लाग्यो । ओली पक्षका विनोद ढकालको 'जिल्ला नेतृत्वमा बढ्दो मनोमालिन्य' रोकेर 'साइजमा ल्याउन' नेपाल खेमाले गरेको असहयोग ढकालको हारको कारण बन्यो ।

नेपाल लोकतान्त्रिक फोरमसँग गरिएको चुनावी तालमेलाई महेन्द्र मोरङ क्यामम्पसमा २०३८ सालमा भएको फडिन्द्र तिम्सिना 'हत्याकान्ड' का प्रसंगसँग जोडेर ढकालको कमजोरी उधिन्ने काम भयो । यसमा जोडिएको भनी आरोप लागेका पक्षसँग 'कुममा कुम मिलाएको' व्यवहार एमालेको एउटा पक्षलाई मन परेको थिएन ।

तालमेलले विगतको रिसिइवीलाई पुनरावृत्ति गरेसँगै एमलेमा भित्रभित्रै असन्तुष्टिको 'ज्वारभाटा' उठ्यो, त्यसको रिसमा 'ब्यालेट पेपरमा अन्तै छाप लाग्यो' यसकै परिणाम थियो ढकालले निकै अपेक्षा गरेका वडामा निकै कम मत पाउनुभयो । यो तालमेलको राम्रो फाइदा अन्ततः कांग्रेसले नै लियो । तालमेलले सबैभन्दा धेरै बेफाइदा एमालेलाई भयो । जम्मा तीनवटा वडामा चित्त बुझाउनु परेको एमालेका उम्मेदवारलाई बागी उम्मेदवारले जितेर गतिलो जवाफ दिए । उसकै पकड क्षेत्रमा मेयरका उम्मेदवार ढकाललाई राम्रैसँग अन्तर्घात भयो । लोकतान्किका मतदाताले एमालेलाई भोट हालेनन् र एमालेकाले लोकतान्त्रिकलाई ।

संघीय समाजवादी फोरम र माओवादी केन्द्रबीच तालमेल त भयो तर आआफ्नै उम्मेदवारलाई मत खसाल्ने क्रम नेताले चाहेर पनि रोक्न सकेनन् । बदर मतको पिरलोले पनि दुवै गठबन्धनका दल समस्यामा परे । मेयरका उम्मेदवार उमेश यादवले सार्वजनिक रूपमै 'बदर मतकै कारण हारियो, त्यो सबै जोडिएको भए त म नै विजयी हुने रहेछु ।' अन्य दलको तुलनामा फोरमको बदर मतको दर निकै धेरै छ । पार्टीको ओज नभए पनि 'लोकप्रियताको बलमा' चुनाव जित्न उपमेयरमा नमिता न्यौपानेलाई अघि सारेको माओवादीका नेतेत्वका लागि चुनावी परिणाम निकै अत्यासलाग्दो बन्न पुग्यो । एउटा वडामा मात्रै जितेर 'नाक जोगाएको' माओवादीका लागि विराटनगरको चुनाव अनुभवको एउटा अध्याय बनेको छ । फोरमका लागि ६ वटा वडामा प्राप्त गरेको विजयले थप हौसला दिएको छ । एउटै पनि वडामा नजितेको फोरम लोकतान्त्रिकका लागि तालमेल 'नजाने गाउँको बाटै नसोध्नु झैं' भएको छ ।

विराटनगरमा पार्टीभित्रै नमिलेका मन जोड्न र आपसी तुष माझ्न कांग्रेस सफल भयो । पराजुलीलाई जिताउन पार्टीमा प्रभावशाली मानिएका नेताहरू महेश आचार्य, डा. शेखर कोइराला, मिनेन्द्र रिजाल, विमलेन्द्र निधि, अमृत अर्याल, डा. डिला संग्रौला एउटै कित्तामा उभिएका त छन् तर यसको स्थायित्व भने आफैंमा ठूलो प्रश्न हो । प्रमुख र उपप्रमुखसहित ७ वटा वडाध्यक्ष लिएर जित हात पारे पनि बूढो विराटनगरको विकासलाई उत्कर्षमा लैजान कांग्रेस र उसका विजयी नेतृत्वको सामुन्ने भने चुनौतीको ठूलै पहाड उभिएको छ ।

 




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.