पुजारीको कृषि सफलता
भनिन्छ, ‘खाने मुखलाई जुँगाले छेक्दैन' । मानिसमा काम गर्ने इच्छाशक्ति र लगनशीलता भयो भने मानिस कृषि पेसाबाट लाखौं आम्दानी गर्न सक्छन् । कसैलाई लाग्न सक्छ फलफूलका बोट बेचेर लखपति हुन सम्भव छ ? तर बैतडीको दशरथचन्द नगरपालिका-गुरुखोलाका देवदत्त भट्टका लागि त्यो सम्भव भएको छ ।
२१ वर्षको कलिलो उमेरमा बुवाले यो संसारबाट छाडेपछि घरपरिवारको पूरै जिम्मेवारी देवदत्त भट्टको टाउकोमा थुपारियो । चार जना भाइबन्धु अनि घरपरिवारका अन्य सदस्य सबैका आधारभूत आवश्यकता पूरा गर्न देवदत्तलाई निकै सकस थियो । बुबाको पुख्र्यौली पेसा पुजारी, त्यसको बिँडो थाप्ने उत्तराधिकारीको रूपमा पनि देवदत्त नै अघि सर्नुपर्यो ।
मन्दिरको पुजारी अनि घरपरिवारको जिम्मेवारी आफैंले बहन गर्नुपर्ने भएपछि ०४३ सालको सेरोफेरोमा देवदत्तलाई निकै सकस थियो । यजमानी गरेर कमाएको पैसाले घरपरिवार चलाउन निकै धौधौ थियो उनलाई । गाउँका दौंतरी कोही भारत त कोही अन्यत्र गएर पैसा कमाउँथे । तर, मन्दिरको पुजारी भएकाले देवदत्तले घर छाड्न पनि पाएनन् । एकातिर पुख्र्यौली पेसाको निम्न आय, छाड्नै नमिल्ने । अर्कोतिर, घरपरिवार सम्हाल्नुपर्ने दायित्व ।
घरपरिवार चलाउने आधार खोजेर भौतारिएका बेला फलफूलको नर्सरीबाट अघि बढ्न सकिन्छ भनेर एकजनाले सल्लाह दिए । सुख्खा फलफूल विकास केन्द्रका तत्कालीन वागवानी विकास अधिकृत नीलकण्ठ जोशीको सुझावबाट प्रेरित भएर देवदत्तले फलफूलको नर्सरी बनाए । सुरुमा फलफूलको नर्सरीबाट त्यति फाइदा नभए पनि पछिल्लो समयमा उनले फलफूल नर्सरीबाटै वार्षिक १० लाखको हाराहारीमा कमाइ गरिरहेछन् ।
‘सुरुमा फलफूलको नर्सरीबाट के कमाउन सकिएला र भनेर सोचेको थिएँ । अहिले यसैबाट घरपरिवार चलेको छ । बालबच्चा पढाएको छु । समाजमा नमुना कृषकको हैसियत बनाउन सफल भएको छु ।' देवदत्त भन्छन्, ‘मिहिनेत गरे बालुवामा पनि सुन फलाउन सकिन्छ भन्थे हो रै'छ । मेरो पाखो जमिन हो । सिँचाइको सुविधा पनि थिएन । अहिले त्यही पाखो जमिन मेरा लागि वरदान सावित भएको छ ।'
बिहानै उठेर नुवाइधुवाइ गरेपछि दैनिक पूजापाठको काम सकेर देवदत्त नर्सरीमा जान्छन् । हरेक दिन नर्सरीमा कम्तीमा दुई घन्टा बिताउँछन् । नर्सरीमा फलफूलका बिरुवाको गोडमेलदेखि लिएर काँटछाँटसम्मको कार्यमा आफैं संलग्न हुन्छन् । भन्छन्, ‘आजभन्दा करिब ३० वर्षअघि सुरु गरेको पेसाले अहिले राम्रै आम्दानी दिन थालेको छ । मैले मेरा दुई भाइलाई यसै नर्सरीबाट पढाएँ । छोराहरूलाई यसै नर्सरीको पैसाले पढाएँ । यो नर्सरीले मलाई धेरै कुरा सिकाएको छ ।'
‘मैले दुई ठाउँमा पूजा गर्ने गर्छु । बिहान नुवाइधुवाइ गरेर मन्दिरमा पूजा गर्छु । त्यहाँबाट फर्केपछि कुटोकोदालीसँगै नर्सरीमा जान्छु । त्यो मेरो कर्म पूजा हो ।' उनले भने, ‘नर्सरी मलाई हरेक चिज दिएको छ । मान, सम्मान र इज्जत यसैले दिएको हो ।' देवदत्त भट्टले मायाप्रकाश बहुउद्देश्यीय निजी नर्सरी दर्ता नै गर्नुभएको छ । अहिले १५ रोपनी जमिनमा नर्सरी छ । त्यो नर्सरीमा ५० हजार हाराहारीमा फलफूलका बिरुवा छन् । भट्टले भन्नुभयो, ‘मेरो नर्सरीमा अहिले बर्खे र हिउँदे फलफूलका बिरुवा छन् । देशका विभिन्न जिल्लाबाट फलफूलका बोटका लागि अर्डर आउने गर्छ । अर्डरअनुसार नै बिक्री गर्ने गरेको छु ।'
भट्टको नर्सरीमा अहिले ओखर, स्याउ, आरु, खुर्पानी, नास्पाती, सुन्तला, जुनार, अमिलोलगायत फलफूलका बिरुवा छन् । एकातिर मन्दिरको पुजारी अर्कोतिर नामी कृषक कसरी भयो त सम्भव ? उनको जवाफ छ - ‘मानिस कुनै कामले पनि सानो हुँदैन । कामले काजी हुने हो मानिस नामले होइन । म समाजमा पुजारीको नामले पनि चिनिएको छु । कृषि क्षेत्रमा पनि उत्तिकै परिचित छु ।'
मायाप्रकाश बहुउद्देश्यीय नर्सरीलाई अझै व्यापक बनाउन गतलसालदेखि भट्टले साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको सहयोगमा स्तरोन्नतिको काम थालेका छन् । उनले भने, ‘मैले गत सालदेखि कार्ययोजना नै बनाएर कति फलफूलका बिरुवा उत्पादन गर्ने, कहाँ लगेर बिक्री गर्ने, कति पैसा आम्दानी गर्न सकिन्छ भन्ने लेखाजोखासमेत गरेको छु ।'
देवदत्त भट्टसँगै उहाँकी श्रीमती हरिप्रिया भट्ट पनि दिनभरि नर्सरीमै व्यस्त हुन्छिन् । हरिप्रियालाई त नर्सरीले चुलोचौकोबाट बाहिर ल्याएको छ । ‘महिलाले घरको काम मात्र गर्नुपर्छ भन्ने मान्यताको अन्त्य गर्न मलाई नर्सरीले धेरै सहयोग पुर्यायो' हरिप्रियाको अनुभव छ । सीपले मानिसलाई आत्मनिर्भर बनाउँछ भन्ने निजी नर्सरीबाटै सिकेको हरिप्रिया बताउँछिन् । भन्छिन्, ‘उहाँ( श्रीमान) कहिलेकाहीँ मन्दिरको पूजामा ढिलो भएमा नर्सरीको सबै काम मैले गर्छु । मलाई नर्सरीसम्बन्धी सबै सीप छ । यसले मलाई सजिलो भएको छ ।'
देवदत्त भट्टले निजी नर्सरीबाट यो वर्ष ७० लाखको कारोबार गर्ने कार्ययोजनासमेत बनाएका छन् । ‘नर्सरी सुरु गर्दा यसको स्कोप त्यति थिएन । पछिल्लो समय यसको राम्रो स्कोप छ ।' अहिले त उनीसँग पूर्ण योजना नै छ- ‘नर्सरीमा ७० हजार फलफूलका बोट उत्पादन गर्ने लक्ष्य लिएको छु । ती बिरुवाको बिक्री-वितरणबाट मैले ७० लाख कमाउने योजना बनाएको छु ।'
अचेल देवदत्त निकै व्यस्त छन् । विभिन्न ठाउँबाट बर्खे फलफूलका बिरुवा किन्न अर्डर आइसकेको छ उनलाई । ‘जिल्लाभित्र मात्र होइन, देशभरका विभिन्न ठाउँमा मेरो नर्सरीबाट बोटविरुवा जाने गर्छन् । धेरै जिल्लाका जिल्ला कृषि विकास कार्यालयले नै अर्डर दिन्छन् । मैले अर्डरअनुसार नै बोटविरुवा पठाउने गर्छु', उनी भन्छन्, ‘यो सिजनमा २० हजारजति बोटविरुवा बिक्री गर्ने लक्ष्य लिएको छु ।'
सुख्खा फलफूल विकास केन्द्रका वागवानी विकास अधिकृत लक्ष्मीदत्त पाण्डेका अनुसार बैतडीको सुर्नया गाउँपालिकाको वडा नं २ वासुलिंग र दशरथचन्द नगरपालिकाको वडा नं १ मा मात्र फलफूलका निजी नर्सरी सञ्चालक किसान छन् । तीमध्ये देवदत्त भट्ट उत्कृष्ट किसान भएको सुख्खा पाण्डेयको निष्कर्ष छ । पाण्डेय भन्छन्, ‘यी दुई ठाउँमा मात्रै निजी नर्सरी भएका किसान छन् । सबैले राम्रो कमाइ गरिरहेका भए पनि देवदत्तजीले निकै व्यावसायिक रूपमा निजी नर्सरीलाई अघि बढाइरहनुभएको छ । यसले हामीलाई पनि खुसी लागेको छ । हामीले दिएको सीपबाट किसान आत्मनिर्भर बनेका छन् ।'
सुदूरपश्चिमको बैतडीमा मात्रै फलफूलका निजी नर्सरी रहेको वागवानी विकास अधिकृत पाण्डेयले बताए । ‘देशका विभिन्न ठाउँमा हाम्रै यताबाट फलफूलका बिरुवा जाने गरेका छन् । यसले किसानलाई फाइदा पुगेको छ ।' उनले भने, ‘यो क्षेत्रका किसानले फलफूलका नर्सरीबाट गरेको आम्दानी अरू क्षेत्रका किसानका लागि सिकाइ हुन सक्छ ।'
नर्सरीबाटै राम्रो आम्दानी गरिरहेका भट्ट गाउँमा भने पन्नासाप(पुजारी)को नामले परिचित छन् । ‘मलाई सबैले पन्नासाप (पुजारी) भनेर बोलाउँछन् । म देवी भगवती र कृषि क्षेत्रको पुजारी हुँ । त्यसैले मलाई पुजारी भनेको पनि गर्व लाग्छ ।' उनी भन्छन्, ‘बुबाको चाँडै स्वर्गारोहण भएकाले मैले राम्ररी पढ्न पाएन तर कृषि क्षेत्रको ज्ञानले मलाई दरिलो बनाएको छ । कृषि क्षेत्रमा अहिले मलाई धेरै पढेकाहरूले समेत प्राविधिक ज्ञानबारे सोध्न आउँछन् ।'
मिहिनेत गरेमा परिवार पाल्न भारत जानु नपर्ने देवदत्त भट्टको भनाइ छ । युवा पुस्ता कृषि क्षेत्रमा लागे धेरै विकास हुने उनले बताए । उनले भने, ‘पैसा कमाउन हामी विदेश जान्छौं तर मिहिनेत गरे स्वदेशमै पैसा कमाउन सकिन्छ । आत्मसम्मानसाथ बस्न पनि पाइन्छ ।'